– यज्ञप्रसाद सापकोटा
बर्दिया, २० चैत । यस बर्ष वन डढेलोको बटुवालाई बढ्दो गर्मियाम सँगै हुने वन डढेलोबाट बच्नका लागि बर्दियाका सामुदायिक वनका उपभोक्ताहरु सचेत हुन थालेका छन् । सामुदायिक वनका उपभोक्ताहरु वनमा हुने डढेलोलाई रोक्नका लागि तयारी गरिरहेका छन् ।
सामुदायिक वन, संरक्षित वन र निकुञ्जमा हुने आगलागी रोक्नका लागि गाउँ गाउँमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आगलागी सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्न थालेको छ ।
जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलोबाट जोगाउनका लागि जनचेतना मुलक कार्यक्रम गर्ने, अग्नी रेखाहरुको निर्माण गर्ने, वनको बाटो भएर हिँड्ने र वन भित्र जाने मानिसहरुलाई सलाई र लाईटर लैजान नदिने जस्ता अभियान चलाएका छन् ।
वन क्षेत्रको प्रवेशद्धारमा सुचनामुलक होर्डिङ्ग बोर्ड टाँग्नुका साथै उपभोक्ताहरुलाई सचेत गराउने गरीएको छ । त्यसैगरी आगलागी हुन सक्ने सम्भावित ठाउँहरुको निगरानी राख्ने समेत उपभोक्ताहरु गर्न थालेका छन् ।
विगत्का बर्षहरुमा बर्दिया जिल्लाका सामुदायीक वन र सरकारी वनमा डढेलोको प्रकोप अत्याधिक रुपमा देखिन्थ्यो तर यस बर्ष उपभोक्ता र निकुञ्जका मध्यवर्ती क्षेत्रका स्थानीयबासीन्दामा आएको सचेतनाको कारणले वनमा डढेलो कम भएको सामुदायीक वन उपाभोक्ता महासंघ नेपालका महासचिव मान बहादुर विष्टले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य महम्मद कर खाँले वनमा डढेलो लाग्नुको प्रमुख कारण सरकारी नीति भएको बताए ।
वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा उनले सामुदायिक वनमा भन्दा सरकारी वनमा डढेलोको प्रकोप बढी भएको बताउँदै वन जंगल सफा नगर्नु र हरियो घाँस आउने धारणाले वनमा आगो लगाउनाले वन डढेलोको प्रकोप हुने बताए ।
मानिसको शरीर जस्तै वन पनि व्यवस्थीत र सफा हुनुपर्दछ । उनले भने बर्दियामा मात्रै वन डढेलोको कारणले अरवौको काठ नोक्सान हुने गरेको छ, त्यसले जलवायु परिवर्तनको समस्या पनि ल्याईरहेको छ ।
बर्दियाको राजापुरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले केयर नेपालको सहयोगमा डढेलो नियन्त्रण सम्बन्धी जनचेतना मुलक र्याली समेत गरेको छ ।
विभिन्न नारा लेखिएको प्लेकार्ड सहित राजापुर नगर परिक्रमा गरी सभामा परिणत भएको थियो । सभामा राजापुर क्षेत्रका करिब ५ सय उपभोक्ता सहभागी थिए ।















प्रतिक्रिया