एमालेको कार्यविभाजनमा तपाईंहरुको किन असन्तुष्टि ?
कार्यविभाजनको प्रस्ताव स्थायी समितिमा महासचिवले पेश गर्नुभयो । त्यसमा कतिपय टिप्पणी र प्रश्न उठे । छलफल भए । खासगरि, १८१ जनाको केन्द्रीय कमिटीमा आफैमा निकै ठूलो छ । सबै साथीहरु एक सय एक छन् र चुनिएर आएका छन् । उनीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण पार्टीले सिर्जना गर्नुपर्छ । कसैले पनि पार्टीले मलाई हेप्यो, पेल्यो वा किनारा लगाउन खोज्यो भन्ने अनुभुति नहोस् भन्ने हाम्रो भनाइ हो ।
नेकपा एमाले कहिल्यै पनि एउटा व्यक्तिको निर्देशनबाट चल्दैन, विधिबाट चल्छ। विधिबाट चलाउन खोजिएन भने एमाले दुर्घटना हुन्छ ।
व्यक्तिगत रुपमा मलाई कोही मानिस मनपर्छ, पर्दैन भन्ने स्वभाविक छ । तर, पार्टीको नेतृत्वले जहिले पनि काम गर्दा एउटा मापदण्ड र विधिको आधारमा गर्नुपर्छ । नेकपा एमाले कहिल्यै पनि एउटा व्यक्तिको निर्देशनबाट चल्दैन, विधिबाट चल्छ । विधिबाट चलाउन खोजिएन भने एमाले दुर्घटना हुन्छ । त्यसैले विधि, प्रक्रिया र पद्दतिबाट एमाले चल्नुपर्छ । अहिले भएको कार्यविभाजनले पार्टीको एकतालाई बलियो बनाउँदैन । र, एमाले अहिले जसरी संविधान निर्माणका निम्ति विभिन्न शक्तिहरुसँग लडिरहेको छ, त्यो लडाईंमा यो कार्यविभाजनले बल पुर्याउँदैन । अहिले नेकपा एमालेलाई कमजोर बनाउने प्रयत्न भइरहेको हुँदा पार्टीको बृहत्तर हितमा र आजको सन्दर्भमा मुलुकको हितमा पनि हुने गरी कार्यविभाजन प्रस्तुत र संशोधन होस् भनेर हामीले भनेका हौँ ।
जो विगतमा लागेका थिए, ती शक्तिहरु एमालेलाई विभाजित बनाउन लागेका छन् ।
एमालेलाई कमजोर पार्ने प्रयत्न कस्ले गरिरहेको छ ?
खासगरि गएको संविधानसभा निर्वाचन र त्यसपछि नेकपा एमालेको लोकप्रियताको ग्राफ उकालो लागेको छ । यसले संविधान निर्माणमा जुन एजेण्डा र अडानहरु राखेको छ, त्यसले पनि नेकपा एमालेलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय हिसाबले एउटा विश्वासिलो र स्थिर राजनीतिक शक्तिका रुपमा स्थापित गरेको छ । देशभित्र र बाहिरका कतिपय शक्तिहरु यो लोकप्रियता देख्न चाहन्नन् । र, उनीहरुले नेकपा एमालेभित्र किचलो होस् भन्ने खोजिरहेका छन् । त्यसो हुँदा नेकपा एमालेमा फेरि अर्को एउटा दुर्घटना गराउन सकिन्छ कि भन्ने प्वालहरु खोजेका छन् । जसरी हामी एकपटक विभाजित भयौँ, त्यसले नेकपा एमालेलाई मात्रै विभाजित गरेन, सिंगो मुलुकको राष्ट्रिय राजनीतिलाई नै गलत बाटोमा धकेल्यो । र, नेपालको वाम आन्दोलनमा उग्रवादी र अतिवादीको जन्म भयो । यहाँको राजनीतिमा जातीवाद, क्षेत्रियतावाद र साप्रदायिकतावादले मौलाउने मौका पायो । अपराधिक गतिविधिहरु मौलाए । यी सबै कुराले गर्दा नेकपा एमालेको विभाजनले मुलुक सही ठाउँमा गएन ।
त्यसो हुनाले फेरि एकपटक नेकपा एमाले राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने तागतसहित उपस्थित हुँदैछ र अहिले पनि फेरि एमालेलाई कमजोर बनाउन तिनै तत्वहरु र मानिसहरु जो विगतमा लागेका थिए, ती शक्तिहरु एमालेलाई विभाजित बनाउन लागेका छन् ।
यो षडयन्त्र नेताहरुले बुझेका छैनन् त ?
