
बनेपा, २३ चैत । तीस दलीय मोर्चाले आह्वान गरेको तीनदिने आमहडतालको अघिल्लो दिन सोमबार साँझ काभ्रेपलाञ्चोकको बनेपामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।
झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीसहित छभन्दा बढी प्रहरी र छ आन्दोलनकारी घाइते भएका छन् ।
झडपपछि केही बेर बनेपामा तनाव हुँदा सवारी साधन सञ्चालनमा समेत अवरुद्ध आएको थियो । प्रहरी निरीक्षक भारतीले आफूलाई हात र खुट्टामा चोट लागेको उल्लेख गर्दै घाइते प्रहरीको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । अहिले स्थिति सामान्य भइसकेको छ ।
उता एनेकपा (माओवादी) काभ्रेपलाञ्चोकका संयोजक दीनानाथ गौतमले बनेपाको चाँदनीचोकबाट निस्केको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जिकिर गर्नुभयो ।
यसैबीच, एमाओवादी नेतृत्वको मोर्चाले काठमाडौँसहित देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेको छ । सरकारले आफ्ना माग पूरा नगरेकाले आम अडताल यथावत रहने मोर्चाले जनाएको छ ।
एमाओवादी मोर्चाले सोमबारदेखि बुधबारसम्म विहान ५ बजेदेखि साँझ ५ बजेसम्म बन्द जारी रहने जनाएको छ ।















प्रतिक्रिया