काठमाडौं, ९ चैत । गीतकार देबेन गिरी नेपाली संगीतका श्रोता तथा दर्शकमाझ चिनाइराख्नु पर्ने नाम होइन् । जीवनका यर्थाथ पोख्ने उहाँका कलमले नेपाली सांगितिक बजारमा चर्चा मात्र होइन उत्तिनै प्रशंसा पनि पाइरहेको छ ।
उनै गीतकार देबेनको पछिल्लो सिर्जना जीवनको मूल्य र बाच्नुको सार्थकता बोकेको सिर्जना अहिले बजारमा निकै चर्चामा छ ।
हर पल मरी मरी बाँच्नु भन्दा त एकै पलमा मर्न मन लाग्न सक्छ
त्यही पललाई केहि बेर त सहेर हेर फेरि पनि बाँच्ने ईच्छा जाग्न सक्छ
हरि लम्सालको संगित तथा स्वरुपराज आचार्य र सत्यराज आचार्यको स्वरमा रहेको यो गीतको सार्वजनिक गर्दै यसका सिर्जनाकार देवेन गिरीले आत्महत्या विरुद्धको अभियान नै थालेका छन् ।
‘नेपालमा, दिन प्रतिदिन आत्महत्या गर्ने क्रम बढिरहेको छ त्यो सामाजिक समस्याले थप उग्र रुप लिन नपाओस भन्ने उद्देश्यले यसलाई न्यूनिकरण जनचेतना अभियानका साथ हामी अगाडि आएका हौ ।’ देबेन बताउछन् ।
२ दशक अघिदेखि नै गीत सिर्जना तथा कलाकारितामा सक्रिय गिरी गतबर्ष ‘द पेन एण्ड देवेन’ गीतिसंग्रह मार्फत नेपाली सांगीतिक बजारमा औपचारिकरुपमा सार्वजनिक भएका हुन् । पहिलो संग्रहबाट नै लोकप्रियताको शिखरमा चढेका देवेनले यही संग्रहमार्फत नेपाली संगीतका चर्चित अवार्ड तथा सम्मानहरु आफ्नो पोल्टामा पारे ।
यसको चर्चा सेलाउन नपाउदै अर्को संग्रहको तयारीमा रहेका देवेनलाई आफुसँगै काम गरेका चर्चित निर्देशक आलोक नेम्वाङको आत्महत्याले निकै दुःखी बनायो । सो समय देवेन स्वयं अस्पतालको शैयामा रोगसँग लडिरहेका थिए ।
अघिल्लो गीतिसंग्रहको भिडियो निर्माणमा दुवै जनाको दोस्ती एकदमै जमेको थियो । नेम्वाङको आत्महत्याको खवर उनले सहनै सकेनन फलस्वरुप अस्पतालको विस्तारामै उनको कलमले माथिका हरफ कोर्न थाल्यो ।
भावनामा बग्दावग्दै बाच्नुको यर्थाथमा डुवेका देवेनले अन्तत ः यो सिर्जनालाई रेकर्ड गरी ‘अमूल्य जीवनलाई बुझौ, आत्महत्या नगरौ’ भन्ने सन्देशसहित आत्महत्या विरुद्धको अभियान चलाउने जमर्को गरे ।
अहिले उनलाई यो अभियानमा साथ दिनेको जमात बाक्लिदै गएको छ । उनको अभियानमा सवैको साथ जुटोस् । अमूल्य जीवन खेर फाल्ने क्रम अव नदोहोरियोस् ।















प्रतिक्रिया