पानीट्याङ्की (मोरङ), १९ चैत । यही चैत ११ गते राति बेवारिसे अवस्थामा मृत फेला परेका उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन)को मृत्यु रहस्य बनेपछि प्रहरीले संयुक्त रुपले अनुसन्धान थालेको छ ।
इटहरी उपमहानगरपालिका २६ आँपगाछी चौकनजिकै मृतावस्थामा फेला परेका २७ वर्षीय भट्टराईको मृत्युको कारण एक हप्ता बितिसक्दा पनि खुल्न नसकेपछि प्रहरीले प्रमाण जुटाउन संयुक्त अनुसन्धान थालेको हो ।
उक्त घटनाको इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र पूर्व क्षेत्रीय प्रहरी कार्यालयको विशेष अनुसन्धान समूहले संयुक्त रुपमा अनुसन्धान गरिरहेको पूर्व क्षेत्रीय प्रहरीनायब महानिरीक्षक माधव जोशीले बताउनुभयो ।
प्रहरीले भट्टराईको मृत्युको कारण कर्तव्य ज्यान वा सवारी ज्यानमध्ये एक हुन सक्ने आशङ्कामा अनुसन्धान गरिहेको भए पनि प्रमाण फेला पार्न सकेको छैन ।
प्रहरीले अनुसन्धानका लागि पत्रकार भट्टराईसँगै इटहरी आएका नातामा भान्जा पर्ने उदयपुर त्रियुगा नपा–२ का २६ वर्षीय राजेन्द्र पराजुलीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मृत्युको रहस्य जान्न घटनास्थलको अवलोकन, प्रत्यक्षदर्शीसँग सोधपुछ, ‘कलडिटेल’ अध्ययन गर्नेलगायत अनुसन्धान सूक्ष्म रुपले गरिरहेको बताएको छ ।
घटनाको छानबिन गर्न नेपाल पत्रकार महासङ्घले पनि पूर्वाञ्चल क्षेत्रीय समिति संयोजक गणेश पोखरेलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति पठाएको छ । टाउकाको देबे्र भागमा गहिरो चोट लागेर मृत्यु भएको अवस्थामा भट्टराईको शव बेवारिसे अवस्थामा प्रहरीले चैत ११ गते राति फेला पारेको थियो । उनको शव चैत १५ गते मात्र सनाखत भएको थियो ।
नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाका साधारण सदस्य पत्रकार भट्टराई प्रेस चौतारी नेपाल उदयपुर शाखाका कोषाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले गाईघाटबाट प्रकाशन हुने ‘बरुवा टाइम्स’, विराटनगरको ‘उज्यालोपत्र’ दैनिकलगायत पत्रिकामा समाचार सम्प्रेषण गर्दै आउनुभएको थियो । रासस















प्रतिक्रिया