लमजुङ, २० चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सहमतिको नाममा मुलुकलाई लामो समय अनिश्चिततामा राख्न नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल लमजुङद्वारा शुक्रबार बेसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सहमतिको नाममा लामो समय मुलुकलाई अनिश्चिततातर्फ धकेल्न नहुने बताउनुभएको हो । आफ्नो पार्टी संविधान निर्माणका लागि सहमतिकै पक्षमा रहेको बताउँदै उहाँले लामो समयको राजनीतिक ‘डेडलक’ अमान्य हुने बताउनुभयो ।
‘सहमतिका लागि दलहरुका विचमा अधिकतम प्रयास हुनुपर्छ,’ पोखरेलले भन्नुभयो, ‘संविधानसभामा भएका दलहरुको सम्झौताको रुपमा संविधान जारी पनि गर्नुपर्छ, तर सहमतिको नाममा अनन्तकालसम्म पर्खन सकिदैंन ।’
रबरको उदाहरण दिंदै महासचिव पोखरेलले भन्नुभयो, ‘रवर पनि त्यति तन्काउनु पर्छ, जति तन्काउँदासम्म त्यो चुडिदैंन, अहिलेको सहमति पनि त्यस्तै हो ।’ ३० दलीय मोर्चाको सडक आन्दोलन प्रति लक्षित गर्दै उहाँले, कलम लिएर संविधानसभामा जुट्नुपर्ने समयमा लाठी बोकेर सडकमा गएर संविधान नबन्ने टिप्पणी गर्नुभयो ।
अधिकतम सहमतिका लागि दलहरुबीच वार्ता जारी राख्दै प्रक्रियामा जानुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो, ‘संविधानसभाको निर्वाचनबाट जनताले कांग्रेस, एमालेलाई संविधान निर्माणको जिम्मा दिएका छन, जतिसक्दो छिटो संविधान जारी नगरे दलहरूप्रति जनताको विश्वास टुट्छ ।’ नेकपा एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बेसीशहर आएका पोखरेलले सरकार परिवर्तनको सवालमा सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउँदै अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभयो ।
यसैबीच, शुक्रबार नै बेसीशहरमा भएको कार्यकर्ता भेलामा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, बैकल्पिक पोलिटब्युरो सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्मा, केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल सह–इन्चार्ज मायानाथ अधिकारी, सभासद टुका हमाल, डा. भिष्म अधिकारी लगायतले सम्बोधन गरेको एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो ।
















प्रतिक्रिया