३ कार्तिक २०८३, मंगलबार

निजी शिक्षकलाई केन्द्राध्यक्ष बनाउने दाङका जिशिअलाई परीक्षा नियन्त्रकले कारवाही गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang ka disrict education officer prahlada aryalदाङ चैत्र १० । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले दाङमा एसएललसी परीक्षाका लागि तोकिएको परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष तोकिएको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै यस विषयमा अध्ययन गर्दा भेटिए तत्काल कारवाही हुने जनाउनु भएको छ ।

उहाँको ९८५११६२४११ को निजी फोनबाट दैनिक नेपालका लागि कुरा गर्र्दैै परीक्षा नियन्त्रक द्वारेले परीक्षालाई मर्यादित बनाउन आफूहरुले सक्दो प्रयास गरेको र कुनै पनि चलखेल नहोस् भन्नका लागि निजी विद्यालयका सञ्चालकहरुलाई सम्बन्धित परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक बस्न नपाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।

उहाँले परीक्षा निर्देशिका विरुद्ध गई निजि विद्यालयका सञ्चालक नै परीक्षा केन्द्रको केन्द्राध्यक्ष भेटिए दाङका जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालसहीत विवादित केन्द्राध्यक्षलाई कारवाही हुने चेतावनी दिनुभयो ।

उहाँले यस विषयमा अध्ययन गर्न आफुले दाङका जिल्ला शिक्षा अधिकारी अर्याल र प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याललाई निर्देशन दिएको जनाउदै यदि त्यसो भेटिए तत्काल कारवाही गरी नयाँ केन्द्राध्यक्ष नियुक्ति गरी परीक्षालाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

परीक्षा निर्देशिका बिपरीत चल्ने जोसुकैलाई पनि कारबाही गर्ने चेताबनी दिनुभएको छ । एसएलसी परीक्षालाई मर्यादित बनाउन परीक्षा निर्देशीका तयार गरिएको भन्दै निर्देशिकाको बिरुद्धमा जाने जिल्ला शिक्षा अधिकारी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, विद्यार्थी सबैलाई कारबाही गर्ने चेताबनी दिनुभएको हो ।

यसैगरी उहाँले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका विद्यार्थीका अभिभावक, शिक्षकलाई कुनै पनि जिम्मेवारीमा राख्न नपाइने स्पष्ट प्रावधान रहेको बताउनुभयो ।

यस विषयमा विभिन्न जिल्लाबाट गुनासाहरु आइरहेको र दाङको सन्दर्भमा पनि आफूले गम्भिरतापूर्वक अध्ययन गरिरहेको उहाँले बताउनुभयो । उहाँले दाङका जिल्ला शिक्षा अधिकारी अर्याल र प्रमुख जिल्ला अधिकारी पौड्याललाई आफुले यस विषयलाई लिएर तत्कालै सचेत बनाएको र कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

यसैविच दाङका जिल्ला शिक्षा अधिकारी अर्यालले एसएलसी परीक्षाका लागि जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विवादित व्यक्ति, निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाउनुको रहस्य खोल्नुभएको छ ।

जिल्लामा क्रियाशील शिक्षक संगठनहरुको दबाब र मिलेमतोमा विवादित व्यक्तिहरुलाई केन्द्राध्यक्ष बनाएको रहस्य खोल्नुभएको हो ।

बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको अवस्था, विवादित केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षकको विषयमा जानकारी लिन सोमबार कार्यालय पुगेका सञ्चारकर्मी प्रति प्रति अत्यन्तै आक्रामक ररुपमा प्रस्तुत हुनुभएका जिशिअ अर्यालले जिल्लामा क्रियाशील नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चलगायतको तीब्र दवावमा आफूले निजी विद्यालयका सञ्चालकहरुलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकमा नियुक्त गरेको घुमाउरो पारामा खुलासा गर्नुभएको हो ।

