
काठमाडौँ, २४ चैत । तीस दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहड्तालको पहिलो दिन आज बिहानैदेखि ठाउँ-ठाउँमा प्रदर्शन र झडप सुरु भएको छ ।
काठमाडौँको बानेश्वरमा बिहान ६ बजे नै बन्द गराउँदै हिँडेका बन्दकर्ता र प्रहरीबीच बिहानै झडप भएको छ । बिजुलीबजार पुलमा सार्वजनिक सवारी साधन रोक्न खोज्दा भएको झडपमा एमाओवादीका युवा नेता अध्यक्ष हिमाल शर्मा घाइते भएका छन् । उनको टाउको र खुट्टामा सामान्य चोट लागेको छ । प्रहरीले शर्मालाई पक्राउ गरी बानेश्वर बृत्तमा राखेको छ ।
यसैगरी, झडप भएकै स्थानबाट प्रहरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई पक्राउ गरेको छ । सो क्रममा केहीबेर झडप समेत भएको यिथो । पक्राउ परेकालाई बानेश्वर प्रहरीको हिरासतमा राखिएको छ ।
काठमाडौँमा फाट्टफुट्ट मात्र यातायातका साधन चलेका छन् । तर, सडकमा बन्दकर्ताको उपस्थिति न्यून छ ।
एमाओवादी नेतृ हिसिला यमी, नेता गणेशमान पुन र तीस दलीय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहसहित ३० दलीय मोर्चाका अढाइ सय जना कार्यकर्ता बिजुलीबजार पुलमा प्रदर्शन गर्दैछन् । तर, प्रहरीले दुईतर्फी यातायातका साधन संचालन गरिरहेको छ ।















प्रतिक्रिया