
– निशान दाजु भट्टराई
दाङ, ७ चैत । विहीवारदेखि सञ्चालन भएको विद्यार्थीको फलामे ढोका मानिने एसएलसी परीक्षामा दाङको एक परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालकलाई नै केन्द्राध्यक्ष बनाउदा पनि जिल्ला शिक्षा कार्यालय दाङले आवश्यक प्रक्रिया अघि बढाएको छैन् ।
सरकारी निर्देशिका मिचेर निजी विद्यालयका सञ्चालकलाई केन्द्राध्यक्ष बनाउदा शिक्षा कार्यालयले आवश्यक प्रक्रीयालाई अघि बढाउनुको साटो मौन समर्थन जनाएको पाईएको छ ।
जिल्ला शिक्षा कार्यालय दाङमा यस विषयमा मौखिकरुपमा जानकारी गराउँदा गराउँदै जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालको ठाडो निर्देशनमा बालमितेरी उमावि भोजपुर परीक्षा केन्द्रमा निजी विद्यालयका सञ्चालक ओमप्रकाश वलीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको हो ।
ओली बालमितेरी उमाविका प्राचार्य हुनुहुन्छ भने मुनामिलन बोर्डिङ स्कूल भोजपुरका सञ्चालक हुनुहुन्छ । मुनामिलन इंगलिश बोर्डिङ स्कूलका विद्यार्थीले यस वर्षको एसएलसी परीक्षा सोही परीक्षा केन्द्रबाट दिइ रहेका छन् ।
यसैगरी सोही विद्यालयका शिक्षक एवं सोही बोर्डिङका विज्ञान विषयका आंशिक शिक्षक राजीब बस्नेतलाई पनि उक्त परीक्षा केन्द्रको सहायक केन्द्राध्यक्षकारुपमा जिल्ला शिक्षा कार्यालय दाङले खटाएको छ ।
यस विषयमा दैनिक नेपाल अनलाइनमा समाचार प्रकाशित भएपनि कार्यालयले उक्त परीक्षा केन्द्रका लागि तोकिएको केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षवाट नै परीक्षा सञ्चालन गर्ने अडान राखेको छ ।
एसएलसी परीक्षा सञ्चालनका लागि जारी गरीएको निर्देशिका विपरीत जादा समेत जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले यस विषयमा खासै चासो दिनु भएको छैन् । चौतर्फी विरोध हुदा पनि मौन समर्थन जनाउनु भएका जिल्ला शिक्षा अधिकारी अर्यालले यसका लागि अहिलेसम्म कुनै पनि प्रक्रिया नचालेको स्वयम शिक्षा कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
विवादित केन्द्राध्यक्षलाई हटाई नयाँ केन्द्राध्यक्ष नियुक्त गरी परीक्षालाई मर्यादित एंव ब्यवस्थितरुपमा सञ्चालन गर्नुको साटो उनीहरुवाटै परीक्षा सञ्चालन गर्न शिक्षा अधिकारी अर्यालले दवाव दिनुले यसमा उहाको र सम्बन्धित केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको मिलेमतो भएको सहजै अनुमान गर्न सकिन्छ ।
गतवर्ष भएको एसएलसी परीक्षामा सम्बन्धित परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष, वा निरीक्षक तथा अन्य कर्मचारीहरुका आफ्ना छोराछोरीले परीक्षा दिएको पाईएपछि शिक्षा कार्यालय दाङले कारवाही गरेको थियो ।
तत्कालिन दाङका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको नेतृत्वमा खटिएको परीक्षाको अनुगमन टोलिले जिल्लाका विभिन्न स्थानमा रहेका परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष र निरीक्षकहरुलाई कारवाही गरी परीक्षालाई मर्यादित तथा ब्यवस्थितरुपमा सञ्चालन गरेको थियो ।
यद्यपी, अहिले त्यस्तै खालको सामान्य समस्या आउदा पनि जिल्ला शिक्षा अधिकारी अर्याल निरीह बन्नुका साथै निजी विद्यालयका सञ्चालकलाई बनाईएको केन्द्राध्यक्षका विषयमा सार्वजनिक हुँदा पनि हटाउन सक्नु भएको छैन् ।
जिल्ला शिक्षा कार्यालयमा विभिन्न काम लिएर जाने शिक्षक, कार्यालयमा कार्यरत कर्मचारी तथा अन्यलाई शिक्षा ऐन/नियमका बारेमा बताउने गर्नु भएका अर्यालले अहिले ऐन/नियमलाई प्रयोग गरी कारवाहि प्रक्रिया अघि बढाउन तयार देखिनु भएको छैन् ।
