अमेरिका विश्वको मानचित्रमा समाहित एउटा देश । विश्वका १ सय ९५ देश मध्येको एउटा देश । तर एउटा देश मात्र नभएर अमेरिका त्यो भन्दा फरक कोणवाट आफूलाइ परिभाषित गरिरहेको छ । आज आफूलाई जो कसैको गन्तव्य बनाउन उद्दत देखिएको छ, भुगोल भन्दा माथि आफूलाई उभ्याउन लालायित देखिन्छ अमेरिका । आज अमेरिका एउटा अवसरको खोजी र आर्थिक समृद्दि आर्जन गर्न चाहनेहरुका निम्ति अन्तिम गन्तव्य जस्तो बन्ने आभाष गराइरहेको छ । अमेरिका जहाँ विश्वका अधिकांश देशका नागरिक भेटिन्छन् । किन आज अमेरिका यसरी प्रगति पथमा लम्किरहेको छ, यसको जवाफ पहिल्याउन त्यति असहज भने देखिदैंन, अमेरिका एउटा देश मात्र नभएर सिस्टम अर्थात प्रणाली हो । जहाँ हरेक कुरा सिस्टमले चलाएको हुन्छ चलेको हुन्छ अनि यहाँका नागरिकदेखि बासिन्दा सबै त्यही सिस्टमको परिधि सञ्चित देखिन्छन् । कानुन मान्दाको फाइदा लिन पनि सिकेका छन् अनि कानुन पालना नगर्दा हुने हानी बारे पनि सचेत छन् । सिस्टमलाई प्रभाब र दबाबले कुल्चिन सकिरहेको छैन यहाँ । र, त सवैका लागि कानुन छ । परिचित अनुहारले सिस्टमवाट लिने फाइदा अपरिचित वा नेपालमा जस्तो प्रयोग गरिने सर्वसाधारणले लिने फाइदामा कुनै विभेदको अनुभूति देखिदैंन । कानुन उल्लंघनको एक प्रकारको डरले सिस्टमलाई निष्प्रभावी हुनवाट जोगाएको छ ।
आज अमेरिका देश नभएर सिस्टम भएको छ । यही सिस्टमभित्र विश्वका धेरै मुलुकका नागरिक समाहित भइहेका छन् । विश्वको अधिकांश मुलुकका नागरिक जस्तै नेपालीको उपस्थिति पनि बिस्तारै अमेरिकामा वढिरहेको छ । आप्रवासीले भरिएको अमेरिका सिस्टमले सवैलाई एक ढिक्का पारिरहेको छ । सिस्टम नमान्ने वा मान्न नचाहनेहरुका लागि अमेरिका सोचेको भन्दा फरक लाग्नेछ ।
सिस्टमको कुरा यसो खाली ठाउँ देख्यो कि फोहोर फाल्न तम्सिने हामी नेपाली यहाँ आइपुग्दा आफूलाई परिवर्तित गरिरहेका हुन्छन् वा हामीलाई यहाँको कानुनले परिवर्तन हुन बाध्य पारिरहेको हुन्छ । समयसँग चल्न जानेर पनि त्यसलाई वेवास्ता गर्ने हामी नेताहरुका भाषामा सामान्य सर्वसाधारण देखि स्वघोषित विशिष्ट नागरिक नेताहरु प्नि यहाँ आउँदा समय चिन्न वाध्य हुन्छौं, सिस्टमले त्यसलाई चिन्ने वनाएको छ नचिन्ने वा चिन्न नखोज्नेहरुका लागि अमेरिका त्यति सजिलो छैन । हामी यहाँ आउँदा धेरै कुरा सिकेका हुन्छौँ तर फरक यति हो कि नेपाल पुग्दा त्यो लागू हुन सक्दैन । लाग्छ हामीले सिस्टम सिकेका होइनौं या सिक्ने चाहना नै थिएर अमेरिकामा रहँदा हामी बाध्य मात्रै थियौं त्यसलाई पालन गर्न, किनकी हामी खुल्ला हुन चाहन्छौं । वर्षेनी धेरै नेताहरु अमेरिका आउने गर्छन् घुम्छन् अनि जान्छन्, यहाँ उनीहरुका लागि नेपालमा जस्तो फरक निति नभएकाले उनीहरुको भाषामा एडजस्ट हुन्छन् नेपाल जान्छन् फेरि पुरानै प्रवृत्ति दोहोर्याउँछन्, लाग्छ कि उनीहरु त्यो सिकेको कुरा अवलम्वन गर्दा देशलाई घाटा हुन्छ भन्ने ठान्दछन्, अनि भन्छन् सिस्टमले केही गर्न दिँदैन नेपालमा । कसले बनाउने सिस्टम, कस्का लागि सिस्टम अनि कसले बनाउने सिस्टम यसको जबाफ खोज्ने कोशिस हुँदैन या खोज्ने चाहना नै राखिदैंन ।
अव फेरि प्रसंग बदलौं नेपाली अध्ययनका निम्ति, रोजगारको लागि अस्थायी रुपमा देखि लिएर स्थायी रुपमा समेत स्थाननान्तरण भएका छन् । अमेरिकामा नेपालीको आगमन हुने क्रम धेरै वर्ष नभएपनि गएको केही दशकमा नेपाली अमेरिका आउने क्रम ह्वात्तै बढेको देखिन्छ । आज अमेरिकामा नेपालीले विस्तारै सामाजिक प्रतिष्ठा पनि वढाइरहेका छन् ।
अन्तराष्ट्रिय संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहनेदेखि प्रतिनिधि पात्र वन्ने, पेशामा प्रतिष्ठित कमाउने, व्यवसायिक परिचय स्थापित गर्नेदेखि सामाजिक रुपबाट नेपाली समूदाय विस्तारै ओझिलो बन्दै गएकोे छ । ओझ भरिरहेको नेपाली समुदायले गर्न अझ धेरै बाँकी छ । त्यो गर्ने अभिभारामा गैर आवासीय नेपाली संघ खरो उत्रन जरुरी छ ।
