ललितपुर, १७ चैत । बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा आर्थिक वर्ष २०६७÷२०६८ देखि २०७१÷७२ सम्ममा ६३ वटा जबर्जस्ती करणीका घटना घटेको बताउँदै पीडित हुनेमा सबैभन्दा बढी ४१ जना स्कुले विद्यार्थी रहेको बताउनुभयो ।
उपरीक्षक रञ्जितका अनुसार समय परिवर्तनसँगै अभिभावकले आफ्ना बालबालिकालाई निगरानी नगर्दा विद्यार्थीमाथि हुने गरेका जबर्जस्ती करणीका घटना हुने गरेका हुन् ।
प्रहरीको तध्याङ्कअनुसार घटनाको अध्ययन गर्दा सबैभन्दा बढी ४१ जना विद्यार्थी, १३ जना गृहिणी, नोकरी गर्ने पाँच जना र ज्यामी काम गर्ने चार जना बलात्कारको सिकार भएका छन् । आर्थिक वर्षको आधारमा सबैभन्दा बढी २०६९/७० मा ११ जना विद्यार्थी बलात्कारको सिकार भएको उल्लेख छ ।
तथ्याङ्कमा उमेर समूहको आधारमा सबैभन्दा बढी पीडित १० देखि माथि १४ वर्षमुनिका रहेका छन् भने पीडक १८ देखि २५ वर्ष उमेर समूहका रहेको उल्लेख छ ।
ललितपुर प्रहरीका अनुसार घटना नियन्त्रणका लागि अभिभावक, स्थानीय निकाय, प्रहरी प्रशासन र बालबालिका पनि सचेत रहनु आवश्यक छ । रासस















प्रतिक्रिया