बसाइ हिड्नेको तातीले
बस्नेको मन रुवाउँछ
लाखौंको लागि उजाड छ यो देश
मुठीभरका लागि त स्वर्ग छ
तीसको दशकको अन्त्यतिर गाउँबस्तीमा गुञ्जने जनवादी गीतको स्थायी हो यो । अत्यन्तै लोकप्रिय गीत थियो यो त्यतिबेला । यही गीत गाएर त्यतिबेला जनताका गीत गाउँने संकल्पलगायतका सांगीतिक समुह गाउँबस्तीका शोषितपीडित जनतालाई जुरुक जुरुक उठाउँथे । गीतले भन्थ्यो, ठूला ठालुको शोषणकै कारण लाखौं शोषितपीडित मानिस बसाइ सर्न ताती लागेका छन् । यस्तो ताती देखेर गाउँमा बस्ने उनीहरु जस्तै लाखौंको मन रुन्छ । तर, जबसम्म त्यस्ता शोषकविरुद्ध वर्गीय लडाइँ थालिदैन, तबसम्म बसाइ जानेको ताती पनि रोकिँदैन । यो क्रम पञ्चायतकालभरि जारी रहँदा मुलुक मुट्ठीभरका ठूलाठालुका लागि स्वर्ग भए पनि लाखौंका लागि बसाइ जान ताती लाग्ने नर्क मात्र बनिरह्यो ।
000
१९९० को प्रजातान्त्रिक आन्दोलनले बर्लिन पर्खाल ढालेर पूर्व पश्चिम जर्मनीलाई मात्र जोडेन, सोभियत संघलाई अनेकौं टुक्रामा चोइटायो पनि । त्यही लहर नेपालमा आइपुग्दा ४६ सालको गुराँस आन्दोलन भयो । र, यसले लाखौं मानिसलाई बसाइँ हिडाउँने प्रणाली पञ्चायतलाई पनि ढाली दियो । त्यसयता बितेका २५ वर्षमा मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्यो । हिजो बसाइ हिडाउँनेहरु वल्लो घरको नरे पल्लो घरमा सरे भने जस्तै सजिलै नयाँ दलमा पाइतो सरे । नयाँ बनेका दल र तिनका नेतालाई हिजो शोषण गरेर कुम्ल्याएको अलिकति चटाइ दिए । हिजो लुट्ने मौका नपाएर नेता भएका कतिपयले त्यो अवसरको फाइदा उठाए र उनीहरुमाथि सुनपानी छर्के । यति भएपछि के चाहियो र आफ्नो वर्गीय पदोन्नति हुँदा केही नेताले आफ्नो पुरानो वर्ग र हैसियत नै बिर्से ।
वर्ष २०७१ लाई विदा गरेर वर्ष २०७२ लाई स्वागत गरिरहदा हामीले गएको वर्षको समीक्षा र आउँने वर्षको प्रक्षेपण गर्नुपर्ने हुन्छ । यसरी हेर्दा वर्ष २०७१ मा नेपाल आफ्ना योग्य पाखुरा, मन र मस्तिष्कलाई यात बैन ड्ेनमा धकेल्ने या ब्रेन इन ड्रेनमा राख्ने मुलुकमा दरियो । यसले मुलुक फेरि पनि मुट्ठीभरका लागि स्वर्ग र करोडौको लागि नर्क बन्ने संकेत गरेको छ । यसले मुलुकको भाग्य र भविष्यमाथि भद्दा मजाक हुने सम्भावना बढाएको छ ।
000
समय कसैको पनि काबुमा हुँदैन । हिजो समय कैद गर्नेहरु आज समयका कैदी हुन पुग्छन् । हिजो समय आफूसँग नभएको भनेर कोकोहोलो मच्चाउनेहरु अहिले आफूलाई समयको मालिक ठानिरहेका हुन्छन् । तर यथार्थमा त्यस्तो भएकै हुदैैन । समय केही यताउता या तलमाथि भने परेको हुनसक्छ । यसले पात्र र प्रवृतिमा केही फरक पनि पारेको हुनसक्छ । एउटा प्रणाली भत्काएर अर्को प्रणाली बनाउने संक्रमणमा रहेको मुलुकमा यस्तो हुनु अस्वभाविक पनि हैन । यही क्रममा खलासीहरु डइभर हुन्छन् । कन्डक्टरहरु कुनै डइभरमा पदोन्नति हुन्छन् भने कुनै खलासीमा घटुवा भएका पनि हुन सक्छन् । हो, प्रस्तुत पृष्ठभूमीमा यतिबेला मुलुकमा रुपमा हेर्दा शासितहरु शासक र शासकहरु शासित भएका छन् । तर, सारमा त्यस्तो भएको छैन र हेन पनि । हिजोका केही शोसितको वर्ग फेरिएर शोषक भएका हुन् । त्योभन्दा बढी भए उनीहरुले त्यस्तो भ्रम पालिरहेका हुन् ।
