दाङ, ११ चैत । एसएलसी परीक्षालाई ठाडै चुनौती दिँदै दाङको एक परीक्षा केन्द्रमा नियुक्त गरीएका निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्षवाट बचाउनका लागि हटाईएका सहायक केन्द्राध्यक्षलाई पुर्नवहाली गरीएको छ ।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको चर्को दबाबपछि केही दिन अघि राप्तिको जेठो विद्यालय पद्योदय पब्लिक नमुना उच्च मावि घोराही परीक्षा केन्द्रबाट हटाईएका सहायक केन्द्राध्यक्ष लोकबहादुर बस्नेतलाई पुन सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिई पुर्नवहाली गरीएको हो ।
सहायक केन्द्राध्यक्ष बस्नेतका छोराले सोही परीक्षा केन्द्रबाट अहिले परीक्षा दिइरहेका छन् । छोराले परीक्षा दिइरहेको समाचार बाहिर आएपछि हटाईएका भनिएका बस्नेतलाई उहाँ आबद्ध शिक्षक संगठनले दाङका जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्याललाई ध्यानाकर्षण गराउनुका साथै आन्दोलन नै गर्ने धम्की दिएपछि अर्यालकै निर्देशनमा निर्देशिका मिच्दै उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष डा. कृष्णराज डिसीले हटाएको अर्को दिन नै सहायक केन्द्राध्यक्षमा पुर्नवहाली गरी जिम्मेवारी दिनु भएको हो ।
एसएलसी परीक्षालाई मर्यादित तथा ब्यवस्थित बनाउन सरकारद्वारा परीक्षा निर्देशिका जारी गर्दा समेत त्यसलाई वेवास्ता गर्दै नियुक्त गरीएका सहायक केन्द्राध्यक्ष बस्नेतलाई हटाउन जिल्ला शिक्षा अधिकारी अर्याल र दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले कुनै चासो दिनु भएको छैन् ।
उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष डा. डिसी घोराहीस्थित विद्या निलकण्ठ उच्च माविका सञ्चालक हुनुहुन्छ भने सोही परीक्षा केन्द्रबाट उहाँको शेयर रहेको वोर्डिङका विद्यार्थीहरुले एसएलसीको परीक्षा दिइरहेका छन् ।
निर्देशिकामा परीक्षामा कुनै पनि खालको चलखेल नहोस भन्नका लागि निजी विद्यालयका सञ्चालक र एसएलसी दिने छोराछोरीका अभिभावक शिक्षकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगाएतका जिम्मेवारी नदिने स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेको छ ।
डिसी नेपाली कांग्रेस निकट नेपाली शिक्षक संघमा आबद्ध हुनुहुन्छ । उहाँ आबद्ध हुनु भएको शिक्षक संघले कुनै पनि हालतमा केन्द्राध्यक्षबाट हटाउन नमानेपछि सहायक केन्द्राध्यक्ष पुर्नवहाली नै हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रने चेतावानी दिएको एमाले निकट शिक्षक संगठनमा आबद्ध बस्नेतलाई फेरी सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिएको र यसलाई नै जिल्ला शिक्षा अधिकारी अर्यालले समर्थन जनाएको स्रोतले बताएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष भागवत पौडेलले विवादमा परेका निजी विद्यालयका सञ्चालक डा. डिसीलाई हटाउन शिक्षक संघ दाङले नमानेपछि आफुहरुले हटाईएका भनिएका सहायक केन्द्राध्यक्षलाई पुर्नवहाली गर्न माग गरेको बताउनुभयो ।
पौडेलले निजी विद्यालयका सञ्चालक नै केन्द्राध्यक्ष हुन नपाउने ब्यवस्था भएको भए विवादीत निजी विद्यालयका सञ्चालक रहेका सबै परीक्षा केन्द्रवाट केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष लगाएतका महत्वपुर्ण पद सम्हालेका सबैलाई एकैचोटी हटाउन भनेपछि जिशिअ अर्याल र नेपाल शिक्षक संघ दाङका अध्यक्ष अर्जुन कुमार योगिसहीत कार्य समितिले नै नमानेको जानकारी दिनुभयो ।
विवादीत निजी विद्यालयका सञ्चालक र एसएलसी दिने छोराछोरीका बावु आमा शिक्षकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायतका कुनै पनि जिम्मेवारीबाट नहटाउन दाङका सबै शिक्षक संगठन, जिशिअ अर्यालसहितको केही दिन अघि बसेको बैठक राति १० बजेसम्म चलेको थियो ।
यस विषयमा शिक्षक संगठनहरुको समर्थन लिएर बसेका दाङका जिशिअ अर्यालले अहिलेसम्म कुनै आवश्यक प्रक्रिया अघि नबढाई मौन समर्थन जनाएका छन् ।
















प्रतिक्रिया