२९ आश्विन २०८३, बिहिबार

यसकारण प्रेमिकालाई तपाईं भन्छु म

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip-Bhatta

‘भाईबैनी हो, आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ अनि आफूभन्दा सानालाई माया गर्नुपर्छ है !’ कक्षा ४ मा पढ्दा दिलमाया मिसले पढाएको यो कुराले मलाई आजसम्म पनि मलाई प्रभाव पारेको छ । दिलमाया मिस बरु आफैले जीवनमा यो कुरा लागू गर्नुहुन्छ कि हुन्न, त्यो त मलाई थाहा छैन तर मेरो जिवनको अंक गणितमा यो सुत्र प्रयोग गर्ने गरेको छु । मलाई सानैमा छाप पारकाले पनि हुनसक्छ, आफूभन्दा ठूला मानिसलाई आदर गर्न थालेको । तिमीमा जति आत्मियपन हुन्छ नि त्यो तपाईँमा हुँदैन भन्ने जान्दाजान्दै पनि दिलमाया मिसको प्रभावले आज मैले आफूभन्दा ठूलालाई आदर गर्न थालेको ।

दिलमाया मिसको प्रभावले गर्दा नै आज मैले धेरै माया गर्ने प्रेमिकालाई पनि तपाईँ भन्न थालेको छु । हो तपाईँ भन्न । मलाई थाहा छ, तिमीमा जति आत्मियपनि र आफ्नोपन तपाईँमा हुन्न भन्ने । र, पनि तपाईं भन्दै शिर निउराउन बाहेक मैले अरु केही गर्न सक्दिन्, उनलाई । ‘गलफ्रेण्डलाई पनि तपाईँ भन्छस्, थुक्क मुला,’ साथी दिपेन्द्रले मलाई होच्याएर भनेको बुझ्दाबुझ्दै पनि म भित्रको आदर्श उसलाई पोख्न चाहन्न । फेरी उसलाई पनि त्यस्ता कुराले चित्त नबुझ्ला ।

मैले धेरै माया गर्ने प्रेमिकालाई तपाईँ भन्न थालेको छु । मलाई थाहा छ, तिमीमा जति आत्मियपन र आफ्नोपन तपाईँमा हुन्न भन्ने । र, पनि तपाईं भन्दै शिर निउराउन बाहेक मैले अरु केही गर्न सक्दिन्, उनलाई । ‘गलफ्रेण्डलाई पनि तपाईँ भन्छस्, थुक्क मुला,’ साथी दिपेन्द्रले मलाई होच्याएर भनेको बुझ्दाबुझ्दै पनि म भित्रको आदर्श उसलाई पोख्न चाहन्न ।

‘तपाईँ नभन्नुस न मलाई बरु तँ भन्दापनि हुन्छ’ उनले यसो भन्दा मैले शिर निउराएर अनि के भनुँ त ‘मैसायप’ भनेको याद आउँछ मलाई । मैले जे भनेर सम्बोधन गरेपनि ममा ठूलो भ्रम छ भन्ने थाहा छ मलाई ।

उनलाई मैले भन्न नसकेको कुरा के हो भने साहित्यकार कृष्ण धरावासीले आफ्नो श्रीमतीलाई तपाईँ भन्छन् । म दुनियाँ भन्दा फरक खालको प्रेम गर्छु उनलाई । त्यसैले पनि होला, फरक खालको सम्वन्ध छ हामीबीच, बढो अजीबको ।
आफूले हेर्ने गरेको ऐना भित्रको आकाशलाई आफ्नो संसार ठान्ने म बुबुरोलाई के थाहा संसारको क्षेत्रफल ? सायद त्यही मेरो ऐना भित्रको साँघुरो परिधिमा भेटिएकी उनले भने संसारमा रहेका ६ अर्बभन्दा बढी मानिसको कल्पनामा आफ्नो कल्पनाको राजालाई खौज्दै थिइन् होला । उनले कल्पना गरेको मानिस म नभएपनि मेरो लक्ष्य भने उनी हुन् ।

दिलमाया मिसलाई हिजो सोध्न नसकेको कुरा आज भने सोध्न मन लागेको छ । ‘आफूभन्दा ठूलो मानिसलाई आफ्नो मनभित्र राख्न पाइन्छ कि पाइन्न कि भनेर ?’

