वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) तथा अन्य कलाकारहरुको साथमा अमेरिका आई पुगेका छन् ।
सम्पूर्ण कलाकारहरु साथ डिसी महानगर क्षेत्रको बाल्टिमोर स्थित बिएम डब्लु बिमान स्थलमा आज दिउँसो ४ बजे अवतरण गरेका छन् । सम्पूर्ण कलाकारहरुलाई स्वागार्थ बिमान स्थलमा वर्ल्ड बिजनेस म्यनाजमेन्ट एंड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मी पुगेका थिए भने उनीहरुलाई पुष्प गुच्छा द्वारा अमेरिकामा स्वागत गरिएको थियो ।
अमेरिका ओर्लेपछि धुर्मुस र सुन्तलीले हाम्रो अमेरिकाको भ्रमण पहिलो भएकोले हामी निकै उत्साहित भएको बताएका छन् । नेपाली समुदायले हामीलाई देखाएको माया, सद्भाव र कलाकारहरुलाई दिएको सम्मान प्रति हामी हर्षित छौ ।
बिदेशी माटोमा नेपाली समुदायसंग भेटघाट गर्न पाउनु र व्यस्त जीवनमा चलेको अमेरिकन दैनिकीमा हाम्रो कार्यक्रम हेर्न नेपाली समुदायले समय व्यवस्था गर्नु भनेको हाम्रो लागि अहोभाग्य हो भनि सीताराम कट्टेल तथा कुन्जना घिमिरेले विमानस्थलमा प्रफुल्ल मुद्रामा भने ।
कट्टेलले अगाडी भने हामी जुन उद्देश्यले हामी आएका छौ हामी कुनै कसर छोड्ने छैनौ । मनोरञ्जन प्रदान गर्नु हाम्रो परम दायित्व हो भन्दै सबै नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने विश्वास लागेको छ ।
२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने धुर्मुस र सुन्तलीको जोडीले आफ्नो बिबिध प्रतिभा देखाउने भएका छन् ।
कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् ।
उक्त कार्यक्रम सर्ब प्रथम भर्जिनियामा अप्रिल ४ तारिखमा नोवा कलेजमा सामुदायिक समूहको आयोजनामा हुने भएको छ । कार्यक्रम बोस्टन, हुस्टन, डलास, अस्टिन, न्युयोर्क, सिकागो, नेब्रास्का, बाल्टिमोर, नर्थ क्यारोलिना, कोलोराडो, सन् फ्रान्सिस्को, सेन्ट लुईस, पोर्टल्याण्ड, सियाटल, लास एन्जेलस लगायत करिब दुई दर्जन भन्दा ज्यादा कार्यक्रमहरु बिभिन्न शहरहरुमा प्रस्तुत गरिने भएको निश्चित भएको छ ।
कलाकारहरु करिब सवा दुई महिना सम्म अमेरिकामा रहने भएका छन् । कार्यक्रम गर्नको अर्को उद्देश्य भुटान, भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नयाँ नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने रहेको संयोजक बुद्धि प्रसाद रेग्मीले बताए ।
कार्यक्रमबाट संचित रकम नेपाल फर्केपछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा कार्यक्रमका संयोजक रेग्मीले बताए ।
















प्रतिक्रिया