गौशाला, ९ चैत । एसएलसी परीक्षाको क्रममा आज फेरि महोत्तरीमा ८३ जना विद्यार्थी र तीन निरीक्षक निष्कासित भएका छन् ।
यस वर्षको परीक्षाको आज चौथो दिन विज्ञान विषयमा अनियमितता गरेको आरोपमा महोत्तरीको छवटा परीक्षा केन्द्रबाट ८३ जना विद्यार्थीलाई निष्कासित गरेको छ भने तीन जना निरीक्षकलाई पनि निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
परीक्षा अनुगमन समितिले परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा जिल्लाको खयरमारा परीक्षा केन्द्रबाट २८ जना, मनरा परीक्षा केन्द्रबाट १२ जना र खखना लोटना परीक्षा केन्द्रबाट २१ जना बलवा परीक्षा केन्द्रबाट १२ जना, लोहारपटी परीक्षा केन्द्रबाट आठ जना र कन्या उच्च मावि परीक्षा केन्द्रबाट दुई जना गरी ८३ जना विद्यार्थीलाई निष्कासित गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लाको लोहारपटी परीक्षा केन्द्रबाट दुई जना र रामगोपालपुरबाट एक जना निरीक्षकलाई पनि निष्कासन गरिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्लाको खयरमारास्थित परीक्षा केन्द्रमा चिट चोराउने मनसायले बिना इजाजत प्रवेश गरेका चेरु माविका शिक्षक महेन्द्रनारायण श्रेष्ठ, हलखोरी–४ का कामेश्वर यादवमाथि सार्वजनिक अपराध मुद्दा सोनामाई–४ का शिक्षक चुल्लाई यादवमाथि शिक्षा ऐनसम्बन्धी मुद्दा चलाइएको छ भने बाँकी सबैलाई अनुसन्धानपछि छाडिएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
एसएलसी परीक्षालाई मर्यादित बनाउन खटिएका स्थानीय प्रशासन र शिक्षाको टोलीले परीक्षाको नियमावली विपरीत होहल्ला गरी चिट चोराउने र प्रश्नपत्र वाहिर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ तथा कारबाही गरिएको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले बताउनुभएको छ । रासस















प्रतिक्रिया