बुझेका छन्, तर नेताहरु परिबन्दमा छन् । र, के परिबन्दमा छन् हामीले बुझेका छैनौँ ।
त्यसो भए एमाले फुट्छ त ?
त्यस्तो वातावरण बनाउन खोजिँदैछ । तर, नेकपा एमालेको सिंगो पंक्ति तलदेखि माथिसम्म हिजोको फुट, विभाजन र एकताबाट धेरै परिपक्व बनेर आएको छ । हिजो जुन जोस नेकपा एमालेमा थियो । आज जोससँगसँगै नेकपा एमालेभित्रै प्रशस्तै होस पनि हामीले बटुलिसकेका छौँ । त्यसैले जोस र होसको सन्तुलनले एमालेलाई विभाजित गर्न खोज्ने प्रवृृत्तिलाई हामी परास्त गर्छौँ ।
भातृ संगठनको विवादले फुटको अवस्था ल्याएको हो ?
पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने जुन पद्दति हामीले अपनायौँ, त्यसले देशभरी आफ्नो पक्षमा गुटबन्दी गर्न प्रेरित गर्छ । म अध्यक्ष हुन चाहन्छु भनेपछि देशभरिका मानिस मैरै सम्पर्कमा राख्नुपर्छ नत्र म अध्यक्ष हुन सक्दिन । त्यसले अन्तत्वगत्वा एउटा गुट निर्माण गर्दछ । आठौँ महाधिवेशनमा त्यही भयो, नवौँमा अझ अगाडि बढेर प्यानल बनाएर चुनाव लड्यौँ । त्यो इतिहासकै सबैभन्दा गलत निर्णय थियो नेकपा एमाले भित्र, जुन हामीले अभ्यास गर्यौँ ।
नवौँ महाधिवेशनका प्रभावहरु पार्टीभित्र छन् । त्यसको प्रभाव जनसंगठनमा छ । अनि त्यसको प्रभाव मातहतका कमिटीमा छन् । जिल्लाहरुको अधिवेशनमा पनि दुई–तीनवटा समूह भएर लडिनै रहेका छन् । र, त्यो समूहहरुलाई पार्टीको माथिल्लो तहबाट संरक्षण गर्ने, प्रोत्साहन गर्ने आदि इत्यादि भइनै रहेको छ । त्यो हुनाले अब जनसंगठनमा देखिएको समस्या पनि युवा संघ, अखिल, किसानमा होस अथवा मजदुरमा यो अलग अलग ढंगले देखिएकै होइन्, समष्टिगत रुपमा देखिएको हो । यो नेकपा एमाले भित्र देखिएको समस्या हो । र, पहिलोकुरा त मुहान सफा गरेपछि त्यो भन्दा तल बग्ने पानी स्वतः सफा हुन्छ । तल सफा गरेर मुहान सफा गरिएन भने तल धमिलो हुन्छ–हुन्छ । त्यसकारण हामीले पार्टीमा पटकपटक अध्यक्षलाई पनि भनिरहेका छौँ– नेकपा एमालेलाई एकताबद्ध गर्नका लागि निम्ति आजको परिस्थितिमा जुन सम्भावना छ, त्यो सम्भावनाका आधारमा पार्टीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्न यी आधारहरु बलियो बनाउँ, यो पार्टी तपाईंको नेतृत्वमा अगाडि बढ्ने हो, नवौँ महाधिवेशनले त्यो प्रष्ट पारेको छ । तर, तपाईंले पनि हिजोका मानसिकताहरु त्याग्नुपर्छ । हिजोका मानसिकतालाई कायम राखेर पार्टीको नेतृत्व हुन सक्दैन भनेर अध्यक्षलाई हामीले पटकपटक भनेका छौँ ।
अब मेरो अध्यक्ष नेल्शन मन्डेलाजस्तै भइदिएको भए म कति खुसी हुन्थेँ होला । सायद त्यो दिन मैले केही नपाए पनि सडकमा धेरै उफ्रिन्थेँ होला ।
त्यसो भए तपाईं अध्यक्षकै दोष देख्नुहुन्छ ?
