– अमृत पाण्डेय
लुम्बिनी, २४ चैत । पटक पटक बिभिन्न कारणबाट बिवादमा आइरहने यस क्षेत्रकै प्रतिष्ठित र पुरानो अञ्चल अस्पताल लुम्बिनी अञ्चल अस्पताल फेरी बिवादमा तानिएको छ ।
कहिले सटर, कहिले क्यान्टिन संचाल, कहिले अनियमितताको आरोपमा अख्तियारको नजरमा पर्ने तथा कहिले सेवा प्रवाहमा कमजोर बनेको आरोप खेपिरहने अस्पताल यस पटक फार्मेसी टेण्डर प्रक्रियाबाट विवादमा आएको हो ।
अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य नीति २०७१ को दफा ७ को उपदफा १.१४ को विपरित अस्पताल आफैले फार्मेसी संचालन गर्नुपर्नेमा टेण्डर मार्फत फार्मेसी संचालन गर्ने सुचना निकाले पछि विभिन्न समयमा अस्पतालका गलत गतिविधिलाई खवरदारी गर्दै आएको नेपाल फार्मास्युटिकल एशोसियन लुम्बिनी शाखाले बिज्ञप्ती मार्फत ध्यानाकर्षण समेत गराएको छ ।
एशोसियनका अध्यक्ष किरण ढकाल र महासचिव प्रबिण भण्डारीको संयुक्त हस्ताक्षरमा जारी ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वास्थ्य नीति र अस्पताल निर्देशिका २०७१ अनुसार लुम्बिनी अंचल अस्पतालले अस्पताल फार्मेसी टेण्डर आवहान संचालन गर्न टेण्डर आवहान गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको भन्दै टेण्डर आवहान नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य नीति २०७१ को दफा ७ को उपदफा १.१४ को विपरित रहेको हुदाँ तत्काल टेण्डर आवहान रद्द गरि अस्पताल आफैले राष्ट्रिय स्वास्थ्य नीति र अस्पताल निर्देशिका २०७१ अनुसार दक्ष जनशक्तिद्धारा संचालन गर्न माग समेत गरेको छ ।
ध्यानाकर्षण पत्रमा । निर्देशिका बिपरित कार्य भएमा हामी कानुनी उपचार खोज्न बाध्य हुने कुरा समेत खुलाइएको छ । एशोसियसनका अध्यक्ष ढकालले सबल नेपाल संगको कुराकानीमा यो नियम बिपरित मात्र नभइ पेशागत सुरक्षाको हित भन्दा बाहिरको कुरा भएको हुनाले सह्य नहुने बताएका छन् ।
उनले भने ‘निर्देशिका आइसके पछि सो अनुरुप कार्यान्वयन हुन्छ भन्ने पक्षमा थियौं तर फेरी पुरानै प्रकृयाबाट बढ्न थाले पछि यसको बैधानिकता र हाम्रो पेशागत सुरक्षालाई ध्यानमा राखेर यसको बिरोधमा उत्रिएका छौं ।
लुम्बिनी अंचल अस्पताल का मेडिकल सुपरीटेण्डेण्ट तारा गौतमले अस्पतालले आफै फार्मेसी सञ्चालन गर्ने कुरा राम्रो हो तर फार्मेर्सी टेन्डर प्रक्रिया नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य नीति २०७१ को दफा ७ को उपदफा १.१४ को विपरित भएपनि वाध्यात्मक परीस्थितीले गर्दा टेन्डर आवाहन गर्नु परेको बताए ।
गौतमका अनुसार अहिले अस्पतालसँग भवन नभएको र फार्मेसी सञ्चालनको लागि कर्मचारीको अभाव भएका कारण अस्पतालले आफै सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको हो । अस्पतालले पूर्वाधार निर्माण हुना साथ अर्को वर्षबाट फार्मेसी सञ्चालनमा ल्याउने पौडेलले बताए ।
उनका अनुसार अस्पतालले चाहेको अवस्थामा सटर भाडामा गएको मितिले ३ महिनामा छाड्ने सर्तमा टेन्डर आव्हान गरीएको छ ।
ढकालले भने अस्पतालसँग आवश्यक पुर्वाधार भएको अवस्थामा पनि अस्पताल विकास समिति मार्फत उप समिति गठन गरेर जनशक्ति भर्ना गरेर काम गर्नु पर्नेमा अस्पताल व्यावस्थापनको तत्परता र इच्छा शक्ति नभएकै कारण टेण्डर प्रकृयामा गएको आरोप लगाएका छन् ।
सामान्य आय स्तरका बिरामीको पहुच रहेको अस्पतालमा अस्पताल आफैले सञ्चालन गर्न सके सर्वसाधारणले समेत लाभ लिन सक्ने उनको तर्क छ ।













प्रतिक्रिया