धनगढी, २३ चैत । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा आसन्न केन्द्रीय महाधिवेशनको तयारीमा युद्धस्तरमा जुटेको छ ।
धनगढीमा आयोजना हुने रेडक्रसको ४४ औं केन्द्रीय महाधिवेशनलाई कसरी सफल पार्ने विषयमा कैलाली शाखाले सोमबार जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
छलफलमा सहभागी दलका प्रतिनिधिहरुले रेडक्रसको महाधिवेशन सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दलका प्रतिनिधिहरुले जस्तोसुकै परिस्थितिमा पनि रेडक्रसको अभियानलाई सहयोग गर्ने बताए ।
अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष हेमराज ओझाले रेडक्रसलाई दलहरुले विगतमा गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताए ।
जिल्ला शाखाका सभापति उत्तम जोशीले महाधिवेशनको तयारी एवं व्यवस्थापनका विषयमा जानकारी गराएका थिए । उनले धनगढीमा हुने ऐतिहासिक महाधिवेशन सफल पार्नका लागि अनुरोध गर्दै महाधिवेशन सफल पार्नु सबैको दायित्व भएको बताए ।
नेपाल रेडक्रस सोसाइटीको ४४ औं महाधिवेशन यही चैत्र २८ गतेदेखि ३० सम्म धनगढीमा हुदैछ ।
अन्तरक्रियामा काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, एकीकृत नेकपा माओवादीका सुन्दरराज रेग्मी, राप्रपा कैलालीका राजबहादुर सिंह, राप्रपा नेपाल कैलालीका दीपक मल्ल, तमलोपा कैलालीका उमेशकुमार श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यसअघि शाखाले सञ्चारकर्मीसंग महाधिवेशनका बारेमा छलफल गरिसकेको छ । महाधिवेशनको तयारीका लागि विभिन्न तयारी समितिहरु गठन गरिएका छन् ।















प्रतिक्रिया