काठमाडौं, १८ चैत । नेपाल निर्माण व्यवसायी महासंघले आगामी शुक्रवार राजधानीमा एक भव्य कार्यक्रम गरी विभिन्न ३४ विधामा जगदम्बा स्टिल एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ ।
महासंघले बुधवार अनामनगरस्थित आफनो कार्यालयमा पत्रकार सम्मेलन गरी अवार्ड वितरणका विषयमा जानकारी गराएको हो । महासंघले मुलुकका विकास क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सहित निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने नेपाली निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदाता कम्पनी, उत्कृष्ट कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट निर्माणमैत्री इन्जिनियर लगायतलाई सम्मान गर्ने भएको छ ।
निर्माण व्यवसाय क्षेत्रका विषयमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने दैनिक अखबार, रेडियो, टेलिभिजन र अनलाइन मिडियालाई पनि पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अवार्डका लागि मनोनयनमा परेकाको नामावली कार्यक्रम संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
महासंघ र जगदम्बा स्टिल्स् प्रालिको संयुक्त आयोजनमा हुन गइरहेको अवार्ड वितरणका लागि प्राध्यापक डाक्टर दिपक भट्टराईको संयोजकत्वमा पुरस्कार तथा सम्मान मुल्यांकन समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा आफनो भनाइ राख्दै महासंघका अध्यक्ष शरदकुमार गौचनले विभिन्न वाधा अड्चनकाबीच उत्कृष्ट कार्य गरिरहेका निर्माण व्यवसायीहरुलाई प्रोत्साहित गर्न अवार्ड वितरण कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले व्यवसायीहरुलाई राज्यले सम्मान नगरेको अवस्थामा महासंघले व्यवसायी तथा सरोकारवाला अन्यलाई सम्मान गर्नु उदाहरणीय कार्य भएको धारणा राख्नुभयो ।
महासंघका महासचिव रामशरण देउजा तथा उपमहासचिव विष्णु बुढाथोकीले आगामी दिनमा अवार्ड वितरण कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने जानकारी दिनुभयो । गएका वर्षहरुमा निर्माण दिवस (मंसिर २२) का दिनमा नै अवार्ड वितरण गर्ने गरिए पनि यो वर्ष मंसिर २२ मा महासंघको साधारणसभा आयोजना गरिएकाले चैत्र २० गते अवार्ड वितरण गर्न लागिएको हो ।















प्रतिक्रिया