३ कार्तिक २०८३, मंगलबार

रेडक्रसको केन्द्रीय महाधिवेशन धनगढीमा आयोजना हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

redcrossधनगढी, १६ चैत । नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय महाधिवेशन धनगढीमा हुने भएको छ । यही चैत २८ देखि ३० गतेसम्म नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको आतिथ्यतामा महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनमा विभिन्न जिल्लाका दुई सय ७५ जना प्रतिनिधि सहित करिब साढे चार सयको सहभागिता रहने नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । कैलाली शाखाले महाधिवेशन व्यवस्थापनको जिम्मा समेत पाएको छ ।

महाधिवेशनमा गृह, स्वास्थ्य, परराष्ट्र, समाज कल्याण लगायत नेपाल सरकारका पाँच वटा मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरुको समेत सहभागिता रहने कैलाली शाखाका सभापति उत्तम जोशीले जानकारी दिए ।

redcross1उनले भने-‘हामीले एतिहासिक रुपमा महाधिवेशनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छौं । यो हाम्रो लागि अवसर र चुनौती दुबै हो ।’ हरेक जिल्लाबाट यहाँ प्रतिनिधिहरुको समेत जमघट हुने भएकाले अधिवेशनबाट यहाँको पर्यटन प्रबद्र्धनमा टेवा समेत पुग्ने सभापति जोशीले विश्वास व्यक्त गरे । उनले जिल्लाको पाँच ठाउँमा स्वागत गेट निर्माण गर्ने समेत जानकारी दिएका छन् ।

महाधिवेशन स्वागत समितिका संयोजक समेत रहेका नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिका उपाध्यक्ष हेमराज ओझाले रेडक्रसको चुनावी महाधिवेशन धनगढीमा पहिलो पटक हुन गइरहेको बताए । कैलालीमा २०२७ सालमा रेडक्रस स्थापना भएपनि यसअघि केन्द्रिय चुनावी महाधिवेशन यहाँ भएको थिएन ।

‘यहाँ पहिलो पटक चुनावी महाधिवेशन हुन लागेको हो’, ओझाले भने–‘त्यसैले यो महाधिवेशन हाम्रो लागि ऐतिहासिक छ ।’ उनले निर्वाचनबाट एक अध्यक्ष सहित २२ जना सदस्य चयन हुने जानकारी दिए ।

निर्वाचित सदस्यहरु मध्येबाट नै पाँच जना उपाध्यक्ष, महामन्त्री लगायतका पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।
धनगढीको ओम प्यालेसमा हुने महाधिवेशनका लागि सम्पूर्ण तयारीहरु तीव्र रुपमा भइरहेको तयारी तथा व्यवस्थापन स्थानीय सचिवालयका संयोजक लोकराज जोशीले जानकारी दिए । उनले पाहुना आवासका लागि समेत व्यवस्था मिलाई सकेको जानकारी दिएका छन् ।

महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १७ वटा समितिहरु गठन गरिएको छ । उत्तम जोशीको संयोजकत्वमा महाधिवेशन मूल समारोह समिति, लोकराज जोशीको संयोजकत्वमा तयारी तथा व्यवस्थापन स्थानीय सचिवालय समिति, रतन कठायतको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै, खेमराज जोशीको संयोजकत्वमा भोजन व्यवस्थापन, हेमराज ओझाको संयोजकत्वमा स्वागत, इन्दिरा जैशीको संयोजकत्वमा उपहार व्यवस्थापन, जीवन रानाको संयोजकत्वमा स्वयम सेवक व्यवस्थापन समिति गठन भएका छन् ।

यसैगरी, जगदीश्वर पण्डितको संयोजकत्वमा यातायात व्यवस्थापन, मेघ प्रसाद शर्माको संयोजकत्वमा शान्ति पदयात्रा, बल बहादुर रावलको संयोजकत्वमा मञ्च व्यवस्थापन, खगेन्द्रराज जोशीको संयोजकत्वमा आर्थिक तथा स्रोत व्यवस्थापन, बासुदेव बिनाडीको संयोजकत्वमा अनुगमन समिति गठन भएका छन् ।

गठित अन्य समितिमा शिव प्रसाद ढकालको संयोजकत्वमा सांस्कृति, भीमबहादुर महरको संयोजकत्वमा रंगरोगन, मोतिप्रसाद उपाध्यायको संयोजकत्वमा स्वास्थ्य सेवा, प्रमोद उप्रेतीको संयोजकत्वमा प्रचार प्रसार र राकेश हमालको संयोजकत्वमा सुरक्षा प्रबन्ध समिति रहेका छन् ।