आफु जिल्लामा रहदासम्म परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउने गर्नु भएका उहाँले यस विषयमा सार्वजनिकरुपमा आलोचना हुदासमेत ऐन नियमलाई मिचेर अघि बढी रहनु भएको छैन् ।
जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखाका सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्सालले सरकारी निर्देशिका मिेचर बनाईएका केन्द्राध्यक्षलाई हटाउन र परीक्षालाई मर्यादित बनाउन जिल्ला शिक्षा अधिकारी अर्यालको ध्यानाकर्षण गराउनुको भएको छैन् ।
उहाँले यसलाई सामान्यरुपमा लिदै केन्द्राध्यक्षका विषयमा अनावश्यक टिका टिप्पणी नगरी परीक्षालाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘हामीलाई कसको शेयर कुन वोर्डिङ छ, त्यो कुरा थाहा हुदैन, शेयर भएकै कारणले केन्द्राध्यक्षवाट हटाउन सक्दैनौ उहाँले भन्नु भयो–‘नाता पाता र शेयर लगाएकै कारणले परीक्षा अमर्यादित हुन्छ भन्नु गलत हो ।’
लम्सालको यस्तो भनाइले पनि केन्द्राध्यक्ष नियुक्तीमा शिक्षा कार्यालय र जिल्लाका क्रियाशिल विभिन्न शिक्षक संघ÷संगठनको मिलेमतो देखिन्छ । स्रोतका अनुसार यस विषयमा मौखिक जानकारी जिल्ला शिक्षा कार्यालयमा दिइएपछि यस विषयमा बुझ्नका लागि कार्यालयमा सहायक केन्द्राध्यक्ष बस्नेतलाई जिशिअ अर्यालले बोलाएपनि विभिन्न चलखेलका कारण उनीहरुलाई नै परीक्षा सञ्चालन गर्न जिम्मेवारी दिएर पठाईएको थियो ।
परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि सरकारले परीक्षा सञ्चालनका गर्न जारी गरेको निर्देशिकामा परीक्षा केन्द्रमा परीक्षा दिने विद्यालयका सञ्चालक, शिक्षकलाई परीक्षाको केन्द्राध्यक्ष लगायतका जिम्मेवारी नदिने स्पष्ट प्रावधान रहेको छ । तर, निर्देशिका मिच्दै जिल्ला शिक्षा कार्यालय दाङका जिशिअ अर्यालयको ठाडो निर्देशनमा यस्तो कार्य भएको स्रोतको भनाइ छ ।
शिक्षक संघ/संगठनले भागवण्डा गरी केन्द्राध्यक्ष वाडेको र ऐन मिचेर गरिएका केन्द्राध्यक्ष नियुक्तिमा जिशिअले हस्ताक्षर गरी सहयोग पुर्याएको पटक–पटक आरोप लाग्दै आएको छ ।
यस विषयमा सञ्चारमाध्यममा समाचार आउदा जिल्लाका कुनै पनि शिक्षक संघ/संगठन वोलेका छैनन् । विभिन्न राजनितिक दलका आवद्ध शिक्षक संघ÷संगठनले सबैलाई भाग पुग्ने गरी यसपालीको एसएलसी परीक्षाका लागि केन्द्राध्यक्ष नियुक्त गरेका छन् ।
स्रोतका अनुसार उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षका बच्चाहरु पनि सोही बोर्डिङबाट एसएलसी दिइरहेका छन् । यसैगरी छोराछोरी परीक्षा दिइरहेकाहरुलाई पनि कुनै पनि महत्वपूर्ण जिम्मेवारी नदिने प्रावधान सरकारले बनाएता पनि दाङमा त्यसको कुनै कार्यान्वयन भएका छैन् ।
तर, परीक्षा अनुगमन समिति उनीहरु विरुद्ध कारवाही नचलाई चुप बसेको सर्वसाधारणले गुनासो गरेका छन् । ‘छोराछोरीको परीक्षामा बाबु केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष भएको मैले अहिलेसम्म थाहा पाएको थिएन, यस्तो पनि हुदो रहेछ–एक जना अभिभावकले भन्नुभयो–‘यो कस्तो नियम र निर्देशिका हो ।’
त्यस्तै जिल्लाका अन्य परीक्षा केन्द्रहरुमा आफन्तको र आफुले पढाउने विद्यार्थीको सहयोगका लागि केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष बनेको पाईएका छन् ।
तर, यस विषयमा थप कुरा बुझ्न जिल्ला शिक्षा अधिकारी प्रल्हाद आर्यालको मोवाइल नम्वर ९८५७८३४५०९ मा पटकपटक फोन गर्दा पनि फोन उठाउनु भएन ।















प्रतिक्रिया