– सन्तोष काफ्ले
धरान, ७ चैत । दोस्रो संविधानसभा वहिष्कार गरेको नेकपा एकीकृतको जातीय भातृ संगठनहरुले संविधानसभाले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न नसक्ने भन्दै संविधानसभा विघटनको माग गरेका छन् ।
एकीकृत निकट लिम्बुवान स्वसासित संघ र किरात राई स्वसासित संघ केन्द्रिय समितिले आज धरानमा पत्रकार सम्मेलन गर्दै संविधानसभाको औचित्य नभएकोले विघटन गरिनुपर्ने माग गरेका हुन् ।
एमाले र कांग्रेसको कारण माघ ८ मा संविधान जारी नभएसंगै संविधान सभाको औचित्य सकिएको उनीहरुको भनाई छ ।
वर्तमान संविधानसभाले लिम्बुवानको माग सम्बोधन गर्न नसकेको र लिम्बुहरुको अधिकार स्थापित गर्न समेत असमर्थ भएकाले गोलमेच सम्मेलनबाट संघीय संविधान जारी गरिनुपर्ने संघका अध्यक्ष केपी फदोङले बताए ।
उनले लिम्बुवानको अधिकार स्थापित गर्न आफ्नो संगठन जस्तोसुकै संघर्ष गर्न समेत पछि नपर्ने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृतका केन्द्रिय सदस्य समेत रहेका किरात राई स्वासासित संघका महासचिव गौरव राईले दोस्रो संविधासभाले आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै संविधानसभा विघटनको माग गरे । उनले आफुहरुको माग लाई वेवास्ता गरे शसक्त संघर्ष गर्ने चेतावनी दिए ।
धरानको गीता भवनका दुई दिन सम्म चलेकोे दुवै संघको दोस्रो राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै सर्वपक्षीय गोलमेच सम्मेलनबाट अग्रगामी संविधान जारी गर्ने दबाव दिन शान्तिपुर्ण आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । उनीहरुले जनप्रदर्शन, कोणसभा संगै प्रचारात्मक कार्यक्रमहरु गर्ने जनाएका छन् ।
भेलाले लिम्बुवानमा केवी फुदोङ अध्यक्षतामा १५ सदस्य र किरात राई स्वसासित संघमा मात्रिका राईको अध्यक्षतामा १५ सदस्य कार्यसमिति समेत चयन गरेको सम्मेलनमा जानकारी दिइएको थियो ।
















प्रतिक्रिया