– रबिना बोहरा
बागलुङ, १४ चैत । आगमी चैत २८ गते हुने गईरहेको संविधानसभा उपनिर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार मनकुमारी केसीले आफूहरु निर्वाचन आचारसंहिता अनुसार नै निर्वाचनको प्रचार प्रसारमा लागेको बताउनुभएको छ ।
बागलुङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केसीले नेकपा एमाले अनुशाषित पार्टी भएकाले आचार संहिता विपरित हुने कुनैपनि काम नगर्न कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
नेकपा एमालेप्रति जनताको अपेक्षा, आकर्षण, आस्था बढ्दै गएपछि विपक्षीहरुले एमालेको बदनाम गराउन खोजेको भन्दै यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
चैतेदशैंका अवसरमा शुभकामना दिदै उम्मेदवार केसीले संविधान निर्माण, विकासको गतिलाई अगाडि बढाउन र जनताका हक अधिकार संरक्षणका लागि एमालेलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
आफूले जिल्लाको विकासका लागि स्पष्ट खाका तयार पारेको उल्लेख गर्दै केसीले राज्यबाट प्राप्त हुने सेवा सुविधालाई कुना कन्दरामासम्म पुग्ने वातावरण मिलाउन आफ्नो विजयी आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिका, मालिका कलष्टरका इन्चार्ज जनक पौडेलले जनताको आवाज बोल्ने पार्टी एमाले भएकाले पनि एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
एमालेले विकासको नेतृत्व लिदा धेरै काम सफल भएको उल्लेख गर्दै पौडेलले अबको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर एकमा एमालेलाई नेतृत्व दिन सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली र जिल्ला विकास समिति बागलुङका पुर्व उपसभापति मोहनलाल शर्माले एमालेको उम्मेदवार मनकुमारी केसी विकासप्रेमी महिला नेतृ भएकाले उहांलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एमालेका युवा नेता डाक्टर सूर्य पाठक, पुर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य लिला राना, जिल्ला कमिटि सदस्य अञ्जु जिसी, केन्द्रीय प्रचार विभागका पुर्व सदस्य हरिनारायण गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल, महिला संघ क्षेत्र नम्बर एकका अध्यक्ष लक्ष्मी बोहरा लगायतले बोल्नुभएको थियो । यसैबीच, नेकपा एमालेका उम्मेदवार मनकुमारी केसी सहितको टोलीले बागलुङ बजारदेखि कालिका भगवती मन्दिर परिसरसम्म घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध ऐतिहासिक मेलाको रुपमा चैत्राष्टमी मेला भर्न आउनेहरुलाई शुभकामना दिदै उम्मेदवार मनकुमारी केसीले जनभेटघाट कार्यक्रम सम्पन्न गरेको उपनिर्वाचन प्रचार प्रसार समितिले जनाएको छ ।
प्रचार प्रसार समितिका अनुसार सम्पर्क कार्यालबाट शुरु भएको र्याली सहितको टोलीले धौलागिरिचोक, लोकतान्त्रिक चोक, हल्लनचोक, पुरानो जिविस चोकदेखि रुद्रेपिपल हुंदै कालिका भगवती मन्दिरसम्म पुगेको थियो ।
मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार मनकुमारी केसीले महिला मुक्तिका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।
हिन्दु धर्मावलम्बीहरुले मान्ने अधिकांश देवी देवताहरु महिलाहरुनै भएको उल्लेख गर्दै केसीले महिलाको सशक्तिकरणका लागि क्रियाशिल महिला नेतृलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यसैबीच उम्मेदवार मनकुमारी केसी सहितको टोलीले बानपा-११ रमेटार तथा मुस्लिम बस्तीमा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले नेकपा एमालेले समावेशीताको सिद्दान्त अगाडि सारेको उल्लेख गर्दै सबै जात, जाती, भाषा, भाषी र धर्मसंस्कृतिको संरक्षणमा एमालेले अहोरात्र खटिरहने बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य ध्रुववबहादुर केसी, आर्थिक विभाग प्रमुख केवी राना मगर, जिल्ला सदस्य अञ्जु जिसी लगायतले बोल्नुभएको थियो ।















प्रतिक्रिया