३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति बोआओ मञ्चमा भाग लिन आज चीन जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Baran Yadavकाठमाडौं, १२ चैत । राष्ट्रपति डा रामवरण यादवले चीन सरकारको निमन्त्रणामा यही चैत १२ देखि १८ गतेसम्म उक्त मुलुकको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना हुने ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति डा यादव बिहीबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान उक्त सम्मेलनलाई सम्बोधन गर्ने तथा सोही दिन अपराह्न आफ्नो चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सातदिने चीन भ्रमणक्रममा आज साँझ राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ ।

एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार शुक्रबार नै राष्ट्रपति डा यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नुहुनेछ ।

सान्याबाट शनिबार बिहान उहाँ सम्मेलनस्थल बोआओतर्फ प्रस्थान गर्नुहुनेछ ।

सोही दिन सम्मेलनलाई उहाँले सम्बोधन गर्ने र त्यसपछि चिनियाँ राष्ट्रपतिले सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुनेछ ।

शनिबार अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सोही दिन साँझ राष्ट्रपति डा यादव र उहाँका चिनियाँ समकक्षी सिबीच भेटवार्ता हुनेछ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको अर्को सहर हाइकुतर्फ प्रस्थान गर्नेछ ।

आइतबार बिहान उक्त सहरबाट नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ प्रस्थान गर्नेछ ।

सोमबार र मङ्गलबार ल्हासा तथा सिगात्सेका विभिन्न स्थलको भ्रमण पूरा गरी बुधबार बिहान उक्त प्रतिनिधिमण्डल स्वदेशका लागि प्रस्थान गर्नेछ ।

सोही दिन बिहान ११ बजे राष्ट्रपति त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।