तपाईंहरु आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध किन खनिनु भएको ?
रौतहट जिल्लामा लामो समयदेखि पार्टीभित्र विवाद चलिरहेको छ, त्यसको मुख्य खलनायकको रुपमा प्रभु साह एकातिरबाट डिलिङ गरिरहेका छन् । अर्कोतिर हामी छौँ । सम्मेलनबाट निर्वाचित जिल्ला अध्यक्षलाई अनावश्यक रुपमा निश्कासन गरेको सूचना बाहिर आएपछि त्यसलाई खण्डन गर्नका लागि सत्यतथ्य कुरा बाहिर ल्याउन हामीले पत्रकार सम्मेलन गरेका हौँ ।
उहाँमाथि हत्या आरोप लगाएको कुरा पनि आयो नि ?
पार्टी भित्रका एउटा टिमको नेतृत्व हामी गर्छौँ, त्यसमध्येका सत्यनारायण भगत लगायतका चार–पाँच जना पात्रहरुलाई उसले टार्गेट गरेर अपराधिक गिरोह परिचालन गरेको छ, हामीलाई हत्या गर्नका लागि । जुन कुरा पार्टी अध्यक्षसँग आधिकारिक रुपमा पार्टी अध्यक्षलाई जानकारी गराइसकेका छौँ ।
पार्टी अध्यक्षलाई हत्या गर्न लागिएको कुरा चाँहि अलि विषयान्तर भएर आयो। त्यसमा मलाई दुःख लागेको छ । बाबुराम र प्रचण्डलाई जोडेर समाचार आएको छ, त्यो मनोगत हो ।
तपाईंमाथि कस्ता अपराधिक गिरोह लगाइएको छ त ?
अपाराधिक गिरोहको कुनै संस्थागत प्रमाणपत्र हुँदैन ।
प्रमाण नभई आरोप लगाउन पाइन्छ त ?
अपराधिक गिरोहको न कुनै प्रमाणपत्र हुन्छ, न कँही दर्ता भएको हुन्छ, जो अपराधिक कार्य गर्छ, त्यसैलाई अपराधिक गिरोह भनिन्छ । जसलाई परिचालन गरेको हो प्रभु साहले, गिरोहमा सहभागी पात्रको विस्तृत प्रमाणसहित कृष्णबहादुर महराको उपस्थितिमा अध्यक्ष प्रचण्डलाई हामीले यो उजुरी दर्ता गराइसकेका छौँ ।
यो गिरोह चाँहि भारतीय हो कि नेपाली ?
नेपाली नै छन्, उनीहरुलाई यस्तै–यस्तै कार्य गर्नका लागि हमेसा प्रयोग गर्छन् । ५/७ जनाको टिम राखेको छ ।
हिन्दू संघका अध्यक्ष काशी तिवारीको हत्या आरोप पनि प्रभु साहलाई लगाउनु भएछ नि ?
पत्रकार सम्मेलनमा यो कुरा उठेको हो । काशी तिवारीको मुद्दा एक हिसाबले अन्त्य भइसकेको छ, हत्या गरेको भए–नभएको अदालतले सफाइ दिइसकेपछि अब के विषय बनाइराख्ने !
प्रभु साहमाथि तपाईंहरुका आरोप के–के हुन त ?
गौर हत्याकाण्ड प्रभु साहको अगुवाइमा भएको घटना हो । यसको मुख्य खलनायक भनेको प्रभु साह हो । फोरम नेपालले आयोजना गरेको कार्यक्रमको ठीक आमनेसामने गएर त्यसरी कार्यक्रम गरेर कार्यकर्तालाई भिडाउने काम भयो र त्यहीँनिरबाट त्यस्तो अवस्था बन्न गयो ।
हामीले स्पष्ट के भनेका छौँ – हाम्रो पार्टीको नेतृत्वमा संचालित आन्दोलनलाई भाँड्ने काममा लागेको, भृकुटीमण्डपको विस्तारित बैठकमा नवआलोक प्रवृत्तिको रुपमा संलेषण गरिएको, २७ जनाको ज्यान जाने गरी २०६३ चैत ७ गते भएको गौर हत्याकाण्डका मुख्य योजनाकार, सरकारी कार्यालयको इन्धन र मेशिनको प्रयोग गरी सरकारी बजेटको हिनामिना गरेको, अहिले पनि पार्टी भित्र र बाहिरका आफ्ना बिपक्षीलाई हत्या गर्ने योजना बनाएकाले तुरुन्त नियन्त्रणमा राख्नुपर्ने र भुमिसुधार मन्त्री भएको बेला बाराको गठहलको जमीनको हदबन्दी फुकुवा गरेबापत करोडौँ घुस लिई पार्टीको बदनाम गराएकाले कमरेड प्रभु साहलाई छिटोभन्दा छिटो केन्द्रीय समितिबाट निष्कासन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिबाट तुरुन्त फिर्ता बोलाउन पार्टी केन्द्रीय कार्यालयसँग जोडदार माग गरेका छौँ । पार्टी केन्द्रले हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा रौतहट जिल्ला पार्टी एवं जनताले कारबाही गर्ने दिशामा अगाडि बढ्न जानकारी समेत केन्द्रलाई गराउने निर्णय गरेका छौँ ।













प्रतिक्रिया