एक थुकी सुकी हजार थुकी नदी भने जस्तै व्यक्ति–व्यक्ति मिलेर बनेको नदीको रुपमा गैर आवासीय नेपाली संघ रहनु पर्दछ । यो नेपालीको संस्था वन्नुपर्दछ यो साझा नेपालीको संस्था वन्नुपर्दछ, विदेशमा हाम्रो परिचय एउटै मात्र छ त्यो भनेको नेपाली हो, विदेशी माझ हामी चिनिने नेपालकै नामले हो, न कि कुनै जातले, यो नै वास्तविकता पनि हो । नेपाली नेपाली भेट हुँदा बल्ल हामी क्षेत्र, अञ्चल, जिल्ला, गाउँ, भाषा, जात, समूदाय हुँदै राजनीतिक आस्थामा आइपुग्दछौं, त्यसैले विदेशमा हाम्रो पहिलो परिचय नै नेपाली हो । तसर्थ मुख्य कुरा भनेकै नेपालीको एकता नै हो । विदेशमा वसेका नेपालीलाई नेपालको माटोसँग जोड्ने कडी एनआरएन बन्नुपर्दछ । नेपालीको आर्थिक हैसियत अझ मजवुत हुनु जरुरी छ, त्यसका निम्ति नेपाली विचको एकता अनिवार्य छ ।
अमेरिकामा रहेर नेपालीलाई वुझ्दा केही प्रतिनिधि मुलक नेपालीका धारणाले के भनिरहेको छ भने अनावश्यक राजनिति भैरहेको छ अमेरिकामा बस्ने नेपालीहरुका बीच । दक्षिण एसियाका अन्य देशका नागरिक भन्दा यो कुरामा नेपाली धेरै अघि देखिएका छन् । यसले नेपाली नेपालीका बीचमा फाटो ल्याउने काम देखिएको छ । सचेत प्राणी मानिस राजनितिक आस्था वा विचारबाट अलग रहन सक्दछ भन्ने कल्पनासम्म गर्नु मूर्खता नै हुन्छ त्यो अपेक्षा पनि सायदै बुझक्कड समाजवाट गरिएला । तर, राजनीति वा विचारले मुख्य कर्तव्यलाई विलय पार्ने काम भने हुनुहुँदैन । बढी राजनितिक बिचारको मन्थनले निर्माण गरिदिने गुटले फेरि पनि एकतालाई स्खलित गरिदिनेछ , यो अझ बढी विदेशमा रहेका संघसंस्थाको लागि लागू हुन्छ । यसो भइदिदा यसले गर्दा नेपालको आथिर्क–सामाजिक विकासमा निर्वाह गर्नसक्ने गैर आवासियाहरुको भूमिका ओझेलमा पर्नेछ । मुलुकको विकासका लागि एनआरएनले ठोस योजना ल्याउने त्यसलाई अपेक्षाकृत रुपवाट कार्य गर्न सकिरहेको छैन, सुरुवात भने भएको देखिन्छ । बिस्तारै नेपालमा लगानीको ढोका खुल्दै गरेको देखिए तापनि अन्य मुलुकका गैरआवासीय नागरिकहरुले गरेको लगानी र राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको टेवाको तुलनामा गैरआवासीय नेपालीहरुबाट त्यो रुपवाट योगदान पुगेको छैन । देशप्रतिको त्यो कर्तव्य निर्वाहमा अमेरिकामा रहेका नेपालीहरुले पनि धेरै गर्नुछ । नेपाली यहाँ संगठित भएको धेरै समय नभएर पनि हुन सक्दछ र अर्कोतर्फ देशमा लगानी मैत्री वातावरण नभएर पनि हुन सक्दछ । जे होस् कारण खोज्दा धेरै कारण खोज्न सकिन्छ, संक्षेपमा नेपालमा गैर आवासीय नेपालीले धेरै गर्न छ र गर्न सक्नु पनि पर्दछ, वातावरण पनि विस्तारै वन्दै गएको छ ।
बार्षिक चारसय तीस अमेरिकी डलरमा जीवन निर्वाह गरिरहेका नेपाली जनताको जीवनस्तर उकास्नका लागि मुलुकमा लगानी–मैत्री वातावरण बन्नु आवश्यक छ । गैरआवासीय नेपालीका साथै विश्वका आर्थिक शक्ति राष्ट्रहरुबाट पनि लगानी भित्रयाउन पहलकदमी एनआरएनले लिनुपर्दछ ।
मुलुकको स्वार्थलाई कसैले पनि आत्मसात गर्न सकेको अनुभूति गर्न सकिने स्थिति छैन । मूलुकमा सत्ता स्वार्थ नै अहिलेको एकमात्र स्वार्थ बन्न पुगेको छ । नेताहरुले राष्ट्रका लागि आफ्ना व्यक्तिगत स्वार्थ त्याग्ने संस्कार प्रदर्शन गर्न सकेका छैनन् । देशको निति निर्माणकर्ता नै देशप्रति अनुदार देखिएको यो अवस्थामा मूलूकको आर्थिक सामाजिक विकासको अभियन्ता वन्न एनआरएन अग्रसर हुनैपर्दछ, मुलुकको आर्थिक उन्नतिसँग देशमा रहेका हुन् या विदेशमा रहेका सवै नेपालीको शान जोडिएको छ ।
(बुटवल टुडे दैनिकका सम्पादक भण्डारी अहिले अमेरिकामा छन् ।)














प्रतिक्रिया