
– सन्दिप भट्ट
चितवन, १५ चैत । चितवनको नारायणगढस्थित लायन्सचोकमा ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको छ । केन्द्रीय कार्यक्रम अनुरुप मोर्चाले लायन्चोकदेखि पुलचोकसम्म निकाल्न लागेको लाठ्ठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
प्रदर्शनकारी र प्रहरीविच झडप हुदा ओमनाथ पाण्डे, विष्णुहरी तिमिल्सेना, इश्वरी भट्टराई, तलुबहादुर तामाङ, विर वहादुर महर्जन, मन बहादुर तामाङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
घाइतेहरुको टाउको हात खुट्टामा सामान्य चोट लागेको छ । यस्तै एमाओवादी चितवनका अध्यक्ष यम बहादुर परियार, केन्दिय परिषद सदस्य ठाकुर ढकाल, महिला संगठन प्रमुख संगिता भट्टराई लगायतका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रर्दशनकारीले आफ्ना नेता तथा कार्यकर्ता समातेको भन्दै आक्रोशित भएपछि विभिन्न सवारी साधनमा समेत तोडफोड गरेका छन् । सो क्रममा ना १ ह ९९४ नम्बरको टेम्पोको अगाडीको सिसा फुटाएका छन् ।
यस्तै बा ८ च २३०१ तथा ग १ च ३७२४ नम्बरको कारको सिसा फुटेको छ । प्रर्दशनकारीले नेपाल एसबिआई बैंक लिमिटेडको नारायणगढ तथा सिद्धार्थ डेबलोमेन्ट बैंकको सिसा फुटेको छ ।
यस्तै रुची सपिङ सेन्टर, ए टु जेट मोबाईल हाउसको सिसा फुटेको छ प्रर्दशनकारीले प्रहार गरेको ढुङ्गा प्रहारवाट ना २ ख ६५२८ नम्बरको ट्रकको पनि अगाडीको सिसा फुटेको छ ।
लाठ्ठीसहित नाराबाजी गर्दै जुलुस पुल्चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठ्ठी वर्षाएको हो । प्रहरीको लाठ्ठी चार्जपछि प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगाा प्रहार समेत गरेको थियो ।
पूर्वघोषित कार्यक्रम अनुसार जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत नारायणगढमा नारावाजी सहित निस्कदै गरेको जुलसलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज गरेको हो ।
केहिबेर लायन्चोक, शहिदचोक, पुल्चोक क्षेत्र तनावग्रस्त समेत बन्न पुगेको थियो । प्रर्दशनकारीले सरकारविरुद्ध नारावाजी गर्दै लाठी जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले अवस्था सामान्यतर्फ आएको छ भने विस्तारै सवारीका साधन चल्न थालेका छन् ।





















प्रतिक्रिया