त्यो पनि भन्दिन म । मानिस हो, समय लाग्छ । हामी आशावादी छौँ । अध्यक्ष कमरेडसँग पनि विकल्प छैन । समयले उहाँलाई जुन जिम्मेवारी दिएको छ, जुन मौका उहाँले पाउनुभएको छ, मैले त उहाँलाई बैठकमा पनि भनेँ– तपाईंलाई इतिहासले एउटा मौका दिएको छ, मौका नछुटाउनुस् । नेताहरुले मौका बुझ्नुपर्छ । र, एउटा नेताका निम्ति सँधै मौका आउँदैन् । र, मैले उहाँलाई उदाहरण दिएर पनि भनेँ । नेपालको इतिहासमा पञ्चायतकालमा राजा महेन्द्रले, गिरिजाप्रसादले २०४८ सालमा र पछि प्रचण्डले जुन मौका पाएका थिए, त्यो मौकाको सदुपयोग गर्न नसक्दा उनीहरु पनि कमजोर भएर मुलुकलाई पनि सिध्याए । नेल्शन मन्डेलासँग मौका आएको थियो, उनले सही सदुपयोग गरेर अगाडि आए । त्यसैले मैले अध्यक्षलाई भनेको छु, तपाईंलाई यो मौका आएको छ । यो मौकालाई सही सदुपयोग गर्नुस् ।
उहाँले त्यो मौका छोप्नुहोला ?
हैन, अब मेरो अध्यक्ष नेल्शन मन्डेलाजस्तै भइदिएको भए म कति खुसी हुन्थेँ होला । सायद त्यो दिन मैले केही नपाए पनि सडकमा धेरै उफ्रिन्थेँ होला । यदि मेरो अध्यक्षले त्यो भूमिका निर्वाह गर्ने भए ।
तर, म आशावादी छु । उहाँको पार्टीमा सक्रिय हुने समय, उहाँको उमेर, स्वास्थ्य, चाहना, आकांक्षा र उहाँको महत्वाकाँक्षा सबैले गर्दा पार्टीलाई मिलाएर लान सक्दामात्र उहाँले यी सबै कुराहरु प्राप्त गर्न सक्नुहुन्छ ।
युवा संघले त नेता माधव नेपाललाई कारबाही गर्न माग गरेको छ नि ।
त्यो बचपन कुरा हो । त्यस्तो कुरामा हाम्रो स्तरबाट टिप्पणी गर्नु उचित हुँदैन ।
कहिले टुंगिन्छ युवा संघको विवाद ?
पार्टी नेतृत्वले जति छिटो टुंग्याउन चाहन्छ या कोसिस गर्छ, त्यति छिटो टुंगिन्छ ।
सामाजिक सञ्जालमा त दोहोरी नै चलेको छ नि ?