परीक्षा सञ्चालनका लागि सरकारद्वारा जारी गरिएको निर्देशिकामा निजी विद्यालयका सञ्चालक, शिक्षक तथा सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका विद्यार्थीका अभिभावलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायतका कुनै पनि जिम्मेवारी दिन नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि यसलाई पूर्ण वेवास्ता गर्दै जिशिअ अर्यालले जिल्लाका ३ वटा परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्षको जिम्मेवारी सुम्पिनुभएको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हाली सक्नुभएका जिशिअ अर्यालले आफ्नो एक्लो निर्णयले नभई जिल्लाका सबै शिक्षक संघसंगठनको सहभागीतामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक नियुक्ति गरिएको बताउनुभयो ।

‘म त बाहिरबाट आएको न त हो, जिल्लामा रहेका संघसंगठनहरुको सल्लाहमा अघि बढिरहेको छु । म दाङमा हुँदासम्म परीक्षालाई व्यवस्थित बनाउँछु’, उहाँले भन्नुभयो, ‘हामी त कर्मचारी मान्छे, अलिअस्ति सुनिहाल्नुभएको छ, दाङको सिडियो सरुवा भई सक्नुभएको छ, मेरो पनि सरुवाको पत्र आउनासाथ जिल्ला छाडेर जान्छु ।’

एसएलसी परीक्षाको निर्देशिका मिचेर निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाएको विषयमा गणतन्त्र राष्ट्रिय दैनिकमा निरन्तर समाचार प्रकाशित भएपछि हतास मनस्थितिमा देखिनुभएका अर्यालले दैनिक नेपाल अनलाइनले एसएलसी परीक्षाका लागि केन्द्राध्यक्ष नियुक्तिको विषयलाई लिएर आफू बिरुद्ध ‘खेदो’ खनेको आरोपसमेत लगाउनुभयो ।

आफ्नो गल्ती नस्विकारी सञ्चारमाध्यममा आएका समाचारलाई हल्कारुपमा लिँदै जिशिअ अर्यालले निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायतका महत्वपूर्ण पदबाट हटाउने विषयमा कुनै प्रक्रिया अघि नबढाई आफ्नो अडान तेस्र्याउनुभयो ।

विवादित र निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाएर परीक्षाको ‘सेटिङ’ मिलाउन जिशिअ अर्यालको ठाडो निर्देशनमा यस्ता कार्यहरु भएको सरोकारवालाहरुको भनाई छ ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा स्वार्थ र अनेक लाभसँग लिएर ती व्यक्तिहरुलाई केन्द्राध्यक्ष बनाउन अर्यालसहीत जिल्लाका शिक्षक संघसंगठनले प्रत्यक्षरुपमा भुमिका खेल्दै आएको पाइएको उनीहरुको भनाई छ ।

यस विषयमा चौतर्फी बिरोध हुँदाहुँदै पनि शिक्षा कार्यालय निरीह बनेको छ । एसएलसी परीक्षालाई मर्यादित, व्यवस्थित र शान्त बनाउन सरकारले निर्देशिका जारी गरे पनि त्यसलाई ठाडो उलङ्घन गर्दै केन्द्राध्यक्ष नियुक्तिमा मनोमानी भएपछि बिरोधका स्वरहरु सुनिन थालेका हुुन् ।

अहिले चलिरहेको एसएलसी परीक्षामा परीक्षा निर्देशिकालाई नै चुनौती दिँदै विवादित र निजी विद्यालयका सञ्चालकलाई नै केन्द्राध्यक्ष लगायतका महत्वपूर्ण जिम्मेवारी दिएपछि आइतबार नै विभिन्न विद्यार्थी संगठनहरुले बिरोध गर्दै निर्णय सच्याउन आग्रह गरिसकेका छन्, भने जिल्लामा क्रियाशील विभिन्न शिक्षक संघसंगठनहरुले यसको चर्को बिरोध गरेका छन् ।

विद्यार्थी संगठनहरुले सञ्चारमाध्ययमा महत्वका साथ समाचारहरु प्रकाशसन/प्रशारण हुँदासमेत जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले आफू मौन बसी नियम बिपरित हुने यस्ता कार्यहरुलाई समर्थन जनाएको आरोप लगाउँदै सहायक जिल्ला शिक्षा अधिकारी रामलाल खड्कालाई ज्ञापन पत्र बुझाउँदै जिशिअ अर्याललाई आफ्नो निर्णय सच्याउन र नियममा रही परीक्षालाई मर्यादित बनाउन भुमिका खेल्न सुझाव पनि दिएका थिए ।

