खोटाङ, १५ चैत । जिल्लामा तीन महिनाको अवधिमा पाँच बालिका यौन दुव्र्यवहारको सिकार भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत जनवरी १ देखि मार्च ३० सम्मको अवधिमा जिल्लाका तीन बालिका बलात्कृत भएको र दुई जनामाथि बलात्कारको प्रयास भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेकको त्रैमासिक पूर्व समीक्षा कार्यक्रमका अवसरमा इन्सेक प्रतिनिधि डिएम चामलिङले यस अवधिमा बालिकाबाहेक एक महिलासमेत बलात्कारमा परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “पछिल्लो तीन महिनामा बलात्कारका घटना बढेको देखिएको छ, यसमा पनि नाबालिका यसको सिकार बनाइएको पाइएको छ ।”
तीन महिनाको अवधिमा चार महिला घरेलु हिंसामा परेका छन् भने तीन महिलाका श्रीमान्ले बहुविवाह गरेका छन् ।
यस्तै, यो अवधिमा दुई वटा गैरन्यायिक हत्या भएको पनि चामलिङले जानकारी दिनुभयो । इन्सेकले आयोजना गरिएको कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबु यादवले महिला र बालबालिकामाथि भएका ज्यादतीका घटनाका दोषीलाई हदै सम्मको कारबाही भइरहेको जानकारी दिनुभएको थियो । रासस















प्रतिक्रिया