२८ आश्विन २०८३, बुधबार

संस्करण: सेना र माओवादीको दोहोरो आक्रमणमा पर्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna Adhikari

एक्कासी ड्याङ–ड्याङ, डुङडुङको आवाज आएपछि भागाभाग सुरुभयो । सेनाले हेलिकोप्टरबाट गोली बर्साउन थाल्यो, म हतारहतार बिद्यालय कोठा भित्र छिरें । भित्ताको आड लिएर थचक्क भुईंमा बसे । स्कुले केटाकेटीको हुल पनि रुदै चिच्चाउदै कक्षाकोठामा पस्यो । बृद्धबृद्धाहरू पनि ‘हे भगवान भन्दै’ कोठामा पसे । क्षणभरमै कोठा खचाखच भरियो । केहीबेरपछि फेरि ड्याम डुडुमको आवाज आयो । भिडियो क्यामरा हातमै थियो । तर, कोठा भन्दा बाहिर निस्केर त्यहाँको अवस्थालाई क्यामरामा रेकर्ड गर्ने सक्ने आँट आएन । मेरा सहकर्मी फोटो पत्रकार शैलेन्द खरेल र तोरु (जापानी पत्रकार) कहाँ कुन अबस्थामा होलान भन्ने चिन्ताले मलाई सताई रह्यो । दोस्रोपटक ड्याङ–ड्याङ, डुङडुङको आवाज आएको पाँच मिनेटपछि जे त होला भनेर म कोठाबाट बाहिर निस्कनै लागेको थिएँ । तर, कोठामा मेरो नजिकै बसेकी एक जना बृद्धा आमाले रोक्दै भनिन– ‘नानी गोलीले पत्रकार भन्दैन, बाहिर नजाऊ ।’ करिब ५० बर्षीया ती बुढी आमाको आग्रहलाई स्वीकार्दै मैले बाहिर ननिस्किनै ढोकाको प्वालबाट बाहिर चिहाएँ । बाहिर सुनसान थियो । केहिबेरपछि बाहिर स्कूलको मैदानमा एक/दुई जना मानिस देखिए । बल्ल म बाहिर निस्कें ।

जे त होला भनेर म कोठाबाट बाहिर निस्कनै लागेको थिएँ । तर, कोठामा नजिकै बसेकी एकजना बृद्धा आमाले रोक्दै भनिन– ‘नानी गोलीले पत्रकार भन्दैन, बाहिर नजाऊ ।’

हेलिकोप्टर दुईपटक गोली बर्साएर आकाशतिर गएको थियो । फेरी पनि आउँछ कि भन्ने त्रास थियो । सेनाले बर्साएको गोलीको खोका बिद्यालयको मैदानमै भेटियो । गोलीको खोका देखाउदै माओवादी कार्यकर्ता म तिर आए । धन्य, शैलेन्द्र र तोरु पनि सकुशल नै रहेछन । उनीहरू पनि मलाई देखेपछि जीवन वरदान मिलेजस्तो गर्दै थिए । केहिबेर मै हामी पत्रकारको धर्म निभाउदै गोलीको फोटो खिच्न थाल्यौं । हामी फोटो खिच्नमै व्यस्त भएका बेला हतारहतारमा एकजना माओवादी कार्यकर्ता आएर भने– ‘तपाईहरूको गाडीमा गोली लागेको छ ।’ हामी हुइकिंदै गाडी पार्क भएको होटेल नजिकैको सडकमा पुग्यौं । गाडीचालक रामकाजी ‘पत्रकारबन्धुहरू अब आफ्नै गाडीको फोटो खिच्नुस’ भनेर हामीलाई व्यङ्य गर्दै थिए । गाडीमा खासै ठूलो क्षति भने भएको रहेनछ । गोलीबाट गाडी पार्क गरिएको सडक नजिकैको होटेलमा पनि क्षति पुगेको थियो । हामीले गाडी र होटेलको पालैपालो गरेर फोटो खिच्यौं । माओवादी कार्यक्रमलाई निशाना गरेर हेलिकोप्टरबाट सेनाले गोली बर्षाए पनि भाग्यबश कसैलाई गोली लागेन । दौडधुपमा केहीलाई सामान्य चोटपटक लाग्यो, कसैलाई पनि गम्भीर चोट नगागेको थाहा पाउँदा हामीले सन्तोषको सास फेरेका थियौं ।

