त्रिशूली(नुवाकोट), २२ चैत । देवीघाटको जालपामन्दिर र भैरवी मन्दिरमा लाग्ने मेला सुरु भएको छ ।
शनिबार नुवाकोट दरबार क्षेत्रबाट निस्केको रथयात्रा गरी देवीघाट पुगेको छ । सिन्दुरे जात्रा भनिने यो जात्रा नुवाकोटको सबैभन्दा धेरै दिन लाग्ने ठूलो पर्वसमेत हो । धामीजात्रा पनि भनिने सिन्दुरे जात्राको प्रारम्भिक प्रक्रिया १५ दिनअघि खानीगाउँ गाविसको नारायणदेवी उच्चमावि नजिकै पूजा अर्चना गरेपछि सुरु हुन्छ ।
नुवाकोटको भैरवीमन्दिरबाट धामीधमिनीले शनिबार नजिकैको तलेजु भवानीको मन्दिरमा पुगेर महाबलि पूजा गरेपछि धामीधमिनी र रथलाई देवीघाटस्थित जालपादेवीको मन्दिरतर्फ लगिएको हो ।
तलेजु मन्दिरमा गुभाजुले विधिपूर्वक महाबलि पूजा गरेर भुजाबाट तयार पारिएको महाबलिलाई बोकी उल्टो हिँडेर धरमपानीमा आएर रथमा बाँधिदिने चलन छ । सोही परम्पराअनुसार रथयात्रा गरिएको हो ।
भैरवी मन्दिरको रथसहित धामी र धमिनीको यात्रा जालपा मन्दिर देवीघाटतर्फ जानेक्रममा रथपूजा र धामीधमिनीलाई पूजा गरिन्छ । विभिन्न विधि एवम् परम्पराअनुसार रथयात्रा गर्ने क्रममा बट्टार, इनारपाटीलगायत क्षेत्रमा धामीधमिनीलाई दर्शन गर्नेको भिड लागेको थियो ।
आज बिहान देवीघाटको जालपा मन्दिरमा धामीले राँगो र बोकाको भोग खाएका छन् । सोमबार नुवाकोटको भैरवी मन्दिरमा लाग्ने सिन्दुरे जात्राका लागि निमन्त्रणा गर्नका लागि बहिनी भैरवी दिदी जालपालाई भेट्न देवीघाट जाने गरेको विश्वासमा यो पर्व मनाइँदै आएको छ । चैत शुक्ल द्वितीयाका दिन साततले दरबार राष्ट्रिय सङ्ग्रहालयसँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्तास्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती पाइन्छ ।
बहिनी भैरवीको दूतका रुपमा भैरवीका पुजारी गणेश, कुमारका साथ बाजागाजासहित रथ यात्रा गरेर जालपादेवी पुग्ने प्रचलन छ । नुवाकोटकी भैरवी तथा काठमाडौँस्थित टुँडालदेवी र नक्सालकी महामाया दिदीबहिनी मानिन्छन् । रासस















प्रतिक्रिया