– सुशिल नेपाल
पाल्पा १३ चैत । नेपाली लोक संस्कृति झल्किने नौमती बाजा यतिबेला जिल्लामा लोप हुने खतरा बढेको छ । आधुनिकतासंगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेहरुको पेशालाई संरक्षण गर्न नसक्दा अहिले यो बाजा लोप हुँने अवस्थामा पुगेको हो ।
दुई दमाहा, दुई टयांकुलो, कर्नाल, सनाई, धंकुरि, झयालिसंगै राखेर बाजाहरु मिलाएर १०/११ जनाको समुहले बजाउने बाजाहरु विगतको जस्तो अहिले बिरलै देख्न र सुन्न पाइन्छ ।
नौमती बाजा लोप हुँदै जाँदा बाजा संरक्षणमा कसैले पहल नगरेको बाजा बजाउनेहरुले गुनासो गरेका छन् । केहीबर्ष अघिसम्म विवाह लगायत अन्य कार्यक्रम हुँदा नौमती बाजाको तालमा नाच्ने गाउँने गर्दा गाँउनै रमाइलो हुने गर्दथ्यो ।
विगतमा कुनै शुभ साइत नै किन नहोस नौमति बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुँने खतरा बढेको गुनासो गर्छन तानसेनका पुराना कलाकार ब्रहमशेखर बज्राचार्य ।
उनी भन्छन-‘आजभोली हुँने कार्यक्रममा असभ्य र उरन्ठाउला गीत संगितका साथै हिन्दी गीत संगितमा उत्ताउलो पाराले नाच्ने गाउँने काम हुँने गरेको छ ।’ नौमती बाजा लोप हुँदै जाँदा यि बाजा बजाउनेहरु अन्य पेशालाई अँगाल्न थालेका छन् ।
आधुनिक जिवनशैलीसँगै बाजाको तालमा छमछमी नाचिने नौमती बाजा अहिलेका विभिन्न गीत संगितले गर्दा विस्थापित हुँदै गइरहेको पालुङमैनादिका स्थानिय गोबिन्द रणपालले बताए ।
रणपालका अनुसार आफना बाबुबाजेले गर्दै आएको पेशा आफुपनि अँगाल्न खोजेको तर आफु पछिका सन्तानहरुले अँगाल्न नखोज्दा यसको महत्व घटदै गई लोप हुँने अवस्थामा पुगेको उनले बताए ।
पछिल्लो समयमा पाल्पा, गुल्मी, अर्घाखाँची र आसपासका क्षेत्रमा यो लोप हुँदै गइरहेको छ । यदी यसको संरक्षणमा ध्यान नदिए यो हराउने अवस्था नआउला भन्न सकिन्न् ।















प्रतिक्रिया