काठमाडौँ, ८ चैत । शिक्षा मन्त्रालयले चालु आवको हालसम्मको अवधिमा पाँच हजार नयाँ शिक्षकका लागि सेवा प्रवेश तालिम प्रदान गरेको छ ।
शिक्षक सेवा आयोगको खुला प्रतियोगिताबाट गत वर्ष पदपूर्ति भएका करिब १२ हजार पाँच सय शिक्षकमध्ये पाँच हजारलाई तालिम दिइएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले बताउनुभयो । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रबाट सो सेवा प्रवेश तालिम पाएका शिक्षकले विद्यालय तहको शिक्षामा गुणस्तर बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
हाल एक लाख ६२ हजार शिक्षक दरबन्दी छ । सरकारले यसअघि ९५ प्रतिशत शिक्षकलाई तालिम दिइसकेको भए पनि सामुदायिक विद्यालयको शैक्षिकस्तरका माथि उठ्न नसकेको गुनासो बढिरहेको छ । प्रवेशिका परीक्षामा गत वर्ष सामुदायिक विद्यालयबाट करिब २० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस्तै मन्त्रालयले यसै वर्ष राजपत्राङ्कित द्वितीय श्रेणीका २० जना अधिकृतको एकमहिने सेवाकालीन तालिम पूरा गरेको छ ।















प्रतिक्रिया