जनयुद्धको उदगमस्थल रोल्पाको नुवागाउँस्थित बिद्यालयको आगनबाट फेरी माइकको चर्काे आवाज आयो — ‘आदरणीय जनसुमदाय १ हाम्रा जनमुक्ति सेनाले शाही सेनाको आक्रमणको प्रयासलाई बिफल तुल्याई दिए । अब केहीबेरमै हामी जनसभालाई संचालन गर्दैछौं । तपाईहरू कार्यक्रमस्थलमा आई दिनुहोस । माइकबाट प्रसारित सन्देश सुनेर शैलेन्द्रजी र म मुखामुख गर्‍यौ । तर, कुनै प्रतिक्रिया व्यक्त गरेनौं । माओवादी कलाकारले गितार बजाउँदै गीत गाए अनि भाषण सुरु भयो । एकजना जिल्ला तहका नेताले भाषण गर्दै भने– ‘शाही ज्ञानेका जल्लादहरूहरू अब तिम्रा दिनहरू धेरै छैनन ।’ कार्यकर्ताहरूले ताली बजाए । हामी भने अलि टाढैबाट कार्यक्रम हेर्दै हेलिकोप्टरबाट कसरी आक्रमण भयो भन्ने बिषयमा आपसमा छलफल गर्दै थियौं । त्यति नै बेला एकजना स्थानीय बासिन्दाले भने – ‘पहिले हेलिकोप्टरले धेरैमाथिबाट दुई/तीन चक्कर लगायो । त्यसपछि माथिबाटै नघुमिकन सिधै अलि तल झर्‍यो र केहीबेर गोली बर्सायो अनि सिधै माथी गयो । यसैगरेर दुईपटकसम्म गोली बर्साउदै जादै गर्‍यो त्यसपछि भने फर्किएन ।’ धेरै प्रत्यक्षदर्शीको भनाई उनको भनाईसित मिल्दोजुल्दो थियो ।
माओवादी कार्यकर्ताहरूले सेनाले हेलिकोप्टरबाट आक्रमण गर्‍यो भने त्यसको प्रतिरोध गर्नका लागि भनेर रोल्पा रुकुमका अधिकाश गाउँमा बङ्गर बनाएका रहेछन । कार्यक्रमस्थल अर्थात अरनिको माविको आँगनमा पनि बङ्कर थियो तर आक्रमणका बेला कुनै माओवादी कार्यकर्ताले बङ्कर प्रयोग गरेनन । बङ्कर नाम मात्रैको थियो, त्यसैले त्यसको प्रयोग नभएको बताउँदै थिए, माओवादी कार्यकर्ता ।

रोल्पाको नुवागाउँ, तिला, घर्तीगाउँ हुँदै थवाङ मेरा लागि परिचित थियो । संकटकाल सुरु भएदेखि मैले त्यस क्षेत्रमा पाँचपटक स्थलगत रिपोर्टिङ गरेको थिएँ ।

जनयुद्ध सुरु भएको एकबर्षपछि नेपालगन्जबाट मुलधारको पत्रकारिता सुरु गरेर माओवादी आक्रमण र सुरक्षा कारबाहीका सयौं घटनाको रिपोटिङ गरेपनि आफै हवाई आक्रमणमा परेको यो नै मेरो पहिलो अनुभव थियो ।

२०६२ चैतको दोस्रो साता फोटो पत्रकार शैलेन्द्र र जापानीज फोटो पत्रकार तोरुसँगै म माओवादी जनयुद्धको उदगमस्थल रोल्पाको भ्रमणमा थिएँ । मुलुकमा संकटकाल भएपनि रोल्पाको नुवागाउँ माओवादी नियन्त्रणमा थियो । हामी नुवागाउँ पुग्दा माओवादीका लडाकुहरू कम्ब्याटमा हतियार भिरेर सडक–सडक किनारका पसल अगाडि रमाउँदै क्यारेमबोर्ड खेल्दै थिए । करिब १ सय ५० जना माओवादी लडाकू नुवागाउँ वरपरका गाउँमा डेरा जमाएर बसेका थिए ।

