काठमाडौं, ६ चैत । राजधानीको बसन्तपुरमा दुई किशोरीमाथि एसिड हान्ने युवक प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन् ।
घटनाका अभियुक्त २० वर्षीय जीवन विकलाई महानगरीय आयुक्तको कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तर, पत्रकार सम्मेलनमै उनी बेहोस भएर ढलेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई महाराजगञ्जस्थित प्रहरी अस्पताल महाराजगन्ज लगेको थियो । उनले तनाव कम गर्न डिप्रेशनको औषधी खाँदै आएको प्रहरीले बताएको छ ।
काठमाडौँको बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गरी फरार भएका उनलाई घटनाको २४ दिनपछि प्रहरीले सार्वजनिक गरेको हो ।
रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ का अभियुक्त विक संगीता बस्ने घरमै डेरा गरी बस्दै आएका थिए । प्रहरीले बुधबार भारतको सिक्किमबाट बिकलाई पक्राउ गरी नेपाल ल्याएको थियो ।
घटनाको पछाडि प्रेम सम्बन्ध नै मुख्य कारण देखिएको प्रहरीले जनाएको छ । घटनाका अभियुक्त जीवनले संगीतालाई दुई बर्षदेखि मन पराएका थिए । संगीताले आफूलाई मन पराए पनि परिवारले छुटाइदिएको जीवनले प्रहरी सामु बयान दिएका छन् ।
यसअघि संगीताले दिएको वयान अनुसार जीवनले उनीहरुलाई सँधैजसो जिस्क्याउने गरेका थिए । जीवनले आफू बिहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेका निहुँमा संगीताको भाइसँग झगडा पनि परेको थियो । त्यसपछि संगीताले उनलाई छोडिदिएकी थिइन्।
संगीताले केटाको बाबुलाई कुटेकाले सोही बदला लिन यस्तो जीवनले अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
जीवनले संगीतालाई आफूले पढ्ने ठाउँमा ट्युशन पढन लैजान खोजेका थिए । तर, संगीताले पढ्न नमानेपछि आवेगमा एसिड आक्रमण गरेको अभियुक्त विकले वयान दिएको काठमाडौँ प्रहरीका प्रमुख एसएसपी उत्तम कार्कीले जानकारी दिनुभयो ।
एसिड प्रहारबाट घाइते दुवै युवतीले अस्पतालबाट परीक्षा दिएका छन् । प्रहरीका अनुसार यी युवकलाई १० देखि २० वर्षको जेल सजाय हुन सक्छ । अहिले उनलाई महानगरीय प्रहरी महाशाखा हनुमानढोकामा राखिएको छ ।















प्रतिक्रिया