– गणेश पाण्डे
काठमाडौँ, १३ चैत । नेपालका चर्चित अर्थविद् डा. डिल्लीराज खनाल अन्ततः एमाओवादी छाडेर शनिबार नेकपा एमाले फर्कनुहुने भएको छ ।
छ बर्षअघि एमाओवादीमा प्रवेश गर्नुभएका खनाल शनिबार विशेष कार्यक्रमका बीच एमालेमा फर्कन लाग्नुभएको हो ।
प्रवेश गर्नेमा एमाओवादीका पूर्व लडाकूका बिग्रेडियर समेत
उहाँको स्वागतका लागि नेकपा एमालेले शनिबार १ बजे पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम राखेको छ । खनालसँगै उहाँले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्च नेकपा एमालेमा विलय हुने भएको छ ।
पहिलो चरणमा मञ्चमा रहेका २ सय भन्दा बढी एमालेमा प्रवेश गर्न लागेको डा. खनालले दैनिक नेपाललाई जानकारी दिनुभयो । ‘अहिले हाम्रा २० वटा जिल्लामा सञ्जाल छन्, त्यसमध्ये काठमाडौँमा उपलब्ध २ सय भन्दा बढी शनिबार एमालेमा प्रवेश गर्छौँ ।’ खनालले भन्नुभयो । प्रवेश गर्नेमा एमाओवादीका पूर्व लडाकूका बिग्रेडियर समेत रहेको उहाँले जानकारी दिनुभयो ।
एमाओवादीमा ठूलै आश्वासनका साथ लगिए पनि धोका दिएको भन्दै उहाँ विगत एकबर्षदेखि निस्क्रिय हुँदै आउनुभएको थियो । खासगरि, गतबर्ष विराटनगरमा भएको एमाओवादीको राष्ट्रिय सम्मेलनपछि डा. खनाल एमाओवादीमा निस्क्रिय हुनुभएको थियो । त्यसलगत्तै उहाँले गएको भदौ २१ गते एमाओवादीभित्र एमालेको जनताको बहुदलीय जनवादलाई मान्नेहरुको विचार समूह बनाएर राष्ट्रिय प्रगतिशील एकता मञ्च खडा गर्नुभएको थियो । त्यतिबेला मञ्चको राष्ट्रिय सम्मेलनका लागि १ सय १ सदस्यीय आयोजक कमिटी बनाइएको थियो । मञ्चका अहिले २० जिल्लामा सञ्जाल छन् । यी सबै क्रमशः एमालेमा प्रवेश गर्ने सहमति भएको डा. खनालले जानकारी दिनुभयो । खनालसँगै निस्क्रिय बनेका एमालेका तत्कालिन केन्द्रीय सदस्य जितवीर लामा पनि केही दिनमै एमाले फर्कने तयारीमा हुनुहुन्छ । उहाँ पनि डा. खनालकै टिममा हुनुहुन्छ ।
नेकपा एमालेको अर्थ विभागमा लामो समय काम गरेका खनाल पूर्व सांसद एवं योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ । नेकपा एमालेमा रहँदा उहाँलाई भावी अर्थमन्त्रीका रुपमा प्रशंसा गरिन्थ्यो ।
मञ्चले कुनै पनि पार्टीको नीति, विचार, त्यसको कार्यनीति कार्यदिशा आम रुपमा पार्टीको संगठन र संगठान्तमक कार्यशैली ठीक भयो भने । कुनै एउटा अवस्थामा भ्रम दिन सक्यो भने वाम आन्दोलनको नेतृत्व दिन सक्दैन ।
‘मनोगत हिसाबले हाम्रा असन्तुष्टि थिए, एमाओवादी कहिल्यै पनि प्रक्रिया र पद्दति चल्न सकेन । दक्षिणपन्थी र उग्रवामपन्थले प्रकारान्तमा विसर्जनवादलाई टेवा पु¥याउँदो रहेछ ।,’ खनालसँगै शनिबार एमाले प्रवेश गर्न लागेका एक नेताले दैनिक नेपालसँग भने, ‘जनताको बहुदलीय जनवादबाटै नै नेपालको वामआन्दोलनको नेतृत्व गर्न सकिन्छ । माक्र्सवाद, लेलिनवाद र जबजको परिपक्व विचार, कार्यनीति र कार्यदिशाका हिसाबले जसरी एमाले अगाडि बढिरहेको छ, त्यसैको अगुवाई र नेतृत्वबाट बाम आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । त्यसैले एमालेमा समाहित हुने निष्कर्ष निकाल्यौँ ।’
डा खनालसहितको टिम एमालेमा प्रवेश गर्ने तयारीमा रहेको समाचार दुई साताअघि मात्रै दैनिक नेपालले सार्वजनिक गरेको थियो ।
यो पनि पढ्नुस: को- को फर्कँदैछन् एमालेमा ?
















प्रतिक्रिया