दिलमाया मिसले भनेको कुरामा लाग्ने म, त्यतिबेला नै ‘आफूभन्दा ठूलो मानिसलाई मनमा राख्न हुँदैन भाईबैनी हो’ भनिदिएको भए, आज मेरो सपनाको भग्नावशेष खरानीहरुमा खोजिरहनु पर्दैन थियो होला ।

आफ्नो श्रीमान गुमाएर आँशुमा तैरिरहेकी स्वेता खड्कासँग केही साताअघि अन्तर्वार्ता लिने क्रममा बरिष्ठ पत्रकार सुमन खरेलले स्वेतालाई तिमी भनेर सम्वोदन गरे । उनले आफ्नो ३० बर्षे पत्रकारितामा पहिलोपटक यसकारण तिमी भने स्वेतालाई भनेर भन्दा यसो भनेका थिए–‘म उनीवाट धेरैकुरा लिन चाहन्थेँ तर तपाईँ भन्दा सवै कुरा नआउने सम्झिएँ र तिमी भनेँ।’

तर मैले आफ्नो स्वार्थको लागि उनलाई तिमी भन्न सक्दिन । म उनलाई केही समयको लागि भन्दा पनि सदासदाको लागि चाहन्छु ।

‘मेरो खुसी उनलाई हँसाउने र उनको दुख म लिन चाहन्छु ।’ कारण म उनलाई प्रेम गर्छु, आफूलाई भन्दा बढी माया गर्छु, म उनलाई सधैं खुसी देख्न चाहन्छु ।
सरुभक्तको उपन्यास पागलबस्तीमा एक ठाउँमा यसो भनिएको छ— ‘पहिले त एउटाले नै हो प्रेम गर्ने, अर्कोले त हुन्छ या हुँदैन भन्ने मात्रै हो ।’ हो त्यही पागलबस्तीवाट पाठ नसिकी उनको निर्णयबिना रमाउने भुल गरेको थिएँ । हुन त खुकुरीको काम भनेको प्रहार मात्रै गरिरहने नै हो, उसलाई अचानोको पीडासँग प्रवाह हुँदैन ।

‘अव मसँग गुमाउन बाँकी श्वास बाहेक केही छैन, तर प्राप्त गर्न भने सिंगो संसार छ’ उनी यो संसारमा नभएको भए त्यो पनि यतिधेरै प्यारो नलाग्न सक्थ्यो तर उनको खुसीमा रमाउने म कहिले कुनै वहानामा रमाउँछु त कहिले कुनै बहानामा ।

कतिपय सम्बन्धहरु यस्ता हुँदा रहेछन् जुन टाढा भएर पनि टाढा भएजस्तै । सूर्य जस्तै, अनि चन्द्रमा जस्तै । भन्नेहरु त तिनीहरुलाई पनि टाढा नै भन्लान् तर महसुस गर्नेहरु भने कहिल्यै त्यस्तो भन्दैनन् । छेउमै भएको अनुभुति गरिरहन्छन् सँधै । जीन्दगीको यात्रामा कुनै सम्बन्ध निक्कै नै प्रिय लाग्दोरहेछ हामीलाई । किन किन विस्तारै विस्तारै मनको निकै नै नजिक बनिसकेको हुँदोेरहेछ त्यो त्यस्तै खालको सम्वन्ध बन्यो मेरो पनि ।

नेपाली गायन क्षेत्रमा स्वर सम्राटको उपाधि पाएका नारायण गोपालले पे्रममा धोका नपाएको भए हामीले स्वरसम्राट पादैनथ्यौं होला । उनी पीडित बने अनि पीडामै गाए– ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा….’

हिजोआज उनि मेरो आँखा हुँदै बग्न थालेकी छिन्, म आफुलाई सम्हाल्न खोज्छु तर उनीसँग विताएका पलहरुले बाटो छेक्छन् अगाडि बढ्नै नदिने गरी अनि म सम्झन्छु, दाउन्नेदेवीको अगाडि म उनीसँगै हात जोड्दै भनेको थिएँ– ‘प्रभु तपाईंको अगाडि उभिएको यो जोडीलाई कसैको शक्तिले पनि टाढा नबनाओस् है !‘