काठमाडौँ, २० चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेब गौतमले नेपाल पत्रकार महासंघ उदयपुर शाखामा आबद्ध पत्रकार रामप्रसाद भट्टराई ‘सचिन’को हत्याबारे छिट्टै अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने आश्वासन दिनु भएको छ ।
भट्टराईको सुनियोजित हत्या भएको प्रारम्भिक अध्ययनबाट देखिएकाले महासंघले त्यसबारे ज्ञापनपत्र बुझाउने क्रममा गृहमन्त्री गौतमले दोषीलाई छिट्टै पक्राउ गरिने बताउनु भएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्षडा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री गौतमले भन्नुभयो– ‘प्रहरीबाट पनि सचिनको हत्याबारे अनुसन्धान भइराखेको छ । तत्कालै दोषीको पत्ता लगाई कार्वाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ । मृतक सचिनको परिवारलाई तत्काल राहत दिन मिल्ने जतिदिन तयार छ । अनुसन्धानपछि सचिन कसरी मारिए त्यहीअनुसार राहत दिने व्यवस्था मिलाउँछु ।’
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष डा. विष्टले पत्रकार दिनदिनै असुरक्षित बन्दै गएको गृहमन्त्री गौतमलाई सुनाउनु भयो । ‘पत्रकारको हत्या दिनदिनै बढ्दै गएको छ । कहीँ पत्रकारको घरलाई लक्षित गरी बम राखिन्छ । पत्रकारको आमाको निधन भएको छ । पत्रकारमाथि दिनदिनै कुटपिट बढ्दै जाने कार्वाही कसैलाई नहुँदा दण्डहीनता बढेको देखिन्छ । यसलाई रोक्नु पर्यो ।’
यसैबीच वरिष्ठ पत्रकार गोपालथ पलियाको स्वास्थ्य स्थिति दिनदिनै नाजुकबन्दै गएकाले सरकारबाट छिटो उपचारको व्यवस्था गर्न अध्यक्ष विष्टले आग्रह गर्नुभयो । जवाफमा गृहमन्त्री गौतमले तत्कालै उपचारका लागि अघिल्लो मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैया दिने निर्णय गरी अहिले स्वास्थ्य मन्त्रालय पुगेको जानकारी दिनुभएको महासंघका महासचिव उजुरी मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया