कपिलवस्तु, ७ चैत । कपिलबस्तुको महाराजगञ्ज १ स्थित नागेश्वर प्राविमा कक्षाकोठा अभाव हुदा बालबालिकाको पठन पाठन प्रभावित बनेको छ । कक्षा २ र ३ का बालबालिका एउटै कक्षामा बस्ने र कक्षा चार र विद्यालय कार्यालय एउटै स्थानमा हुदा पठन पाठनमा समस्या आएको छ ।
कपिलवस्तुकै सबै भन्दा बढि दलित समुदायका बालबालिका पढ्ने गरेको सो प्राविको स्तरोन्नती तथा भवन निर्माण प्रति गाविस तथा सम्बन्धित शिक्षा कार्यालयको समेत कुनै चासो छैन ।
विद्यालयमा रहेका कुल ८१ जना विद्यार्थी मध्ये ५२ जना दलित छन् भने १६ जना मुस्लिम बालबालिका छन् । सो क्षेत्रका दलित तथा विपन्न समुदायका बालबालिकाहरु विद्यालयमा आउने गरेको प्रअ सफि मोहम्मद धुनियाले जानकारी दिनुभयो ।
विद्यालयमा खाजा कार्यक्रम संचालन भएकाले पनि विपन्न तथा दलित विद्यार्थीहरु बढि आर्कषित भएको उहाले बताउनुभयो । कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको प्रअ धुनियाले भन्नुभयो ।
नयाँ भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयमा बजेट माग गर्दा जनसहभागितामा आधारित पूर्वाधार बजेट दिने गरेको र आफुहरु संग स्रोत नहुँदा समस्या आइरहेको विद्यालयका अध्यक्ष मुबारक अली धुनियाले भन्नुभयो । स्रोत नहुदा साझेदारी बजेट माग नगरिएको धुनियाले बताउनुभयो । विद्यालयमा ४ वटा कक्षाकोठा मात्र छन् ।
कक्षा ३ मा अध्ययनरत दलित छात्रा महिमा कोरीले कक्षा दुई संग एउटै कोठामा बसेर पढ्दा अप्ठ्यारो भएको बताइन् । दुबै कक्षाका विद्यार्थी एउटैमा बस्दा सरले पनि सबैलाई एउटै विषय पढाउने गरेको उनले भनिन् ।
यस्तै कक्षा ४ मा अध्ययनरत विद्यार्थी दिनेश मालीले विद्यालय कार्यालय र खाजा पकाउने स्थानले गर्दा पढाईमा बाधा उत्पन्न हुने गरेको बताए । खाजा बनाउदा तेल र मसलाको खारले बस्नै गाह्रो हुने विद्यार्थीहरु बताउछन् ।
विद्यालयलाई थोरधेर स्थानिय सेभद चिल्ड्रेन मार्फत शनशाइन सामाजिक विकास केन्द्रले सहयोग गरेका । सनसाइनले ७ वर्ष यता बालविकास केन्द्र भवन निमार्ण, कक्षा कोठा व्यवस्थापन, शिक्षक तालिम लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाको सहयोगबाट बालविकास केन्द्र, विद्यालयलाई आवश्यक खानेपानी, सरसफाई तथा मसलन्दमा केन्द्रले सहयोग गरेको सनसाइनका कार्यक्रम संयोजक शिवलाल यादवले जानकारी दिनुभयो ।
यता सोही किनारकै अर्को श्री जानकी उच्च माविमा सबै निकायको पहुँच देखिन्छ । जिल्ला शिक्षा कार्यालयदेखि भारतीय दूतावास सम्मले विद्यालयलाई आवश्यक भन्दा बढी सहयोग गरेको देखिन्छ ।
भारतीय दूतावासले जानकी उच्च माविलाई भवन निर्माणका लागि २ करोड ४९ लाख रकम दिएको छ । शिक्षा कार्यालयले पनि बेला बेला सहयोग दिने गरेको छ । सो विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा मात्रै दुबै पक्षले करिब १५लाख बढि रकम खर्चेको स्थानिय सुरेन्द्र कलवार बताउनुहुन्छ ।
कतै भवननै भवन त कतै कक्षाकोठाको अभाव देखिदा सरोकारवालाहरुले समेत पहुँचका आधारमा बजेट तथा सहयोग दिने गरेको नागेश्वर प्राविका अभिभावकहरु बताउछन् ।
दलितका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयलाई समान व्यवहार गर्न र सहयोग गर्न सरोकारवाला संग अभिभावकले माग गरेका छन् ।
















प्रतिक्रिया