काठमाडौँ, १९ चैत । एक वर्षदेखि कपन कार्पेट कारखानामा काम गरिरहेका आठ वर्षका एक बालकलाई बढी पैसा पाउने लोभ देखाई चितवन लैजाँदै गरेको अवस्थामा गत शनिबार थानकोट चेकपोष्टबाट प्रहरीले पक्राउ गर्यो ।
राम्ररी पढ्न लेख्नसमेत नआउने ती बालकले महिनाको तीन हजार तलब पाउँछन् । तर त्यो पैसा उनलाई गन्नसमेत आउँदैन । कपनमा काम गर्ने ती बालकलाई चितवनमा त्यहाँभन्दा बढी पैसा दिने र बस्ने खाने व्यवस्थासमेत राम्रो रहेको भन्दै फकाएर लैजान आँटिएको थियो ।
बिहान ४ देखि राति ८ बजे र कहिलेकाहीँ ९ बजेसम्म पनि कार्पेट कारखानामा काममा लगाउने गरेको ती बालकले बताए । खेल्ने उमेरका ती बालकले आफूलाई पढ्न मन नलाग्ने तर खेल्न भने असाध्यै मन लाग्ने बताए । शनिबारको दिन फिल्म हेर्न भनेर ठेकेदारले आफूलाई रु १०० दिने गरेको पनि उनी बताउँछन् ।
उनी जस्तै सोही समूहमा चितवन लैजाँदै गरेको अवस्थामा फेला परेका १० वर्षका अर्का बालकले भने परिवारले नै आफूलाई कारखानामा काम गर्न पठाएको बताए । उनलाई मासिक रु पाँच हजार दिने गरेको भए पनि उनले अहिलेसम्म त्यो पैसा देख्न भने पाएका छैनन् ।
मकवानपुर घर भएका ती बालकले भने, “मलाई पढ्न असाध्यै मन पर्छ तर परिवारमा लाउन खान नै दुःख भएकाले मलाई यहाँ पठाएको हो । म वर्षको एक पटक घर जान्छु फर्कने बेलामा मलाई केही खर्च दिन्छन् । नत्र भने मैले गरेको कमाई मलाई नै थाह हुँदैन ।”
रौतहटका अर्का बालकले भने, “मलाई त आमाले यहाँ पठाउनुभएको हो । छोरो मान्छे सधैँ घर बस्नु हुन्न, कमाउनुपर्छ भन्नुहुन्थ्यो । मेरो दिदीबहिनी पाँच जना छन् म एक्लै छोरो, त्यसैले घर चलाउनका लागि काम गर्न यहाँ आए ।”
मकवानपुरको बोर्डिङमा २ कक्षामा अध्ययन गर्दै गरेका अर्का १२ वर्षीय बालकलाई घुम्न आएका बेला बाबुले कारखानामा काम गर्न छाडेका थिए । दुई महिनाअघि मात्र काम गर्न थालेकाले उनलाई तलबसमेत दिएको छैन् । उनी कपनस्थित कार्पेट कारखानामा काम सिक्दै गरेका छन् ।
रौतहटकी १२ वर्षकी बालिका कार्पेट कारखानामा आएको दुई महिना पुग्दै थियो । काम राम्ररी सिक्न पनि नसकेकी उनी चितवनमा गलैँचा कारखानामा जान तयार भएकी थिइन् । भन्छिन्, “त्यहाँ यहाँभन्दा राम्रो कमाई हुन्छ भनेर साहुले भनेको थियो ।”
विगत छ महिनादेखि कार्यरत अर्की ११ वर्षीया बालिकाले भने अहिलेसम्म तलब नपाएको गुनासो गरिन् । “काम गरेको पैसा दिएकै छैन” उनले भनिन्–“घरमा राम्ररी खान पुग्दैनथ्यो, त्यसैले मीठो खान र पैसा पाइन्छ भनेर नै यहाँ काम गर्न आए ।”
उनीहरुलाई थानकोटबाट उद्धार गरेर प्रहरीले माइती नेपाल पठाइदिएको थियो । माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले भन्नुभयो, “बालश्रम उन्मूलन गर्ने र बालबालिकालाई निःशुल्क शिक्षा दिने भनिए पनि उद्धार गरेर ल्याएपछि उनीहरुको पुनःस्थापनाका लागि कुनै काम हुन सकेको छैन, बालबालिकालाई अलपत्र पार्न पाइँदैन यसमा सरकारको ध्यान जानुपर्छ ।”
उद्धार गरेर माइती नेपाल ल्याइएका आठदेखि १३ वर्ष उमेर समूहका १६ बालबालिकालाई नेपालीसमेत राम्ररी बोल्न आउँदैन ।
हाल उपत्यकाका विभिन्न गलैँचा उद्योग, इँटाभट्टा, होटलजस्ता ठाउँमा थुप्रै सङ्ख्यामा बालश्रमिकहरु काम गर्न बाध्य भएका छन् । काठमाडौँलगायत विभिन्न जिल्लाबाट बालबालिकाको तस्करी हुने गरेको समेत माइती नेपालले जनाएको छ ।
काठमाडाँै उपत्यकामा हाल करिब १८ लाख बालबालिका श्रमिकका रुपमा काम गर्न बाध्य भएको अनुमान गरिएको छ । तर अहिलेसम्म आधिकारिक तथ्याङ्क भने कुनै सरकारी निकायसँग रहेको छैन । रासस















प्रतिक्रिया