
– विश्वास खड्काथोकी
मुस्ताङ, १८ चैत । मान्छे कहिल्यै पनि पछडि फर्कन चाहँदैन । सधै अगाडि बढ्न खोजिरहेको हुन्छ । तर कतिपय कुराहरु यस्ता हुन्छन्, जुन कुरा तर्फ फर्कँदा आनन्द र रोमाञ्चक लाग्ने गर्छ । मुस्ताङमा पनि यस्ता धेरै पक्ष छन्, जसलाई स्मरण गर्दा मनै रोमाञ्चक भएर आउँछ ।
मुस्ताङमा पहिले विमान आयो अनि गाडी । गाडी पनि गुडेर होइन उँडेर । गाडीलाई पोखराबाट उडाएर ल्याइयो अनि मुस्ताङ गुडाउन थालियो । तर मुस्ताङमा गाडी गुड्नको लागि मोटरबाटो खन्नु परेन कालिगण्डकी नदीको बगर नै काफी बन्यो ।
२०५४ तिर आएको हेलिकप्टरलाई देखेर त्यतिबेला मुस्ताङबासीहरु चकित परेका थिए । किनकी हेलिकप्टरमा एउटा जाली झुण्डिएको थियो र जालीभित्र थियो ट्याक्टर । यो खवरले मुस्ताङबासी मात्र होइन, देशवासी नै अचम्म मानिरहेका थिए । मुस्ताङमा गुड्ने पहिलो साधन बन्यो ट्रयाक्टर । तत्कालिन जिविस सभापति निर्मल गौचनले व्यापारिक प्रयोजनका लागि दुईवटा ट्याक्टर लिएका थिए । मनप्रसाद विश्वकर्माले भने –‘त्यतिवेला मुस्ताङमा मोटरबाटो बनिसकेको थिएन । ट्याक्टर कालीगण्डकीको तिरैतिर जोमसोमबाट कागवेनी, छुसाङसम्मै पुग्थ्यो ।’ छुसाङ पुग्न जोमसोमबाट करिव छ घण्टाको पैदलयात्रा गर्नु पर्दछ । त्यतिवेला ट्रयाक्टरको काम काठ र ढुंगा गिटी बोक्ने मात्र होइन, मानिस ओसारपोसारको समेत भरपर्दो माध्यम बनेको थियो । ‘ट्रयाक्टरमा मान्छे भरिएर बस्ने ठाउँ हुने थिएन’, मनप्रसादले स्मरण गर्छन, ‘ट्रयाक्टरको ड्राइभर छेउ सिटमा बस्ने मान्छेलाई त निकै पहुँचवाला ठानिन्थ्यो ।’ खच्चडमा तेल बोकाएर ल्याइन्थ्यो अनि ट्रयाक्टर गुडाइन्थ्यो । त्यतिवेला एक दिन ट्याक्टर प्रयोग गर्दा सातदेखि १० हजार रुपैयाँसम्म भाडा तिर्नु पर्दथ्यो । डेढ वर्षपछि झुन्ड्याएर ट्रयाक्टर ल्याउने कार्य बढ्न थाल्यो । ‘तीन वर्षपछि त १५ वटा भन्दा बढि ट्रयाक्टर भएका थिए’– मनप्रसाद स्मरण गर्छन् ।

यातायातको अरु साधन नभएपछि हरेक काममा ट्याक्टरनै प्रयोगमा आएको थियो । यतिसम्मकी फिल्म युनिटले पनि ट्याक्टरनै भाडामा लिएर फिल्म सुटिङ गरि फर्कन्थ्यो । ‘सुटिङका लागि कलाकारहरु ट्रयाक्टर माथि नै बसेर हिड्थे’, प्रत्यक्षदर्शी सुकुन रविकले भने, ‘प्लेनमा सुटिङका समान लिएर आउँथे र यहाँ ट्याक्टरमा हिँड्थे ।’
ट्रयाक्टर मात्र होइन ७ वटा जीप पनि हेलिकप्टरमै झुण्ड्याएर ल्याइयो । ०६२ सालतिर यसरी जीप ल्याएपछि मुस्ताङबासीलाई निकै सुविधा भएको थियो । नेपाल आर्मीले जोमसोमदेखि, घाँसासम्मको मोटरबाटो निर्माण गरे पनि म्याग्दी सदरमुकाम बेनी देखि घाँसासम्म सडक नजोडिएको कारण जीप पनि हेलिकप्टरमै ल्याईएको थियो । त्यतिवेला यहाँका नागरिक जोमसोमबाट घाँसासम्म जीपमा जान्थे अनि हिडेर तिप्ल्याङ पुग्थे ।

नेपाल आर्मीले बेनीबाट जोमसोमतिर नभई जोमसोमबाट बेनी तिर बाटो खन्न थाल्यो । द्वन्द्वकालमा बेनीमा बाटो खन्न नसकेपछि सेना जोमसोम उक्लिएको थियो । सेनाले पनि निर्माण सामाग्री त्यसरीनै ल्यायो, जसरी ट्याक्टर, जीप ल्याइएको थियो ।
‘०५५ सालतिर एयरपोर्टको धावन मार्ग कालोपत्रे भएपछि सेनाले आफ्नै हेलिकप्टरमा डोजर स्क्याभेटर, तीनओटा ट्रयाक्टर र एउटा टिप्पर ल्याएर बाटोखन्न शुरु गरेको थियो’, मनप्रसादले खुलाए । त्यसभन्दा पहिले पनि मुस्ताङमा मोटरबाट नखनिएको भने होइन । जिल्लामा ट्याक्टर आएपछि तीनबर्षसम्म निरन्तर प्रतिगाविस पाँच लाखको दरले बजेट विनियोजन गरेर स्थानियले नै कृषि सडक खन्न कस्सिएका थिए । जिल्लामा जसरी सडक र सवारीको विकास भयो त्यो स्मरणीय छ । अव त पक्कै बाटो गुड्न पाउने अवसर पनि मुस्ताङबासीका लागि धेरै टाढा छैन ।













प्रतिक्रिया