काठमाडौँ, २३ चैत । नेकपा (एमाले) को आज बिहान बसेको स्थायी कमिटीको आकस्मिक बैठकले नेता रामनाथ ढकालको दुःखद निधन भएकामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक-सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
बैठकले उहाँको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टी झन्डा आधा झुकाउने, औपचारिक कार्यक्रम तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र आगामी २०७२ साल वैशाख ४ गते श्रद्धाञ्जलि सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीलाई निर्देशित गर्ने निर्णयसमेत गरेको एमालेले जनाएको छ ।
यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा राख्नु भएको छ ।
अध्यक्ष ओलीले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा ढकाल पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान् युवानेता हुनुभएको र उहाँले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रविरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल हुनुभएको उल्लेख छ ।
अध्यक्ष ओलीले दुःखको यस घडीमा एमाले केन्द्रीय कमिटीका तर्फबाट ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
ढकालको आइतबार स्वाइन फ्लुका कारण ग्रान्डी अस्पतालमा निधन भएको थियो । ढकालप्रति अहिले पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जलि दिने कार्यक्रम भइरहेको छ भने ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । रासस














प्रतिक्रिया