३ कार्तिक २०८३, मंगलबार

सम्बन्धनका लागि दबाब दिइएको छैन : एमाले सचिव ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gyawaliकाठमाडौँ, १७ चैत । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले मेडिकल कलेजको सम्बन्धन दिलाउन आफ्नो पार्टीले कुनै दबाब नदिएको बताउनुभएको छ ।

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरणका लागि आज पार्टी कार्यालय, बल्खुमा आयोजित कार्यक्रममा सचिव ज्ञवालीले आफ्नो पार्टी शिक्षा र स्वास्थ्यमा जनताको नैसर्गिक हक स्थापित हुनुपर्छ भन्ने मान्यतामा रहेकाले सम्बन्धनका सन्दर्भमा एमालेलाई ‘अनावश्यक’ रूपमा मुछिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “एमाले शिक्षा मन्त्रालयको जिम्मेवारीमा पनि छैन र सम्बन्धनका लागि सरकारलाई कुनै दबाब दिन पनि चाहँदैन ।”

अर्काे सन्दर्भमा उहाँले संविधान निर्माणको कार्य अघि बढ्नुपर्ने समयमा आन्दोलनको कुरा गरेर एमाओवादीले मुलुकलाई मुठभेडतर्फ लान खोजेको आरोप लगाउँदै प्रश्न गर्नुभयो, “सो पार्टीका लागि संविधानसभा प्रयोग गर र फाल (युज एण्ड थ्रो) भएको त होइन ?”

विगत पाँच वर्षदेखि सो विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका नेता ज्ञवालीले हत्या–हिंसामा विश्वास नगर्ने पार्टीका लागि विचारको प्रतिस्पर्धा र प्रचार कार्य सहज नहुने भएपनि यसलाई व्यवस्थित गर्न विभागले भूमिका खेल्दै आएको बताउनुभयो ।

विभागको प्रमुखको नयाँ जिम्मेवारी सम्हाल्दै एमालेका सचिव योगेश भट्टराईले प्रचार कार्यलाई पार्टीको विचार र सङ्गठनसँग जोड्नुपर्ने भन्दै केन्द्रीय कार्यालयमा अलग्गै सञ्चार केन्द्र स्थापना, ‘नवयुग’ पत्रिका ग्राहक विस्तार, मदन भण्डारी पत्रकारिता पुरस्कार स्थापना, मातृभाषाको प्रोत्साहनलगायत कार्ययोजना प्रस्तुत गर्नुभयो ।

उहाँले मुलुकमा देखिएको अतिवाद र साम्प्रदायिकताविरूद्ध लड्न पार्टीको आन्तरिक एकता सबल हुनुपर्ने र अन्य वाम पार्टीलाई जनताको बहुदलीय जनवादको विचारधाराका आधारमा एकीकृत गर्नुपर्ने बताउनुभयो ।

एमालेको यही चैत ११ गतेको स्थायी कमिटीको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गरेको थियो । रासस