000
हो, यसरी मुलुकको चित्र र समयमा आनका तान फरक पर्दा पनि बसाइ हिड्नेको ताती भने रोकिएको छैन । हिजो गाउँघरमा मात्र बसाइ हिड्नेको ताती लाग्थ्यो, अहिले त्यो ताती सहरबजारमा पनि सरेको छ । हिजो पहाड र हिमाली क्षेत्रमा मात्र त्यस्तो विडम्वना थियो, आज तराई मधेसमा पनि त्यो पुगेको छ । हिजो वर्गीय रुपमा हुँदा खानेहरु मात्र यस्तो तातीमा सहभागी हुन्थे, आज हुनेखानेहरु पनि त्यसरी नै फालिममा उभिएका छन् । हिजो भारतका विभिन्न राज्यमा मुग्लान पस्नेहरु आज सात समुद्रपारिका मुलुकतिर पाइला नाप्दैछन् । हिजो पलायन हुनेहरु आज सगर्व आप्रवासको क्रममा छन् । आज मुलुकको लागि यो विडम्वना र बाध्यता दुबै बनेको छ ।
विडम्वना यस कारण कि सरकार नै मुलुक रित्याउने नीतिमा छ । युवाहरुलाई विदेशमा पठाएर उनीहरुले भित्राएको रेमिट्यान्ट्सले मुलुक हाँक्ने आर्थिक नीतिमा छ । विदेश जानु पुरुषार्थ हो भन्ने खालको बज र भाइरल सिर्जना गरेर त्यही खालको एजेन्डा सेट गरिरहेको छ । किन्डर गार्टेनदेखि विश्वविद्यालयका कक्षाहरुमा अब मुलुकमा केही हुँदैन भन्ने खालको निराशा र कुण्ठाको सुस्त विष पियाइदैछ । योग्यहरु पाखा लाग्ने र अनेक तारतम्मे मिलाएर कम योग्यहरुले शासन गर्ने अनौठो खालको पद्धतिको निर्माण गरिदैछ ।
000
हो, पुराना शासककै पदचाप पछ्याउँदै नयाँ शासकले पनि आफ्ना विरुद्ध उठ्नसक्ने सम्भावित विरोधी स्वरहरुको निर्यात गरेकै हुन् । तर, यसो गर्दा पनि हरेक कुराको नकारात्मक मात्र हैन, सकारात्मक असर पनि हुन्छ भनेझैं यसबाट पनि कालो वादलभित्र चाँदीको घेरा भेटिएको छ । यसले नेपाली डायस्पोराको साइजमात्र बढाएको छैन, नयाँ भूगोलका धर्सा नाप्दै पौरख गर्ने अवसर पनि प्रदान गरेको छ । मध्यपूर्वका खाडी मुलुकमा होस् या मलेसिया जहाँ गए पनि नेपाली जाति गरिखाने जाति हो भनेर पुष्टी गर्न उनीहरुले छोडेका छैनन् । अष्ट्ेलिया, युरोप, क्यानाडा र अमेरिका नै किन नहोस्, नेपाली जाति हिलोमा कमल फुलाउँन सक्छ भनेर प्रमाणित गर्न छोडेका छैनन् । अपवादलाई छोडेर मुलुकबाट बसाइ हिड्न बाध्य नयाँ तातीहरुले संसारको हरेक कुनामा पुगेर पनि चुनौतिको पहाडलाई अवसरको मैदान बनाउन छोडेका छैनन् । यो यसको अत्यन्त सकारात्मक पाटो हो ।
हो, अहिले पहिलो पुस्ताको यो डायस्पोरा नीलो कलरको सटमा छ । चाहेर पनि यसले मुलुकलाई त्यति धेरै योगदान दिन सक्दैन । भावनाको खोल्सीमा बगेर यथार्थको समुद्रमा डुबुल्की मार्न पनि सकिन्न । तर, जब दोस्रो पुस्ता सेतो कलरको सटमा आउँनेछ, यदि उसलाई आफ्नो मूलसँग जोड्न सकियो र त्यही अनुसारको वातावरण पनि दिन सकियो भने ब्रेनड्ेनको चरण ब्रेनब्याकमा प्रवेश गर्नेछ । त्यसपछि यो बसाइ हिड्नेको तातीले मुलुकका लागि यथेष्ट योगदान दिन सक्छ । हिजो उसलाई बसाइ हिड्नेको तातीमा उभ्याउनेको विरुद्ध शंखनाद गर्न सक्छ । र, त्योभन्दा पनि बढी उसले समाजका हरेक पक्षमा हस्तक्षेप गर्दै मुलुकमै आमुल परिवर्तन ल्याउन सक्छ । तर, त्यसका लागि फेरि पनि समयको पदचापलाई पछ्याउन सक्नुपर्छ । यदि त्यसो गर्न सकिएन भने समयले नै थप्पड लगाएर उसको पदचाप पछ्याउन बाध्य पार्नेछ ।