दुर्भाग्य हो । सकेसम्म हाम्रो आन्तरिक समस्यालाई पार्टीभित्र नै हल गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । तर, आज यो पनि होइन् कि पार्टी भनेको कुनै बन्द समाजभित्र भएको चीज होइन् । यो खुल्ला समाजमा छ । आजको खुल्ला समाजमा मिडियामा छन्, सामाजिक सञ्जाल पनि छन् । यी सबैले पार्टीले हेरिरहेका छन् । र, पार्टीभित्रका अन्तरकुन्तरहरु आउँदै आउँदैन्, आउनै हुन्न भन्ने कुरा पनि होइन् । तर, त्यो आउनु भन्दा पहिले हामीले हल गर्नुपर्छ ।
पार्टी भित्रको विवादले नवप्रवेशीहरुलाई त निराश बनायो नि ?
आजका पार्टीहरुमा एमालेबाहेक अरु पार्टीहरु उभिने सैद्धान्तिक, बैचारिक जग कमजोर छ ।
तसर्थ आजका समकालिन दलहरुमध्ये सबैभन्दा उत्कृष्ट दल नेकपा एमाले नै हो । जोसँग विशाल कार्यकर्ताको पंक्ति छ र त्यो कार्यकर्ता कुनै अयोग्य छैन् । र, हरेक कार्यकर्ता आफैमा उभिन सक्ने स्वावलम्बी कार्यकर्ताको रुपमा आएको छ । यो पार्टी सबैभन्दा बढी आमजनतासँग संगठनात्मक जालोबाट जोडिएको छ । सामाजिक संघसंस्थामा नेकपा एमाले सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित छ । र, आजको मध्यमवर्गीय समाजभित्र जसले समाजमा विचारहरु निर्माण गर्छ, त्यो मध्यमवर्गको सबैभन्दा बढी भरोसायोग्य शक्ति नेकपा एमाले हो । जब मध्यमवर्ग बलियो ढंगले कुनै पार्टीमा लाग्छ, तब त्यो भन्दा तल्लो वर्ग पनि त्यसलाई पछ्याउँछ–पछ्याउँछ । त्यसकारण आज तल्लो वर्गले पनि एमालेलाई नै पछ्याउँछ । त्यसैले हरेक हिसाबले सम्भावना र भविष्य भएको पार्टी नेकपा एमाले हो । मेरो निवेदन छ कि यो कुरा पार्टीका शीर्ष नेताहरुले राम्रोसँग बुझिदिउन ।
शीर्ष नेताकै कारण समस्या हो त ?
यसले हाम्रो पार्टीको नेतृत्वमा आन्तरिक समस्यालाई हल तथा व्यवस्थापन गर्ने कार्यकुशला र क्षमतामा कमी छ भन्ने देखिन्छ । तर यद्यपि आजका चलिरहेका पार्टीहरुमध्ये आन्तरिक समस्याहरुलाई पनि सही ढंगले व्यवस्थित गर्न कोसिस गर्ने, लोकतान्त्रिक पद्दतिलाई स्थापित गर्ने पार्टीहरुमा तुलनात्मक रुपमा बढी नेकपा एमाले नै हो । तर, त्यति हुँदाहुँदै पनि मैले पार्टीको एउटा सचिवको नाताले पार्टीको सबै अन्तरकुन्तर बुझ्दा म यसमा सन्तुष्टि किन छैन भने यो भन्दा ज्यादै राम्रो ढंगले पनि पार्टीको व्यवस्थापन गर्न सकिन्छ, यदि नेतृत्वले चाह्यो भने ।
समस्या युवा नेताहरुमै छ भन्ने आरोप छ नि !
नेताहरुको गाडीले उडाएको धुवाँ र धुलोले कुहिरोमण्डलभित्र हामी युवाहरु पनि फसिरहेका छौँ ।
त्यसो भए गुटबन्दी कहिले रोकिएला ?