चैत ११ गते रोल्पाको नुवागाउँ पुग्दा स्थानीय अरनिको माध्यमिक बिद्यायलयको आगनमा माओवादीको जन सभा चलिरहेको थियो । पार्टीले सुरू गरेको ‘शुद्धिकरण अभियान’ को जानकारी गराउन जनसभा गरिएपनि माओवादी नेताहरूले तत्कालिन राजा ज्ञानेन्द्र र उनका सहयोगीबिरुद्ध निक्कै आक्रमक भाषण गरिरहेका थिए । शैलेन्द्र र तोरु फोटो खिच्न व्यस्त थिए । म कार्यक्रमको भिडियो खिचिरहेको थिएँ । कार्यक्रममा स–साना स्कूले नानीहरू र बृद्धबृद्धाहरू धेरै थिए । एक घरबाट, एक सदस्य अनिवार्य रुपमा कार्यक्रममा सहभागी हुनुपर्ने माओवादी उर्दीका कारण बृद्ध, बृद्धाहरू घन्टौं हिडेर बिद्यालय आगनमा आएका थिए ।

कार्यक्रम सुरु हुनुभन्दा आधाघन्टा पहिले नै आकाशमा सेनोको हेलिकोप्टरले निगरानी गरिरहेको रहेछ । तर, माइकको चर्काे आवाजले अधिकांश सहभागीले हेलिकोप्टरको पत्तै पाएनन ।

हवाई आक्रमणको भोलिपल्ट हामी दाङको घोराही हुँदै नेपालगन्ज फर्किने तयारीमा थियौ । बाटोमा झन्डै आधादर्जन सेनाका चेकपोष्ट थिए । चेकपोष्टमा ‘गाडीको सिसा कसरी फुट्यो भनेर सेनाले सोध्यो भने के भन्ने’ भनेर हामी त्रसित थियौं, गाडी चालकले चेकपोष्टमा मैले कुरा मिलाउछु भनेपछि मैले अलि हल्का महसुस गरेको थिएँ जे त होला भन्दै घोराहीस्थित सेनाको चेकपोष्टमा पुग्यौं । हतियार बोकेका सैनिक जवान चेकजाँचका लागि हाम्रो गाडी भएतिर आए, अगाडिको सिटमा बसेका जापानी फोटो पत्रकार तोरुलाई देखेपछि खै किन हो उनले कुनैप्रश्न गरेनन । गाडीलाई एक फन्को लगाएर फर्किए । हाम्रो पहिलो चेकजाँच सहज रुपमा पूरा भएपछि हामी निकै उत्साहित भयौ । घोराहीबजारमा होलीको रमझम थियो । हामी होलीको रमाईलो गर्दै सजिलै फर्कियौं नेपालगन्ज ।

कान्तिपुर पव्लिकेशनको ‘नेपाल’मा मेरो रिपोर्ट छापियो । त्यसको दुईदिनपछि मध्यपश्चिम पृतनाबाट फोन आयो ‘तपाईलाई जरसाबले भेटखोज्नु भा’छ ।’

दीपकबिक्रम पाण्डे थिए, पृतनापति । हामी उनको कार्यकक्षमा पुग्यौं तर उनको व्यबहारमा खासै फरक थिएन । चिया/कफी के खाने ? भन्दै कुरा सुरू गरे । नुवागाउँको कार्यक्रम र हेलिकोप्टर आक्रमणका विषयमा जिज्ञाशा राखे । ‘मलाई फोन गरेर हामी रोल्पा जादैं छौं है भनी खबर दिएको भएपनि हुन्थ्यो नि’ भने । मैले जवाफ दिदै भने ‘हतारमा रोल्पा जाने कार्यक्रम बन्यो । अफिस भन्दा बाहिरका कसैलाई भनिएन ।’ मेरो जवाफ नसकिंदै उनले भने ‘सेनाको हेलिकोप्टर आक्रमणमा तपाईहरू परेको भए के हुन्थ्यो ? हामी मौन भयौं । यतिनै बेला मलाई नुवागाउकी ती बुढी आमाले भनेको कुरा याद आयो ‘गोलीले त पत्रकार भन्दैन नि नानी !’

(लेखक नेपालगञ्जका पत्रकार हुन् ।