काठमाडौँ, १८ चैत । ‘किशोरीमाथि सामूहिक बलात्कार’, ‘ससुराद्वारा बुहारी बलात्कृत’, ‘दाजुद्वारा बहिनी बलात्कृत’ जस्ता शीर्षकका समाचारले सधैँजसो समाचारपत्र भरिएका हुन्छन् ।
त्यही विषयवस्तुलाई निर्देशक राम केसीले नाटकमा उतारेर पीडित महिलाको मानसिक अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । महिला तथा बालिकामाथि परिवारकै सदस्यले गर्ने यौन हिंसालाई नाटकले मुख्य मुद्दाका रुपमा उठाएको छ ।
काठमाडौँ मलस्थित थिएटर मलमा मञ्चन भइरहेको ‘सम्बोधी’ ले एउटी महिलाले पटक–पटक भोग्नुपरेको यौन हिंसालाई प्रस्तुत गरेको छ ।
एउटी किशोरी जो भर्खरै किशोरावस्थामा प्रवेश गरेकी हुन्छे ऊ आफ्नै एक वर्षले साना भाइबाट बलात्कृत हुन पुग्छे । परिवारले समाजमा इज्जत जान्छ भनेर त्यस घटनालाई त्यत्तिकै सामसुम पार्छन् ।
केही समयपछि उनको इच्छा नहुँदानहुँदै पनि परिवारले विवाह गरिदिन्छन् । श्रीमान् अत्यन्त माया गर्ने भए पनि उनी कहिल्यै आफूमाथि भएको घटनालाई भुल्न सकेकी हुन्नन् । बाहिरी रुपमा ठिकै भए पनि मानसिक रुपमा सधैँ उनी विक्षिप्त नै बनिरहेकी हुन्छिन् ।
उनको आमाको मृत्यु हुन्छ । त्यस घटनालाई पनि उनले सामान्य नै मानिदिँदा उनका श्रीमान् छक्क पर्छन् । उनीमा केही त समस्या छ भनेर जान्न खोज्ने क्रममा उनी गर्भवती भएको थाह पाउँछन् । श्रीमान् त्यस खबरबाट खुसी भए पनि उनले सन्तान जन्माउन नचाहेको बताउँछिन् । किन भनेर श्रीमान्ले बारम्बार प्रश्न गरेपछि उनले आफू ससुराबाट बलात्कृत भएर त्यो गर्भ बसेको बताउँछन् ।
श्रीमतीको हेरचाह गर्ने क्रममा श्रीमान्ले खानामा विष मिसाएर श्रीमती र आफू पनि खान्छन् । अस्पताल लैजाने क्रममा श्रीमान्को मृत्यु हुन्छ भने श्रीमती मानसिक रोगी बन्छिन् । तर बाहिर सञ्चारमाध्यममा श्रीमतीले नै श्रीमान्को खानामा विष मिसाएर खुवाएको भन्ने समाचार आउँछ । श्रीमतीको मानसिक विक्षिप्ततामै नाटक सकिन्छ ।
निर्देशक केसीले केही समयअघिदेखि बारम्बार सामाजिक सञ्जालमा आइरहेको महिलामाथिको हिंसालाई आधार बनाएर कथाका रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।
हिंसापीडित महिलाको पीडा कस्तो होला भनेर अनुमान लगाउनै सकिन्न तर त्यसकै वरपर घुमेर नाटक प्रस्तुत गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
फागुन २८ गतेदेखि चैत १४ गतेसम्म मात्र मञ्चन गरिने भनिए पनि दर्शकको अत्यधिक चाहनाका कारण नाटक चैत २१ गतेसम्मका लागि प्रदर्शनी गरिनेछ । नाटक हरेक दिन ५ः३० बजे मञ्चन भइरहेको छ । रासस















प्रतिक्रिया