२९ आश्विन २०८३, बिहिबार

मैले गरेका घोषणाहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh_Bhattarai

नेकपा (एमाले) केन्द्रीय कार्यालय बल्खुमा आयोजित एक समारोहका बीचमा मंगलबारबाट मैले पार्टीको प्रचार विभागको कार्यभार ग्रहण गरेको छु । पूर्व प्रमुख कमरेड प्रदिप ज्ञवालीले हस्तान्तरण गर्नु भएको समारोहमा उपप्रमुख सूर्य थापाले विगतमा प्रचार विभागबाट भएका कामहरुको संक्षिप्त जानकारी गराउनु भएको थियो ।

यस अघि मैले पार्टीका विभिन्न जिम्मेवारी पुरा गर्दै आएको छु तर प्रचार विभाग मेरा लागि नितान्त नयाँ क्षेत्र हो । यो काममा पनि पूर्ण निष्ठा र सामथ्र्यका साथ क्रियाशील हुने मेरो प्रतिबद्धता छ । र सबै पक्षको साहयोगको अपेक्षा पनि गरेको छु ।

आजको कार्यक्रममा मैले प्रचार विभगका तर्फवाट गरिने कामहरुका सम्बन्धमा केही घोषणा गरेको छु । जुन यस प्रकार छन् ।

१. पार्टीको केन्द्रीय प्रचार विभागले रु ५० हजार राशीको मदन भण्डारी पत्रकारीता पुरस्कार स्थापन गर्ने छ र प्रत्येक बर्षको जेष्ठ ३ गते उक्त पुरस्कार वितरण गरिने छ । यसको कार्यविधि पछि तय गरिने छ ।

२. पार्टीका अग्रज नेताहरु पुष्पलाला, मनमोहन, मदन, सहाना प्रधान लगायतको योगदानलाई चिरस्थायी राख्न मास कमिनिकेसनमा अध्ययन गर्ने विद्यार्थीहरुले गर्ने अनुसन्धान (थेसिस) का लागि आर्थिक सहयोग गरिने छ । कार्यविधि मार्फत यसलाई व्यवस्थित गरिने छ ।

३. पार्टीको राजनीतिक मुखपत्र नवयुगको प्रत्येक अंकमा मातृभाषामा एउटा सामाग्री प्रकाशित गरिने छ भने बर्षमा एक अंक पूर्ण रुपमा मातृभाषा विशेषांकका रुपमा प्रकाशित गरिने छ ।

४. पार्टीको केन्द्रीय कार्यालयमा संचारकर्मीहरुको सुविधाका लागि
स्थायी मिडिया सेन्टर स्थापना गरिने छ ।

५. हाल १४ हजार ग्राहक रहेको पार्टीको मुखपत्र नबयुगको आगामी २ बर्षभित्रमा ५० हजार र ५ बर्षभित्रमा १ लाख ग्राहक बनाइने छ ।

६. पार्टीको कुनै पनि निर्वाचन क्षेत्रीय कमिटीले कूल संगठित सदस्यको ५० प्रतिशत र कुनै पनि जनसंगठनले २ हजार नबयुगको ग्राहक बनाए भने ती कमिटी र संगठनलाई पार्टीको महाधिवेशनमा थप प्रतिनिधिको व्यवस्था सहितको नियमावली बनाउन केन्द्रीय कमिटीमा प्रस्ताव प्रस्तुत गरिने छ ।

७. पार्टीको कुनै पनि तहको अधिवेशनमा कुनै सदस्यले कुनै पनि पदमा चुन्न र चुनिनका लागि नबयुगको ग्राहक अनिवार्य हुनु पर्ने मापदण्ड लागु गरिने छ ।

८. पार्टीको केन्द्रीय प्रचार विभाग र नबयुगको कामलाई पूर्णरुपमा आत्मानिर्भर बनाईने छ ।

विभागको बार्षिक कार्ययोजना मार्फत थप नीति तथा योजनाहरु बनाईने छ ।

यी प्रस्तावमा सूझाब र टिप्पणीको अपेक्षा गर्दछु ।