३ कार्तिक २०८३, मंगलबार

बन्दकर्ताको शिकार भएका ट्याक्सी चालक भन्छन् – ‘ट्याक्सी भित्रै राखेर मार्न खोजे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taxi-aagjani

काठमाडौं, २४ चैत । काठमाडौँ उपत्यकामा ट्याक्सी चलाएर चार जनाको परिवार चलाउँदै आएका हेटौँडाका निरज बानियाँको गरिखाने बाटो मंगलबारबाट खरानी भएको छ । एमाओवादी कार्यकर्ताले उनको ट्याक्सी त जलाए-जलाए, झण्डै ज्यान पनि लिएनन् ।

शुक्रबार बिहानै भाइलाई बिमानस्थल पुर्याएर फर्केका निरजको ट्याक्सी बिहान पाँच नबज्दै बालकुमारीमा बन्दकर्ताले खरानी बनाइदिए । अस्पतालमा बिरामीलाई भेट्न जाने भन्दै ट्याक्सी रोकेका दुई जनाले केही पर पुगेपछि छापामार शैलीमा ट्याक्सी जलाएका थिए ।

‘मलाई भित्रै राखेर पेट्रोल छर्केर ट्याक्सी जलाए, सिट बेल्ट नलगाएकोले बाँचे, उनीहरुले मलाई पनि भित्रै राखेर जलाउन खोजेका थिए,’ बानियाँले संचारकर्मीहरुसँग भने, ‘ट्याक्सीबाट निस्कन खोज्दा मेरो कपाल जलेको छ ।’

Taxi-aagjani1

निरजले रुँदै आफ्नी श्रीमतीलाई खबर गरेपछि उनी घटनास्थल आइपुगेकी थिइन् । त्यतिबेला थुप्रै सर्वसाधारण पनि भेला भइसकेका थिए । प्रहरीले जलेको ट्याक्सीलाई सडकबाट हटाउन खोजेपनि उनकी पत्नीले दिइनन् । उनले गरिबलाई मार्न खोजेको भन्दै पहिला क्षतिपूर्ति दिन अनि मात्र ट्याक्सी हटाउन माग गरिन् । माओवादी नेताहरु सेकुरिटी गार्ड लिएर सुरक्षित भए हिँड्ने, तर हामी गरिबलाई गरिखान पनि नदिने ? बरु हाम्रो परिवारका चारैजनालाई मार । उनले यसो भनिरहँदा स्थानीयले समेत साथ दिएका थिए ।

आगलागीबाट ट्याक्सी पूर्ण रुपमा जलेको छ भने ट्याक्सी चालक बानियाँका सबै कागजपत्रहरु जलेका छन् । बैंकबाट ऋण लिएर काठमाडौँ उपत्यकामा ट्याक्सी चलाउँदै आएका बानियाँले यसैको कमाइबाट दुई छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्दै आएका थिए ।