काठमाडौं, १६ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ ।
सोमबार बिहान ८ बजे शिक्षण अस्पताल पुगेका प्रचण्डले केसीको मागमा आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताउनुभयो । उहाँले केसीको माग जायज भएकाले प्रधानमन्त्रीसँग छिट्टै भेटेर कुराकारी गर्ने बताउनुभयो । यस विषयमा यसअघि पनि प्रधानमन्त्रीसँग कुरा गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो नआत्तिनुस्, तपाईंको साथमा हामी छौँ
अध्यक्ष प्रचण्डले जायज माग सम्बोधन नगरे यसको परिणाम गम्भीर हुने बताउनुभयो । प्रधानमन्त्री सुशील कोइरालालाई यो समस्या समाधान नगरी बाहिर नजान आफूले आग्रह गर्ने उहाँले बताउनुभयो ।
प्रचण्डले केहीबेर डा केसीसँग भलाकुसारी गर्दै स्वास्थ्य स्थितिका बारेमा जिज्ञासा राख्नुभएको थियो । स्वास्थ्य क्षेत्रमा हुँदै आएको राजनीतिक भागबण्डाको विरुद्धमा आफूले अनशन थालेको भन्दै डा. केसीले जनताको मौलिक अधिकार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
जबाफमा प्रचण्डले बिचलित नबन्न डा. केसीलाई आग्रह पनि गर्नुभयो ।
















प्रतिक्रिया