काठमाडौँ २३ चैत । प्रधानसेनापति गौरवशम्शेर राणा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सञ्चालन भएको शान्ति सेनामा सहभागी हुने मुलुकका सेना प्रमुखको सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्कनुभएको छ ।
सम्मेलनमा विश्व शान्तिका लागि सहभागी राष्ट्रले पु¥याएको योगदान, चुनौती तथा समाधानका लागि अपनाउनुपर्ने सजगता, सुझाव, भावी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो ।
सम्मेलनको निरन्तरता दिने तथा शान्ति स्थापना कार्यलाई अझ बढी असरदार र प्रभावकारी तुल्याउने सन्दर्भमा सम्मेलन फलदायी रहेको नेपाली सेनाले जनाएको छ ।
सम्मेलनका क्रममा नेपालले अन्तर्राष्ट्रिय शान्ति मिसनमा एक लाखभन्दा बढी सङ्ख्यामा सैनिक पठाई विश्व शान्ति स्थापनार्थ पु¥याएको योगदानको विषयमा विशेष छलफल भएको थियो ।
नेपाली सेनाले राष्ट्रसङ्घ मातहत परिचालन भएर पु¥याएको अतुलनीय योगदानले मुलुकको परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका पुग्दै आएको सेनाको ठहर रहेको छ ।
सम्मेलनमा प्रधानसेनापतिको सहभागिता र त्यस अवसरमा भएका भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वप्रतिको प्रतिबद्धतालाई राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय जगत्लाई विश्वस्त बनाउन मद्दत पुगेको जनाइएको छ ।
सम्मेलनमा २२ मुलुकका सेना प्रमुख तथा प्रतिनिधिबाट विश्वशान्ति स्थापना कार्यको हालसम्मको योगदानको समीक्षा र मूल्याङ्कन प्रस्तुत गरिएको सेनाले जनाएको छ ।
प्रधानसेनापति राणाले ५० वर्षभन्दा बढी समयदेखि शान्ति सेना सहभागिताको अनुभव, बदलिँदो तथा चुनौतीपूर्ण मिसन सफल बनाउन तालिमको अपरिहार्यता र दर्बिलो परिचालनबाट हासिल गर्न सकिने सकारात्मक परिणामका विषयमा धारणा प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा सङ्घको सदस्य मुलुकका ६४ सेना प्रमुखसहित १०८ ा उच्चपदस्थ सैनिक अधिकारीले भाग लिनुभएको थियो ।
सम्मेलनमा भाग लिने क्रममा प्रधानसेनापति राणाले भुटान, भारत, जापान, मलेसिया, मङ्गोलिया, नेदरल्यान्डस् र न्युजिल्यान्डका सेना प्रमुखसँग भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ । रासस















प्रतिक्रिया