२९ आश्विन २०८३, बिहिबार

डा गोविन्द केसी फेरि अनशन बसेको अब सुन्न नपरोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva-Lamichhane

हामी सँधै राम्रो खबर सुन्न चाहन्छौँ । नराम्रो खबर सकेसम्म सुन्नु नपरे हुन्थ्यो भन्ने चाहना रहन्छ । यो मानवीय स्वभाव हो । तर, सँधै यो कहाँ हुन्छ र ? जीवन भनेकै सुख र दुःखको संगम हो । आमरण अनसनमा रहेका डा. गोबिन्द केसीले बिहीबारबाट अनसन फिर्ता लिएको सुन्न पाइयो । आमरण अनसनमा बसेको १२ दिनपछि बिहीबार उनले सरकारसँग बिभिन्न बुँदामा सहमति गरेर अनसन तोडेको खबरले खुसी बनाएको छ ।

यस्तो खुसी पहिलो हैन । मैले यहाँ इंगित गर्न खोजेको कुरा फरक खुसी हैन, डा. गोबिन्द केसीले आमरण अनसन तोडेको खुसी नै यो पाँचौँपटक हो । पटक–पटक सरकारले माग पूरा गर्न भन्दै सहमति गर्ने र पछि माग पूरा नगर्ने र पुनः अनसनमा बस्ने यो सरकार र डा. गोबिन्द केसीबीचको श्रृङ्खला नै बनेको थियो । यहाँ ‘थियो’ क्रियापदको प्रयोग गरेर मैले यो प्रक्रिया नदोहोरियोस् भन्न चाहिरहेको छु ।

आमरण अनसनमा बसेको १२ दिनपछि बिहीबार उनले सरकारसँग बिभिन्न बुँदामा सहमति गरेर अनसन तोडेको खबरले खुसी बनाएको छ । यस्तो खुसी पहिलो हैन । डा. गोबिन्द केसीले आमरण अनसन तोडेको खुसी नै यो पाँचौँपटक हो । पाँचपटक यस्तो भोगिसकेको अवस्थामा छैटौँपटक भोग्नु नपर्ला भन्न सकिन्छ र ?

खुसीको कुरा त हो कि डा. केसीको आमरण अनसन बिभिन्न बुँदामा सहमति हुँदै रोकिएको छ तर के छैटौँपटक फेरि अनसन बस्नुपर्ने र फेरि अनसन तोडेमा खुसी हुँदै श्रृङ्खलालाई निरन्तरता दिनुपर्ने अवस्था नआउला भन्न सकिन्न । मैले सरकारले बेवास्ता गरेर माग पूरा गर्दैन भन्न खोजेको हैन । तर, पाँचपटक यस्तो भोगिसकेको अवस्थामा छैटौँपटक भोग्नु नपर्ला भन्न सकिन्छ र ?

हरेकपटक गोविन्द केसीको अनसनमा उनका समर्थकले धेरै दबाब दिने गरेको भएपनि यसपटक दबाब अलि बढी नै भएको जस्तो देखिन्थ्यो । यो दबाबले सरकारलाई एउटा निर्णयमा पुग्न त सहयोग ग¥यो तर साथीको मृत्यु जति लामो हुँदै जान्छ, उसको याद र सम्झना कम भए जस्तै यो हुल कम हुँदै जाँदा अन्तिममा डा. केसी एक्लै हुने र सरकारले फेरि आफ्नो बलले मागलाई आफू सापेक्ष बनाउने त हैन ? यो सभावना पनि उत्तिकै छ । मैले यहाँ यो भन्न खोजिरहेको छैन कि त्यो समर्थनको आवाजलाई ‘हुल’ या ‘बथान’ को संज्ञा दिन खोजेको हैन । मात्र बिषय यो हो कि यो साथ र समर्थन त्यहाँसम्म आवश्यक छ, जहाँसम्म सरकार अहिले आइपुगेको समाधानको बिन्दुसम्मका सबै माग पूरा हुँदैन ।

यो भनिरहँदा मैले आफ्नो पक्षबाट पन्छन खोजेको कुनै पनि हालतमा हैन । यो बिषयमा सबैको समान समर्पण आवश्यक छ । यो भन्दा पहिला पनि सहमति नभएको भए विश्वासको वातावरण बन्छ भन्नेमा पूर्ण विश्वास गर्न सकिन्थ्यो तर यो श्रृङ्खला बनेकोले कार्यान्वयनका लागि समर्थन अझै पनि आवश्यक छ । नैतिक समर्थन त सबैको भइहाल्छ तर भौतिक उपस्थिति पनि उतिकै आवश्यक रहन्छ, धेरै अवस्थामा । त्यो समय पनि डा. गोबिन्द केसीलाई फेरि एक्लोपनको महसुस नहोस् ।

यो १२ दिनमा हरेक दिन जसो अहिलेको मुख्य सञ्चारको साधन सोसियल मिडिया (न्यू मिडिया) मा यस बिषयमा एक पक्षिय, द्विपक्षीय र आक्रोशसहितको समाचार, सूचना पढ्न नपाइएको हैन । त्यसैगरी अनलाइन समाचारहरुमार्फत पनि पशस्त समाचार पढ्न र सुन्न अबसर मिल्यो । यो बीचमा प्रधानमन्त्री सुशील कोइरालाको बिवादास्पद बोली र डा. केसीको आक्रोशपूर्ण अडियो पनि सुन्न नमिलेको हैन । जे जस्तो भएपनि सबैले लेखेका फरक–फरक सूचना पढ्दा दुईपक्षीय समाचार सुन्न पाइन्थ्यो । ती सबै मिडियालाई धेरै धेरै धन्यबाद ।

यी सबै मिडियाले जसरी अहिले समाचार, सूचना प्रकाशन, प्रशारण गरेका छन् त्यो निरन्तरता त्यो समयसम्म सुन्न पाइयोस्, जुन समयसम्म मागहरु पूरा हुन्छन् । अब दैनिक र निरन्तर त आवश्यक छ भन्ने मेरो मान्यता हैन, तरपनि कुन स्थानसम्म पुग्यो र कस्तो अवस्थामा छ, सरकार कुन–कुन बुँदामा आफू सापेक्ष बनाई प्रयोग गर्दैछ यी समाचार पनि सुन्न पाइयोस् । यसले समाचारको निरन्तरता मात्र हैन, पाठक र समर्थकलाई कुन समयमा कहाँ के गर्नुपर्दछ ? भन्ने जानकारी होस् ।

म पुनः माथिका पंक्तिहरु दोहो¥याउँछु– फेरि डा. केसीले आफ्ना माग पूरा भएनन् भनेर अनसन बस्ने अवस्थाको श्रृजना नहोस् । यो म र म जस्तै सबैको चाहना हो भन्ने मलाई लाग्छ ।

डा. केसी र उनका समर्थकका माग पूरा हुन लाग्ने समय निश्चित छैन, अब यसलाई निश्चित बनाउन पनि हामी उत्तिकै जागरुक हुनुपर्दछ । यदि कार्यान्वयन भएन भने दबाबको अवस्था पनि आवश्यक रहन सक्छ । त्यसका लागि पनि हामी सबै तयार नै रहनुपर्दछ ।

अहिले अनसन तोडेको खुसीको खबर त सुन्न पाइयो, अब फेरि र छिट्टै सहमतिहरु पूरा भएको सुन्न पाइयोस्, डा. गोविन्द केसी अनसन बसेको अब कसैले सुन्न नपरोस् । यही कामना ।