काठमाडौं ७ चैत । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापन नेता तथा पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस आज देशभरी विविध कार्यक्रम गरी मनाइन लागेको हो ।
माओवादीलाई शान्ति सम्झौतामा ल्याउन सफल नेता कोइरालाको स्मृति दिवसमा शिर्ष तहका नेताहरुले सम्झिएका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेता गिरिजाप्रसादको अभाव खड्किएको बताएका छन् ।
‘गिरिजाबाबुको उपस्थिती नहुदा देशले निकास पाउँन सकेन्, अहिले उहाँको अभाव महसुस हुन थालेको छ,’ उपाध्यक्ष श्रेष्ठले भनेका छन् । गिरिजाप्रसाद नभएका कारण संविधान बन्न नसकेको उनको धारणा छ ।
नेता कोइरालाको निधन भएको आज ५ वर्ष पुगेको छ । कोइरालाको स्मृतिमा आज कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले विभिन्न कार्यक्रम भइराखेका छन् ।
दशकौं राजनीतिमा बिताउनु भएका कोइरालाले एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । यसैबीच कोइरालाको स्मृतिमा नेपाली काँग्रेस इनरुवा नगर समितिले जिल्ला अस्पताल इनरुवामा रहेका बिरामीलाई आज फलफूल वितरण गरेको छ ।
जिल्ला अस्पताल इनरुवामा रहेका करिब ३५ बिरामीलाई फलफूल वितरण गरेको काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।
चितवन– सोही उपलक्ष्यमा नेपाल प्रेस युनियन चितवनले ‘हाम्रो घर’ नारायणगढमा रहेका सडक बालबालिकाका लागि एक दिनको खाना खुवाएको छ । यसैगरी बालबालिकाको संरक्षणका लागि स्थापना गरिएको अक्षयकोषमा रु पाँच हजार सहयोग गरिएको छ ।















प्रतिक्रिया