म गुटबन्दी अन्त्य हुनुपर्छ पनि भन्दिन्, लुकाएर किन कुरा गर्ने ? गुटहरु हुन्छन् पार्टीमा । मान्छेको चेतना हुँदासम्म र मानव सभ्यता हुँदासम्म पार्टी भित्र गुटहरु हुन्छन् । तर, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । गुटहरु बदलिन्छन् । तपाईंले हेर्नुभयो भने पाँचौ महाधिवेशनमा भएका गुटका सम्बन्धहरु छैटौँमा आउँदा बदलिएका छन्, छैटौँका सातौँमा बदलिएका छन् । सातौँका आठौँमा र आठौँका नवौँमा पुग्दा गुटहरु बदलिएका छन् । र, दशौँमा पुग्दा गुटबन्दीहरु धेरै नै बदलिनेवाला छन् । त्यसकारण मुख्य कुरा यी गुटहरुलाई पनि विचारधारात्मक जगमा उभिएर कसरी व्यवस्थित गर्ने भन्ने हो । अनि वैचारिक कामहरु गरेर गुटहरुलाई सही काममा लगाए हुन्छ नि । गुटहरु आज खराब काममा छन् । त्यसकारण मेरो भनाइ के हो भने गुटहरुको व्यवस्थापन गर्नुपर्छ ।
प्रसंग थोरै बदलौँ, तपाईंको गृहजिल्ला ताप्लेजुङमा आगलागीबाट ठूलो विपत्ति आइपरेको छ, ताप्लेजुङवासीलाई के भन्न चाहनुहुन्छ ?
आगलागीको समाचार आउने बित्तिकै मैले गृहमन्त्री, सचिव, स्थानीय निकायका अधिकारीलाई सम्पर्क गरेँ, जे जति हामीसँग स्रोत साधन छ त्यसलाई प्रयोग गरेर क्षति रोक्नुस भनेर भनेको थिएँ । दुर्भाग्यबश, जिल्लामा एउटा पनि दमकल थिएन् । जसले गर्दा हामीले जति क्षति कम गर्न सक्थ्यौँ, सकेनौँ । तर, त्यसका बाबजुद पनि स्थानीय जनता, सेना, प्रहरी सबैले अथक प्रयत्न गरेर त्यसलाई रोक्नुभयो । उहाँहरुको प्रशंसा गर्छु त्यसको निम्ति ।
पहिलोकुरा, यो भन्दा अघिल्लोपटक पनि आगलागी भएको थियो, फेरि पनि भयो । पटकपटक ताप्लेजुङमा यस्ता घटना भएका छन् । यसले दीर्घकालिन हिसाबले नेपालमा शहरीकरण नै कसरी गर्ने योजना नै नयाँ ढंगले गर्नुपर्छ भन्ने ठाउँमा पु¥याइसकेको छ । गर्नैपर्छ, अब हामीले ।
दोस्रोकुरा, तत्कालिन हिसाबले पीडितहरुलाई राहत प्रदान गर्ने, पुनर्स्थापना गर्ने, घर पुननिर्माणका निम्ति सहयोग गर्ने र बैंकका तर्फबाट निब्र्याजी ऋण प्रदान गर्ने जस्ता अल्पकालिन र दीर्घकालिन प्याकेजबाट हल गर्नुपर्छ । त्यसका निम्ति नेकपा एमालेको सिंगो पंक्ति पनि लाग्छ, व्यक्तिगत रुपमा म पनि त्यसमा लाग्छु ।
मैले यसअघि पनि फेसबुकबाट आह्वान गरिसकेको छु, देशविदेशमा रहेका ताप्लेजुङबासी र अन्य सहयोगीलाई पनि यो दुःखद घडीमा पीडितहरुलाई जे सक्नुहुन्छ, आफ्नो तर्फबाट गर्नुस् । नेपाल सरकारले पनि यसका तर्फबाट माध्यम बनाइओस र एकद्धार प्रणालीबाट यो सहयोग पीडित समक्ष पुराइयोस् । गृहमन्त्री घटनास्थल पुग्नुभएको छ । स्थलगत निरीक्षणपछि उहाँले पक्कै पनि त्यहाँबाट वास्तविक अवस्था बुझेर आउनुभएको छ, हामी उहाँसँग बसेर समिक्षा गर्छौँ ।
प्रस्तुति: दैनिक नेपाल डेक्स












प्रतिक्रिया