विद्यार्थी संगठनहरुले जोडतोडका साथ यो विषयलाई उठाएपछि बाध्य भएर जिल्लाका विभिन्न शिक्षक संघसंगठनहरुले नियम बिपरित जाने कुरामा आफूहरुको कुनै समर्थन नरहेको बताउन थालेका हुन् ।

जिल्लाको पद्मोदय पब्लिक नमुना उच्चमावि घोराही, बाल मितेरी उच्चमावि भोजपुर, देउपुर उमावि लमहीलगायतका विभिन्न परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालकलाई नै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक लगायतका जिम्मेवारी दिइएको समाचार सार्वजनिक भएको थियो ।

पद्मोदय पब्लिक परीक्षा केन्द्रका केन्द्राध्यक्षमा विद्यानीलकण्ठ उच्च माविका सञ्चालक डा. कृष्णराज डिसी, सोहि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका विद्यार्थीका बुबा लोकबहादुर बस्नेत सहायक केन्द्राध्यक्ष, बाल मितेरी उच्चमावि भोजपुर परीक्षा केन्द्रका केन्द्राध्यक्षमा मुनामिलन बोर्डिङ भोजपुरका सञ्चालक ओमप्रकाश वली, बोर्डिङकै आंशिक शिक्षक राजिव बस्नेतलाई सहायक केन्द्राध्यक्ष र देउपुर उमावि लमही परीक्षा केन्द्रका केन्द्राध्यक्ष शशिधर ज्ञवाली टाइनिटस् उमावि लमहीका सञ्चालक भएको एकपछि अर्को खवर प्राप्त भएका छन् ।
यी जम्मै परीक्षा केन्द्रमा केन्द्राध्यक्षहरु सञ्चालक रहेको विद्यालयका विद्यार्थीहरुले परीक्षा दिदै आएका छन् ।

यता जिल्लामा क्रियाशील शिक्षक संघसंगठनहरुले जिशिअले आफूहरु माथि आरोप थोपरेको बताएका छन् । परीक्षका विषयमा पटक–पटक समाचार सार्वजनिक हुँदा समेत मुख नखोलेका शिक्षक संघसंगठनहरुले परीक्षाका विषयमा ऐन नियम बिपरीत भएका जिल्ला शिक्षा कार्यालय दाङका सम्पूर्णका कुराहरु सच्याउनुपर्ने धारणा पनि अघि सारेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष भागवत पौडेलले एसएलसी परीक्षालाई मर्यादित बनाउने विषयमा आइरहेका समाचारहरुलाई सम्बन्धित निकायले गम्भिरतापूर्वक नलिनु राम्रो कुरा नभएको उल्लेख गर्नुभयो ।

यसैगरी नेपाल शिक्षक संघ दाङका अध्यक्ष अर्जुनकुमार योगीले जिल्लाका सबै शिक्षक संघसंगठन, जिल्ला शिक्षा अधिकारी अर्याललगायतका सरोकारवाला निकाय बसी परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोकिएको बताउँदै केन्द्राध्यक्ष चयन गर्दा भएका कमिकमजोरीहरु सच्याउनु पर्नेमा जोड दिनुभयो ।

परीक्षाको केन्द्राध्यक्ष तोक्ने विषयमा भएका कमिकमजोरीलाई लिएर एकले अर्कालाई आरोप लगाउनु भन्दा कमजोरीलाई सच्याउनु ठूलो कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष नारायणप्रसाद भण्डारीले ऐन÷नियमलाई मिचेर अघि नबढ्न जिल्ला शिक्षा अधिकारी अर्याललाई चेताबनी दिनुभयो ।

सञ्चार माध्यममा आएका कुराहरुलाई हल्का पारामा नलिन उहाँलाई आग्रह गर्र्दै तत्काल ऐन नियममा टेकेर निजी विद्यालयका सञ्चालक र एसएलसी दिने छोराछोरीका बाबुआमालाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष लगायतका महत्वपूर्ण पदमा भए तत्काल कारबाही गर्न शिक्षा कार्यालयसँंग माग गर्नुभयो ।