रुकुम, १४ चैत । माओवादी कार्यकर्ताद्वारा तेजाव छर्केर दुवै आँखाको ज्योति गुमाउन विवस रुकुम खोलागाउँ–९ का गोपालप्रसाद शर्मा यतिबेला श्रीमती विष्णुको सहारामा आँखाको उपचारार्थ कहिले काठमाकाठमाडौं त कहिले नेपालगन्ज र रुकुम गर्दैमा दिन बिताइरहनुभएको छ ।
विसं २०५५ मा फरक आस्था राखेको भन्दै गोपालप्रसादलाई गाउँकै माओवादी कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए । माओवादीले उनका दुवै आँखामा तेजाव छर्कंदा आँखाका ज्योति गुमेको श्रीमती विष्णुले बताउनुभयो ।
घरमा रहेका नाबालक छोराछोरीको हेरचाह गर्ने उमेरमा पतिको हेरचाह गर्नुपर्ने अवस्था आएको गहभरी आँसु झार्दै उहाँले भन्नुभयो । ५४ वर्षीय गोपालप्रसाद पूर्णरुपमा आँखा देख्नुहुन्न ।
विसं २०५५ पुस महिनाको एक साँझ खाना खाएर सुत्ने तयारी गरिरहेका शर्मालाई बास पाइन्छ की भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएको घटना सम्झँदा उहाँलाई अहिले पनि सपनाजस्तो लाग्दछ ।
शर्मा भागेर बाँच्न त सफल हुनुभयो । त्यतिले पनि नपुगेर माओवादी कार्यकर्ताले उहाँको परिवारलाई गाउँ निकाला गरी कब्जा गरेको घर जग्गासमेत अहिलेसम्म पनि फिर्ता नगरेको उहाँले सुनाउनुभयो ।
नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्ष बन्नुभएका शर्मा अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला प्राप्त उपचार खर्चबाहेक राज्यबाट अन्य कुनै सहयोग नपाएको उहाँको दुखेसो छ ।
शर्मा भन्नुहुन्छ- “विगतमा त जे भयो भयो अब सबैले उचित राहत, न्याय र परिपूरण पाउने बेला हामी आफ्नो घर गृहस्थी आफैं कमाउन पाए हुन्थ्यो ।”
घाइते पतिको बैशाखी बनेर हिँड्न विवस विष्णुलाई पतिको उपचार र घरजग्गा फिर्ताको सम्बन्धमा जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला भने मुखदर्शक बनेको उहाँले गुनासो गर्नुभयो ।
तेह्र वर्षसम्म उपचारको खोजीमा भौतारिँदा पनि उपचार नपाएकामा भने शर्मा निकै खिन्न हुनुहुन्छ । रासस















प्रतिक्रिया