भीमदत्तनगर, २४ चैत । देशभर एकीकृत नेकपा (माओवादी)सहित ३० दलीय मोर्चाको आमहड्तालको असर परिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबजार भने खुला रहेको छ ।
मोर्चाले आजदेखि सुरु गरेको तीनदिने आमहड्तालमा पनि महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार खुला रहने जनाएको छ । ३० दलीया मोर्चाका कञ्चनपुर संयोजक टेकेन्द्रप्रसाद भट्टले एक प्रेस विज्ञप्ति जारी गरी महेन्द्रनगरमा पूर्णागिरि माताको दर्शन गरेर सिद्धनाथ मन्दिरको दर्शनका लागि दैनिक हजारौँ तीर्थालुलाई मध्यनजर गर्दै बजार खुला राखेको बताउनुभयो ।
उहाँले बन्दका कारण तीर्थालुलाई असर पर्ने भएकाले महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार बन्द नगर्न आग्रहसमेत गर्नुभयो । त्यसैगरी गहुँ काट्ने-कुट्ने समयलाई पनि मध्यनजर गर्दै मोर्चाले थ्रेसरसहितका ट्र्याक्टर निर्बाध रुपमा चल्न दिने जनाएको छ । भीमदत्त नगर क्षेत्रमा सवारीसाधन सञ्चालनमा रहेको बताउँदै प्रहरीले महेन्द्रनगरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बन्द रहेको बताएको छ । रासस















प्रतिक्रिया