000
मुलुकमा वर्ष २०७१ ले नेटो काट्न लागेको यतिबेला त्यसलाई प्रतिस्थापन गर्न २०७२ जस्केलामै आइपुगेको छ । यो वर्ष २०७१मा मुलुकमा के के भयो के के भएन भनेर हिसाव किताव गर्ने बेला पनि हो । त्यसैका आधारमा वर्ष २०७२ मा के गर्ने भनेर प्रक्षेपण गरिने हो ।
यो विन्दुबाट हेर्दा वर्ष २०७१ नेपाल र नेपालीका लागि समग्रमा सकारात्मक सूचनाको वर्ष रहेन । यो वर्ष पनि धेरै पाखुरा, मन र मस्तिष्क बसाइँ हिड्नेको तातीमा परे, पारिए । मुलुकको नयाँ शासकवर्ग बसाइ हिडाउने योजनामा रहेकाले उसका लागि यो सुखद् समाचार हुन सक्ला । तर, सारमा मुलुकका योग्य पाखुरा, मन र मष्तिस्क बसाइ हिड्नु किमार्थ पनि सुखद संकेत हुन सक्दैन । यसले मुलुकका लागि जन्ती र मलामी मात्र घटाउने हैन कि हतासा र कुण्ठालाई पनि जन्माउने र बढाउने गर्छ । अझ त्यसमा पनि मुलुकले लगानी गरेका र मुलुकले नै आशा गरेका ब्रेन नै ड्ेन हुँदा त त्यसको बहुआयामिक असर नरहने भन्ने प्रश्नै रहदैन । फलानो या ढिस्कानाजस्तो मान्छे त गयो भने हामीजस्ता मान्छेको के काम ? फलानाजस्तालाई त मुलुकले चिनेन भने हामीजस्तालाई के चिन्ला ? यसरी हरेक मान्छेले आआफ्नो दिमाखमा प्रश्नहरुको फालिम लगाउन थाल्छ । र, ती प्रश्नहरुको यथासमयमा सही उत्तर नपाउँदा उनीहरुमा एक किसिमको कुण्ठा र हतासा जन्मिन्छ । प्रकारान्तरमा त्यसले पार्ने प्रभाव अत्यन्त घातक हुन्छ ।
वर्ष २०७१ मा मुलुक छोड्न लागेको यो ताती वर्ष २०७२ मा एकाएक रोकिएला भन्न सकिने सम्भावनाको किरण यतिबेला धेरै टाढा क्षितिजमा पनि देख्न सकिएको छैन । उल्टै, यो क्रम अझ भयावह किसिमले अगाडि बढ्ने आँकलन गर्न सकिने तथ्य हामी सामु देखापर्दैछ । निश्चित पनि यो मुलुकका लागि सुखद् समाचार हुन सक्दैन ।
वर्ष २०७१ ढलेर २०७२ लाई स्वागत गर्नुपर्ने यो पूर्वसन्ध्यामा हामीले भित्ताको पात्रो फेरेर कर्मकाण्डी शुभकामना मात्र बाँड्ने कि यो नियतिलाई बदल्नतिर पनि लाग्ने ? आज मुलुकसामु उभिएको यक्षप्रश्न हो यो । तारा नदेखिने र कहिल्यै नसुत्ने सपनाको सहर न्युयोर्क डेटलाइनमा यी पंक्तिहरु लेखिरहदा यो स्तम्भकार स्वयं पनि त्यही ठूलो प्रश्नचिन्ह्मुनि निसास्सिरहेको अनुभूति गरिरहेछ । यस्तो बेला २०३८ सालतिर आफूले पनि गाएको यो गीतसँगै नोस्टल्जिक भैरहनुको विकल्प ऊ देखिरहेको छैन,
बसाइ हिड्नेको तातीले
बस्नेको मन रुवाउँछ
लाखौंको लागि उजाड छ यो देश
मुठीभरका लागि त स्वर्ग छ ।
मुठ्ठीभरका लागि हैन, लाखौं करोडौको लागि स्वर्ग बनोस् । नयाँ वर्ष २०७ं२ को पूर्वसन्ध्यामा वादलमाथिको एक टुक्रा जून जस्तै मीठो शुभकामना ।
म्यानहटन, न्युयोर्क ।














प्रतिक्रिया