पर्वत, २३ चैत । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेपाली काँग्रेस र नेकपा एमालेले बहुमतको दम्भ देखाएर संविधान जारी गर्न खोजे मुलुक फेरि अर्को द्वन्द्वमा जाने चेतावनी दिनुभएको छ ।
सहमतिमा नै संविधान निर्माण गरिएको संविधानले सबैका हकअधिकार सुनिश्चित गर्ने बताउँदै डा भट्टराईले सङ्ख्याको दम्भ देखाए पुनः अर्को विद्रोह हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘बहुमतको दम्भ देखाए फेरि हतियारको युद्ध दोहोरिने छ, आफ्नो अधिकारको लागि जनता हतियार लिएर युद्धमा होमिने छन् ।’
सोमबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा उहाँले बहुमतका आधारमा संविधान जारी भएका उदाहरण विश्वका कुनै पनि मुलुकमा नभएको बताउँदै प्रक्रिया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
काँग्रेस एमालेले २०४७ सालकै संविधान ब्युताउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरु सडकमा जान बाध्य भएको स्पष्ट गर्नुभयो ।
बहुमतीय प्रक्रियाबाट जारी भएको संविधान आम नेपाली जनताले स्वीकार नगर्ने र त्यसले दलित, उत्पीडित, जनजाति, महिला वर्गका हकअधिकार सुनिश्चित नहुुने भएकाले सहमतिमै संविधान जारी गर्नुको विकल्प नभएको डा बताउनुभयो ।
उहाँले आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आन्दोलनलाई हिंसात्मक हुन नदिन सबै कार्यकर्तालाई निर्देशन दिएकोसमेत जानकारी दिनुुभयो ।
नेता भट्टराईले जेठ १५ भित्र संविधान जारी गर्ने र सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धता आए आन्दोलनका कार्यक्रम तत्काल रोक्ने पनि बताउनुभयो । रासस














प्रतिक्रिया