– सन्तोष काफ्ले
धरान, २० चैत । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापामारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियार क्षेत्रीय कार्यालय ईटहरीका एसपी लालमणी आचार्यको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानविरुद्ध परेका विभिन्न उजुरी सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले बताउनुभयो ।
आचार्य सहित गएको चार जनाको टोलीले बीपी प्रतिष्ठानको आर्थिक वर्ष २०७०–७१ मा निर्माण भएका सबै कागजपत्र, ०७१–७२ को गेस्ट हाउस टेन्डर प्रकृया, फर्निचर खरिद लगायतका कागजपत्र, २०५९ सालदेखि भर्ना भएका कर्मचारी सम्बन्धी कागजपत्र, ल्याब र केमिकल सामग्रिको कागजात, बीडीएस र एमबीबीएसमा विदेशी विद्यार्थी भर्नाको कागजात नियन्त्रणमा लिइएको बस्नेतले बताउनुभयो ।
आर्थिक वर्ष ७०÷७१ का बोलपत्र , कर्मचारी भर्ना, आर्थिक अनियमितताका विषयमा अख्तियारमा उजुरी परेकाले छानबिनका लागि अख्तियारले त्यस सम्बन्धी महत्वपुर्ण फाइलहरु नियन्त्रणमा अख्तियारले जनाएको छ ।
नियन्त्रणमा लिइएको फाइललाई प्रक्रियागत ढंगले अनुसन्धान अगाडि बढाइने र उजुरी सत्य हो या होइन भन्ने निक्र्यौल अनुसन्धान पश्चात खुल्ने छापामा सलग्न एसपी आचार्यले जानकारी दिनुभयो ।
उहाँले छापा नभई आवश्यक अनुसन्धानको लागी काजपत्र मात्र नियन्त्रणमा लिएको जानकारी दिनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवक्ता डा. पशुपति चौधरीलले भने भ्रष्टाचारका विरुद्धमा छानबिन गर्ने अख्तियारले अख्तियारी पाएको बताउनु हुदै छानबिन गर्दैमा भ्रष्टाचार भन्न नहुने बताउनुभयो ।
उहाँले प्रतिष्ठानमा भएको खरिद प्रक्रिया खरिद ऐन अनुसार भए नभएको विषयमा अख्तियारले बढी जोड दिएकोले भ्रष्टाचार नहोस् भन्ने कामनासहित अख्तियारको काम कारबाहीमा आफूहरुले सघाउने समेत बताउनुभयो ।
प्रतिष्ठानमा यसभन्दा अगाडि पनि अख्यितारले प्रतिष्ठानको परिक्षा तथा भर्ना प्रक्रियाको बारेमा कागज पत्र नियन्त्रणमा लिदै अनुसन्धान गरेका थियो । तर अनियमितता नभएको भन्दै अख्तियारले सफाइ दिएको थियो ।















प्रतिक्रिया