काठमाडौं, २० चैत । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मोटोपना, मोटोपनावाट पर्नसक्ने नकारात्मक असर र मोटोपनाको उपचार बारे जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
चिकित्सा क्षेत्रमा संलग्नहरु सँगै सर्वसाधारणलाई समेत मोटोपनाको नकारात्मक असर र उपचारबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल डायबेटिक एसोसिएसनका सदस्यहरुले पनि सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रममा बरिष्ठ इण्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमाली जोशीले मोटोपना बंशाणुगत तथा हर्मोनल कारणले हुने भएपनि शरीरलाई चाहिने भन्दा बढी क्यालोरी लिनु नै मोटोपन देखिनुको प्रमुख कारण रहेको जानकारी गराएका थिए ।
बरिष्ठ अंकोलोजिष्ट डाक्टर सिमित सापकोटाले मोटोपनले बिभिन्न किसिमका क्यान्सर गराउनसक्ने भएकाले सबैलाई आफ्नो उचाई अनुसार तौल सन्तुलित बनाई राख्न सल्लाह दिएका थिए ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इन्टरभेन्सनल कार्डियोलोजिष्ट डाक्टर अनिल ओम मूर्तिले मोटोपनाले मुटु सँगै मानव स्वास्थ्यमा पार्ने दिर्घकालिन नकारात्मक असर र उपचारबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट सर्जन डाक्टर राकेश कुमार साहले मोटोपनको समाधानका बिभिन्न आयामहरुवारे जानकारी गराएका थिए ।
धेरै मानिसहरुले मोटोपनालाइ रोगका रुपमा नलिने भएपनि यो दिर्घकालिन रोग र मृत्यु एक प्रमुख कारण पनि रहेको डाक्टरहरुको तर्क छ ।
मोटोपनबाट बच्न दैनिक ब्यायाम गर्ने र खानमा चिल्लो पदार्थ सँगै अन्नको सेवन कम गर्नुपर्ने, सागसब्जी र सलाद बढी मात्रामा खानुपर्नेमा डाक्टहरुले जोड दिएका छन् ।
बढी तौल र मोटोपनाको कारण उच्चरक्तचाप लगायतका मुटुरोग, मधुमेह, मष्तिष्कघात, क्यान्सर, बाँझोपन, बाथ लगायतका समस्याहरु हुने डाक्टरहरुको भनाई छ ।
नेपालमा पनि कुल जनसंख्याको ७ प्रतिशत भन्दा बढी मानिस बढी तौल र मोटोपनको समस्यावाट प्रभावित छन् ।
बिश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बढीतौल र मोटोपनको कारण हरेक बर्ष तीसलाख भन्दा बढी मानिसको मृत्यु हुनेगरेको छ ।













प्रतिक्रिया